Skip to content


डाँडागाउँ विशाल पर्वत अहा ! श्याम्घा र थप्रेकको
अर्को गाउँ चुँदेरको वन भनी प्रख्यात फोक्सिङको
मादीको तीरबाट पुग्न सजिलो बाख्रे दमुङ चण्डीको
भित्री भाग छ रम्य सुन्दर अति साँगे त्यही फाँट हो

नामी चार हजार बाँध छ भने, साँगे पतेनी कुलो
यस्ता बाँध ठूला प्रशस्त रहँदा यो फाँट मान्छन् ठूलो
हेर्दै लाग्दछ फाँट सुन्दर अति, असार मङ्सिरमा
स्वर्गैको अनुभूति हुन्छ मनमा जान्छन् सबै फाँटमा

साँगेको मलिलो यही जमिनमा उब्जाउ धेरै हुने
साँगा टार्न सधैँ भएर सजिलो, यो फाँट साँगे अरे
खोलो सिन्धु छ राख्छ फाँट हरियो वैशाखमा नै पनि
जिल्लाभित्र यही भएर सबले मान्छन् नि साँगे भनी

साँगे भित्र पयेंर पर्दछ अहा ! त्यो फाँट झन् उर्वर
माथिल्लो तहमा छ बस्ती, रसिलो धेरै हुँदा सुन्दर
अम्रेनी र पयेंर पीप्पल भनी प्रख्यातको चौर छ
साँगे थुम र हर्षपुर अनि त्यो भर्ले ठूलै गाउँ छ

शिक्षा केन्द्र छ यो प्रसिद्ध अहिले, नेपाल यै टारमा
अर्को केन्द्र बन्यो पतेनीतिरको यस्तै ठूलो टारमा
अम्रेनीतिर नि हुँदैछ रचना होला ठूलो उन्नति
सेरा–बाह्रबिसे र पण्डित कुना गाउँ कति छन् कति

पान्धारे भनिने त एक छ यहाँ चीसो र ठूलो मूल
पानीमात्र चीसो नभैकन उहाँ छायाँ छ झन् शीतल
गर्मीमा जब आउँछन् जन यहाँ पानी पिई शीतल–
बस्दा स्वर्ग यही रहेछ न भनी सक्लान् र को के तब

वेसी फाँट पहाडमा कहीँ कतै भेटिन्न यस्तो मूल
मान्छे हेर्न त्यहाँ गएन किन हो ? देखेँ अनौठो भूल
ठाउँ दुर्गममा भए मुलुकका ओझेलमा पर्दछन्
चर्चा कत्ति न पाउँदा सुगमकै ठाउँ पछि पर्दछन्

माधवप्रसाद शर्मा ‘भारद्वाज’
मनपाङ ८, तनहुँ

मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *