Skip to content
SharanAanshu


बेनाम आस्थाको
बेनाम समय-
उत्सर्ग प्रेमको नाम भएर
उभिइरहेछ ।

म मेरै मूल्यमा मेरो नाम
खोजिरहेछु ।
माटोको मूल्य चुकाएर
माटोमा मुटु म
खोजिरहेछु ।
मुटुको मूल्य चुकाएर
मुटुमा माटो म
खोजिरहेछु।

हिउँको मूल्यमा हिउँखोली बगिरहेछ,
जीवन नदी झैं या
नदी जीवन झैं बगिरहेछ।
मेरो नामको प्रतिरुप
बेनाम समय –
पानी जस्तै या हावा जस्तै बगिरहेछ ।

बेनाम मान्छेको बेनाम तस्वीर
तथानाम मेरो नाम काडेर हाँसिरहेछ ।
म आफ्नै अनुहारमा
सार्वकालिक दासताको मोसो दलेर
एकाएक नाचिरहेछु ।
यो ऐतिहासिक सिलसिला –
शुरुबिहिन र अन्त्यबिहिन चलिरहेछ ।

अन्तर्मनका आवाजहरू-
बहुलाएर बाँच्नुका किनाराहरूमा दौडिरहेछन्,
भौंतारिएर अभिसप्तताका तिरहरूमा हुत्तिरहेछन् ।

श्रापित सौन्दर्य-
स्वर्गका संक्रमित सिंढीहरू उक्लिरहेछ ।
स्पर्शमय र कोमल मन –
आँखाका डिलहरूबाट निरन्तर खसिरहेछ ।
क्लियोपेत्राको सुन्दर अनुहार –
कुरुपताको आगोमा क्रमश: जलिरहेछ ।

प्रेमका प्रतिरुप गुलाफहरू-
फक्रिरहेछन् ।
जुनमा, जुनेली रातमा र शारदीय शीतहरूमा
प्रेमिल नाम –
लेखिइरहेछ ।

यद्यपि
म फूलकै मूल्यमा फूलको नाम खोजिरहेछु –
कतै मेरा दु:खका तस्वीरहरूमा,
कतै म हिंडेका दुरुह बाटाहरूमा
या
मैले तरेका खहरे खोलाहरूमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *