मेरो प्रेमको एषणा चराहरूको गीतमा सुनें
अनि ती गीतका गेडीहरू –
तिमीलाई सुनाएँ ।
तिम्रो अनुहारमा प्रेमका खातिर –
प्रेम बग्न थाल्यो ।
तिम्र आँखामा गीतका खातिर –
गीत बग्न थाल्यो ।
सायद तिमीले स्पष्ट बुझ्यौ –
अवोधगम्य र अवचेतन, मौन आवाजका अर्थहरू ।
ओठहरूमा अल्झाएर सलिल हृदय –
तिमीले हाँसेरै टार्न खोज्यौ –
हाँसोका अविरल दुखाइहरू ।
फूलहरूले मेट्न खोज्यौ –
फूलका अवशिष्ट धब्बाहरू ।
शीतबिन्दुको प्रतिच्छाया
पानी सम्म पुगेर हराए झैं
या उष्णताको प्रतिबिम्ब
आगोका लप्काहरूमा लीन भए झैं
निर्लिप्त भएर तिमीभित्र बिलाई रहें म।
यही नै मेरो प्राप्ति थियो- अप्राप्तिहरूमा ।
एक्लो थिएँ -म , अत्यन्त एक्लो
तिमीसम्म पुगेर टुंगिएको अनौठो यात्रामा ।
त्यसैले आज यो क्यालेन्डरको अन्तिम दिन –
म नयाँ युगको प्रहशन लेखिरहेछु ।
युगौंदेखिको हिउँको चिसो म पिइरहेछु ।
मेरो शरीरमा मेरा अनेकौं
आकांक्ष्याहरूको हिउँ पर्दा
म त्यै हिउँको बर्को ओढेर –
मुटुभित्र एउटा तातो युग धड्किरहेछु ।
त्यो अमुल्य युगको मूल्य नसोध्नू – तिमीले ।
हिउँवालाहरूको बस्तीमा हिउँ भएर ,
हिउँदेहरूको मोर्चामा हिउँद भएर
तिमीभित्र भित्र बग्दै गरेको
आफूसितको मेरो नाता नसोध्नू तिमीले ।
म त्यै नातामा फुलेको
अजम्वरी प्रेमको प्राक्कथन लेखिरहेछु ।।
