Skip to content


‘ए ठुलीमा भैंसी ब्यायो रे नि हिजो! ‘- बाल्यकालको कुनै दिन मैंले आफ्नो ठुलीमासँग प्रफुल्लित हुँदै यो वाक्य भन्या थिएँ । भैंसी ब्याउनु यौटा किसानको लागि ठुलो सन्तोसको कुरा हुन्छ । भैंसी यौटा सदस्य सरोह हुन्छ कृषकको परिवारमा । मलाई स्मरण छ, मैंले मेरो घरको यौटा गोरु मर्दा दुई छाक नुन बारेको कुरा । अनि त्यो दिन जब ठुलीमा कहाँ भैंसी ब्यायो र मेरो बाल्यकालको एक चाहना – उसको नवप्राणी शिशुसित खेल्ने- जुर्मुरिएर उजागर हुन थाल्यो, तब मैंले आफ्ना पग रोक्न सकिन । म एक उत्सुकता बोकेर गोठतर्फ बढें । तर, गोठमा माउ एक्लो थिई, उसको भरखर जन्मेको शिशु देखा परेन । मलाई आश्चर्य भयो । ‘कहाँ गयो होला त्यो सानो प्राणी ? कतै राती वनबाट कुनै बाघ आएर उसलाई आफ्नो आहार बनाएर त गएन ?’- मनभित्र कौतुहलका अनेक प्रश्नहरू उप्जिए ।

म ठुलीमा तर्फ आफ्नो जिज्ञासा लिएर पुगें । ठुलीमाले मलाई बताउनु भयो यौटा सत्यता, त्यो सत्यता म बुझ्दछु आज । सत्यता त्यो -स्वार्थ मानिसको ।

“बाबु भैंसीले पाडो पाएको छ । पाडो व्यर्थ हो हाम्रो लागि । त्यसकारण त्यसलाई धन्सारमा राखेको छ ।”

मैंले प्रश्न गरें – “किन के त्यो पाडोले दुध खानु पर्दैन र ?”

“पर्छ । दुध त खुवाकै छु नि मैंले । उसलाई आफ्नो आमाबाट टाढा राखेर दुध खुवाउनु पर्छ । पाडो हाम्रो कुनै काम लाग्दैन, अनि हेर छोरा पाडो र छोरी जातलाई जति सक्दो छिटो घरबाट उम्क्याउनु पर्छ, नत्र यिनिहरूले घरमा दुख रोप्छन ।”

मेरो बाल्य-मगजले ठुलीमाको कुरा बुझ्न सक्तैन थियो । ठुलीमाले भनेपछि त केही होला, साच्ची नै पाडाहरूले दुख दिन्छन भनेर मैंले ठानें । तरपनि, मेरो मनभित्रको त्यो ईच्छा मरेन, म त्यस सानो पाडासित खेल्न भनेर धन्सारमा पुगें । त्यो सानो पाडा धन्सारको एककुनामा बसेको थियो । म उसतर्फ अघि बढें । उसलाई नगिचबाट नियालें । उसको शरीर चिल्लो थियो । पियुठुउपर झिङा भिन-भिन गर्दै हेलीकप्टर जस्तै ‘ल्याण्ड्’ गरिरहेका थिए । उसको आँखाबाट निर्दोष एक आभा बग्दथ्यो । सुक्ष्म, अत्यन्त नै सुक्ष्म एक प्रेमको लहर मेरा आँखाले वरिपरी देख्न थाले ।

त्यो मासूम प्राणी, कति अभागी! जन्म्यो यस-लोकमा, गुमाएर सानिध्य आफ्नै आमाको! म धेरैबेर उससँग बसेर खेलिरहें । उसको थुथुन सुम्सुम्याएँ । ईश्वरको यस क्यानवासभित्र एक चित्र कोरियो अनायासै- त्यो चित्र बडो मार्मिक थियो । एक प्राणी, जन्मेर भर्खर खोजिरहेछ आफ्नो आमाको थुन! देख्दछ उसले सबथोक आफ्नै आमाको थुन जस्तो जस्तो! कति भ्रमित हुन्छ एक प्राणी यस लोकभित्र! उफ्फ ! सक्तिन म एक प्राणीको मासूम भ्रमलाई समेत व्याख्या गर्न । कति जटिलता छ यस लोकभित्र । कति दुख छ, घरी – घरी लाग्दछ मलाई नरक यही लोक जस्तो, घरी स्वर्ग जस्तो । आखिर मपनि त भ्रमित नै रहेछु ऐलेसम्म । म मानिस र त्यो एक भर्खर जन्मेको ‘जनावर’बीच खासै फरक देख्दिन म । हामी दुवै भ्रममैं बाँचेका रहेछौं । उसको आफ्नै भ्रम थियो, मेरो आफ्नै । तँपाईको आफ्नो भ्रम होला ।

उपाध्याय बाहुन भएर जन्मेकोमा सबैभन्दा बढी गुनासो मलाई आफूप्रति छ ।

मैंले धेरै सुनें – “बाबु यो नगर ऊ नगर, पाप लाग्न सक्छ फेरि ।”

पापसँग सधैं डराइरहें म । तर, पाप वास्तवमा के हो – त्यसबारे जीवनमा सर्वप्रथम पाठ पढाउने मेरो गुरु त्यही पाडो नै थियो । म सम्झिन्छु- केही दिवस पछि, त्यस पाडालाई पुड्के कामीले ठुलीमाको हातमा यौटा ५ सय रुपैयाँको नोट राखेर, आफ्नो घर लगेर गएको थियो । बिहानीको समय थियो । मलाई चाख लाग्यो, पुड्केको त्यस मासुम प्राणीप्रतिको दृष्टी कस्तो होला, भन्ने कुरामा ।

म लुकेर उसको घरतर्फ बढें । उसको घर वरिपरि सुङुरहरू ‘घूँ-घूँ’ गर्दै थिए । घरको आँगनमा कुखुरा दाना खोज्दै डुलिरहेका थिए । गोठमा गाई-भैंसी परालका तान्द्रा चपाउँदैं ऊँघाई रहेका थिए । उसका आफ्ना सन्तान पिँढीमा बसेर नाकको सिँगान सीं-सीं गरेर तान्दै, खेलिरहेका थिए ।

पुड्केले पाडालाई आँगनको मध्य-भागमा लगेर राख्यो । केही बेरपछि गाऊँका केही कामीहरू भेला भए । खुँडा आयो …

पाडाको गर्दननेर वार भयो र एक जीवन समाप्त भयो यस लोकबाट । मैंले आकाशतर्फ हेरें । भनिन्छ, आफूलाई मन पर्नेहरूले आकाशमा तारा बनेर सधैं हेरिरहेका हुन्छन हामीलाई । त्यो पाडा त मर्यो, मर्यो भन्दा पनि मारियो, त्यसको हत्या गरियो । हत्या जघन्य पाप हो । पाप … यो पाप कसको नाममा ?

मैंले ईश्वरसँग प्रार्थना गरें – “यस पापको भागिदार मेरी ठुलीमालाई बनाउनु ।”

मेरी ठुलीमा मेरो नजरमा पापी भईन ।

मैंले त्यस दिन दुई छाक बारें, शोक मनाएँ एक्लो । मेरो शोक मभित्र अझै पनि छ, अझै पनि ठुलीमा मेरो नजरमा पापी नै छिन्- यो कुरा मेरो अन्तरआत्माभित्र छ । म रातको शान्त वातावरणमा एक्लो एक्लो अझै पनि हेर्दछु आकाशतर्फ, एक तस्वीर बन्दछ, काल्पनिक हो वा वास्तविक त्यो म भन्न सक्तिन । त्यो तस्वीर बडो मासुम छ, एक प्राणी भर्खर जन्मेर खोजिरहेछ – आफ्नो माउको थुन … ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *