Skip to content

परिवर्तनको मार्ग


त्यसवखत सायद म विश्वम्भर दाइको कुरा राम्ररी बुझ्न सक्दिनथे । तैपनि किन हो मलाई वहाको कुरा मन पर्थ्यो । मेरो छेउकै कोठामा वहा बस्नुहुन्थ्यो । त्यसबेला म ८ कक्षामा पढथे । आफुलाई लागेका कुराहरू उनैलाई भन्ने र सोध्ने गर्थे । वास्तवमा म उनलाई धेरै प्रश्न सोधेर मनको कौतुहल मेटने गर्थे यस क्रममा मेरो ज्ञानको भण्डार पनि भरिदै जान्थ्यो । मलाई याद छ, एकदिन मैले सोधेको थिए – “के मृत्युपछि पनि जीवन संभव हुन्छ ?”

“पहिला तिमी नै भन दिनपछि रात हुन्छ कि हुदैन ?”

“त्यसोभए साच्चिकै यो संभव छ हैन त !”

“त्यो भर पर्छ मान्छेले गरेको कर्ममा असल काम गर्ने मान्छे सबैको मनमष्तिष्कमा जीवन्त रहन्छ भने खराब काम गर्ने मान्छे सधैका लागि मेटिएर जान्छ । त्यसैले तिमी पनि सधै राम्रो काम गर्नु ।”

मलाई लाग्थ्यो उहासँग हरेक प्रश्नको उत्तर अनि हरेक समस्याको समाधान छ । जहिले पनि उहासँग एक न एक किताब भै रहन्थ्यो । किन यति धेरै किताब पढनुहुन्छ भनेर प्रश्न गर्दा, यो ज्ञानको भण्डार हो जसले हामीलाई सही ढङ्गमा डो–याउछ भन्नुहुन्थ्यो ।

××××××××××××××××××××××××××××××××××××××××××××××××××××××××

झण्डै कोठामा बीसदिन जति उहा नआएपछि सबैलाई पीर भएको थियो । म पनि छटपटी महशुस गर्थे । एकदिन उहाँ मलिन अनुहार लिई आउदा मैले हतार हतार सोधेको थिए –“दाइ यत्रो दिन कता जानुभएको थियो अनि अनुहार पनि उदास देख्छु ?”

झ्यालतर्फ हेरेर भन्नुभएको थियो –“गाउँ गएको थिए, थोरै दिन बस्ने विचार थियो तर गाउँको दुःख देखेर म आउन सकिन ती निरीहहरूको लागि केही गर्नुपर्छ भन्ने लाग्यो, म एक्लै केही गर्न सक्दिनथे तसर्थ उनीहरू स्वयं चेतनाले भरुन भनेर अलि अलि शिक्षा दिन थाले । म चाहन्छु उनीहरू आफ्नो अधिकारको लागि आफ्mै लडन सकुन ।”

“अब के गर्नुहुन्छ त दाइ ?”

“अब म यिनीहरूको लागि परिवर्तनको खोजी गर्नेछु जसको कारण उनीहरूले आफ्नो पसिनाको उचित मूल्य पाउनेछन अनि मेहनत गर्ने हातहरू एक छाक टार्न आफ्नो शरीर लिलाम गर्न बाध्य हुने छैनन.।”

त्यसपछिका दिनहरूमा पनि यसरी नै उहाँ बेपत्ता हुनुहुन्थ्यो । एकदिन सँधैको लागि जान भनेर उहाँ आउनुभो । त्यसबखतको कुराकानीमा भन्नुभएको थियो – म गाउँ जादैछु, उनीहरूलाई मेरो आवश्यकता छ ।

मैले प्रश्न गरेको थिए –“जून कुराको खोजी गर्दै हुनुहुन्थ्यो के त्यो भेटियो दाइ ?”

“म पूर्णरुपमा विश्वस्त छुइन मैले फेला पारेको कुरा वास्तवमै मैले खोजेको कुरा हो वा होइन । यस अन्धकारमा पर मैले एउटा उज्यालो देखेझैँ लाग्छ । म त्यसलाई नै पहिल्याउन चाहन्छु । हुनसक्छ त्यो उज्यालो मेरो मृगतृष्णा वा कुनै बाटो अलमलिएको जूनकीरी वा मैले खोजेकै उज्यालो । जेहोस मैले आफ्नो दिशा परिवर्तन गर्ने निर्णय गरेको छु, मैले परिवर्तन ल्याउनुपर्छ । म त्यही परिवर्तनको मार्गमा हिडदैछु ।”

मैले केही संकोच मान्दै भनेथे –“दाइ यही बसेर परिवर्तन ल्याउन सकिदैन र!”

जवाफ यस्तो थियो –“परिवर्तन भनेको एकै ठाउमा बसेर ल्याउन सक्ने कुरा होइन र त्यो त्यति सजिलो पनि छैन । परिवर्तनको एउटा निश्चित मार्ग हुन्छ जसमा हामी जानैपर्ने हुन्छ । तिमीलाई थाहा छ नि थोपा थोपा मिलेर समुद्र बन्छ, म अहिले त्यहीँ पानी बन्दैछु र अरु थोपाहरूसँग मिल्न जाँदैछु अनन्त सागरको खोजिमा । अनि त्यही अनन्तको सागर एउटा पूर्ण उज्यालोको रुपमा देखापर्नेछ जसको मद्दतले म अन्धकार हटाउनेछु ।”

“दाइ तपाई आफ्नो काममा सफल हुनुहोस । अब हाम्रो भेट कहिले हुन्छ ?”

“त्यो त समयले नै बताउनेछ । र म चाहन्छु तिमी धेरै असल मान्छे बन, धेरै पढ, सही गलत बाटो छुट्याउन सिक जसले गर्दा सबैलाई तिम्रो मार्ग पहिल्याउन सजिलो होस् । यस्तो पनि हुनसक्छ कि मेरो बाटो गलत हुनसक्छ गन्तव्य सही भएपनि, त्यसबेला हाम्रो भेट भए तिमीले मलाई भन्न सक तपाई गलत बाटोमा हुनहुन्छ ।”

त्यसपछि वहाँ जानुभयो र त्यसपछि केही पनि खबर आएन ।

म उच्च शिक्षा हासिल गर्न थाले ।

यसवखतमा देशमा परिवर्तनहरू एक अर्को रुपमा देखा पर्न थाले । म धेरै नै भ्रमित हुन थालेको थिए देशको स्थितिको कारण । धेरै कुराहरू दिमागमा आउथे । के सबै परिवर्तनहरू राम्रा हुन्छन ? म त्यसवखत विश्वम्भर दाइलाई पनि सम्झिन्थे । देश गम्भीर स्थितिबाट गुज्रिरहेको थियो । हत्या हिंसाले ताण्डव नृत्य देखाइरहेको थियो । आपसी झगडामा रगतका आहालहरू बनिरहेका थिए । सत्तापक्ष र विद्रोही पक्ष एकआपसमा मृत्युको लडाइ लडिरहेका थिए । यसबिच संयोगले एकदिन विश्वम्भर दाइसँग भेट भयो बेग्लै परिस्थितिमा ।

के भयो भने म गाउँको बाटो लाग्दै थिए मलाई बीच बीचमा पुलिसहरूले खानतलासी केरकार पनि गरे र सर्तक रहन भने । साँझ हुदाखेर कसैले पछ्याए झै लाग्यो । नभन्दै मेरो पछाडी एक हुल जत्था थियो हतियारधारीहरूको । म अगाडी बढन सकिन । हुलबीचबाट आवाज आयो ।

“ए रोक, भन तँ को होस, सि. आई. डि. गर्न आको, भन छिटो नत्र यहीँ सिध्याइदिन्छु .”

डरले कामेको स्वरमा म भन्छु –“हैन म सि. आई. डि. होइन …!”

वाक्य पूरा हुन नपाउदै कसैले मलाई जोडले लात्ती हुन्छ । पीडाले म भुइमा थचक्कै बस्छु ।

एकजना विपरीत दिशाबाट आएको मान्छे मेरो छेउमा उभिएर भन्छ –“साथीहरू को रहेछ त्यो”

आवाज चिनेझै लाग्छ अनि म भन्छु –“विश्वम्भर दाइ ।”

एकछिन नियालेर हेर्छ अनि भन्छ–“भाइ तिमी यहाँ ?”

मैले नियालेर हेरे । उहाँलाई बन्दुक पटक्कै सुहाएको थिएन । कलम बोक्ने हातमा हतियार वास्तवमै सुहाउन्न । कति धेरै परिवर्तन । के मानसिक रुपमा पनि वहा परिवर्तन भएको हो । मलाई दुःख लागीरहेको थियो ।

मैले केही नबोली सोचिरहेको देखेर भन्नुभो –“किन तिमी बोल्दैनौ के भयो ?”

“मलाई बन्दुकदेखि डर लाग्छ ।”

“अहिले मान्छेदेखि डराउने बेला आएको छ ।”

“बन्दुक बोकेको मान्छेदेखि नै डर लागेको हो । तपाई त्यही विश्वम्भर दाइ हो त ? जसले आफ्नो अधिकारको लागि लडन भन्नुहुन्थ्यो । आज मेरो त्यही अधिकार हनन भएको छ । सायद तपाई आउन ढिलो भएको भए मेरो बाँच्ने अधिकारको हनन हुन्थ्यो । के तपाई ठिक बाटोमा हुनुहुन्छ त दाइ ? तपाई ले भन्नुभाको परिवर्तन यही हो? बन्दुक ?”

अरु हतियारधारीहरूले मलाई नराम्रोसँग हेरिरहेका थिए ।

विश्वम्भर दाइले केवल यति भन्नुभो –“परिवर्तन ल्याउनको लागि मानिस मजबुत हुनपर्छ । अनि आफ्नो शक्तिको लागि र डर हटाउन बन्दुकको सहारा लिनुपर्छ । जब सबै शारीरिक र मानसिक शक्ति एक हुन्छ तब परिवर्तनलाई कसैले रोक्न सक्दैन ।”

“म त्यस्तो परिवर्तनको विरुद्धमा छु जुन मानवजातिमाथि हावी हुन्छ र जसले मृत्यु अनि संहार बोल्छ ।”

“पलपल मर्नुभन्दा बरु देशकै लागि एकचोटि मर्नु राम्रो । तिमीलाई कत्तिको थाह छ, यहा मानिसहरू शोषणले गर्दा धेरै मरेका छन । अनि तिमीलाई थाहा पनि होला हामी कसका विरुद्घ छौ । के तिनीहरूसँग चाही बन्दुक छैन ? अनि हामीले शत्रुलाई मारेनौ भने उनीहरूले हामीलाई मार्छ । खुशी लाग्यो तिमीलाई बन्दुकको आवश्यकता महशुस भएन ।”

त्यसपछि हामी छुटियौ ।

यसरीनै देशमा हत्या हिंसाको साथै फरक किसिमका घटनाहरू हुन थालेका थिए । म विचलित भएको थिए, जे भैरहेको छ त्यो सही कि गलत । किन मानिस एकअर्काका शत्रु भएका छन् । हतियारबाट हामी किन सुरक्षित छैनौ अनि सुरक्षाको लागि किन हतियार नै आवश्यक छ । मेरो सोचाइ विपरीत एकचोटि विश्वम्भर दाइको चिठी आएको थियो जुन यसप्रकार छ ।

भाइ,

तिमीसँग भेट हुदा म केही हदसम्म खुशी भए । धेरै कुरा गर्नुथ्यो जुन सम्भव भएन । सानोमा मैले सिकाएका कुरा चरितार्थ गरेकोमा म खुशी छु । तिमीले भनेको हत्या हिंसा विनाको परिवर्तन, हो म यसवाट प्रभावित भएको छु । तिम्रा इच्छा पूरा होउन् । आखिर मैले तिमीमा मैले देखेको परिवर्तनको छुट्टै परिभाषा पाए । मलाई लागीरहेछ म किन तिमीजस्तै सोचिरहेको छैन । म किन त्यो मार्गमा छैन । मलाई आज महशुस भैरहेछ कि –मेरो छहारीमा जसलाई राखे त्यो त कमल रहेछ हिलोमा पनि फुल्ने ।

बन्दुक सम्बन्धि तिम्रो विचार मलाई घत लाग्यो । मलाई याद छ जब म बन्दुकको ट्रिगर दबाउछु म आफुपनि कति डराएको हुन्छु । यहि डरले गर्दा म झन जोडजोडले ट्रिगर दबाउछु । अब म अलमलमा परेको छु, जब जब म बन्दुक चलाउन खोज्छु तिम्रो रुप मेरो अगाडी आएर बस्छ र म असफल हुन्छु ।

म तिमीलाई एकचोटि भएपनि फेरि भेट्न चाहन्छु यदि कसैले मलाई चिर निद्रामा सुताएन भने ।

विदा

तिम्रो दाइ विश्वम्भर

×××××××××××××××××××××××××××××××××××××××××××××××××××××××××

सारा मानिसहरू १९ दिनसम्म एकभै लडे तानाशाहको विरुद्घमा । सारा नेपालीहरू विना हतियार शोषण विरुद्घ लडे एक भै । उनीहरूसँग केवल साहस अनि आत्मविश्वास थियो । सबै नेपालीहरू सडकमा उत्रिए । आफ्नो छातीमा गोली थापे, कति ढले तर कसैको आत्मविश्वास डगमग भएन । अन्तमा जीत सारा नेपालीको भयो । कु्रर तानाशाहको अन्त्य गरियो । यसरी एउटा युग परिवर्तन भयो अनि नयाँ नेपालको सुरुवाट ।

विश्वम्भर दाइको कहिल्यै खवर आएन । यदि त्यसदिन वहा मेरो सामुन्ने भएको भए म भन्थे –हेर्नुस त दाइ आज एकताको जीत भयो, साहस अनि आत्मविश्वासको जीत भयो । स्मरण रहोस जित्ने नेपालीले हतियार उठाउन परेन । तसर्थ शक्ति भनेको बन्दुक र त्यसको गोली हैन यो त धेरै मानिसहरूको विश्वास र बोली हो । परिवर्तनको लागि धेरैको रगत वहाउनु पर्दैन, सबैलाई मानवताको पाठ सिकाउनुपर्छ, ज्ञान र चेतना बाडनुपर्छ । पहिले म सानु छँदा यहि भन्नुहुन्थ्यो हैन, यो कुरा मलाइवाहेक अरुलाई किन सिकाउनु भएन । हेर्नुस त हाम्रा कति मानिसहरू अकालमा मरे ।

तर वहाको केही खवर छैन अहिलेसम्म । आफ्नो घरमा पनि खवर छैन रे, बेपत्ता नागरिकमा वहाको खोजी गर्छाै । कहाँ हुनुहुन्छ तपाई ?

मनमा कतै चिसो भएर उनको बोली गुन्जन्छ–“हामीले शत्रुलाई मारेनौ भने उनीहरूले हामीलाई मार्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *