आजभोलि अफिस जान भनेपछि हुरुक्कै हुन्छु । कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ । मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ । नत्र किन म अफिस भनेपछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ । पहिले त अफिस भनेपछि वाक्कदिक्क लाग्थ्यो । कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो, कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसेपछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस ।
अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न । म आफै बनाउँछु किनकि ५ – १० मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ । आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किनकि पहिले-पहिले केही काम नगरी अफिस जाने मान्छे ! तर अहिले आमाले त भान्साको काम केही छुनै नपर्ने भएको छ ।
अचेल म चाँडो अफिस आउन थालेको मीरालाई पटक्कै मन परेको छैन । १ – २ पटक त उनले मलाई सम्झाई पनि सकिन् । तर मेरो आफ्नै कुरा ………! मेरो परिबर्तन देखेर मीरा पनि अचेल अचम्म मान्दिहोलिन् । मीरा मेरो अफिसको सबै भन्दा पुरानो र असाध्य मिल्ने साथी हुन् । उनी सोझी, जेहेन्दार, इमान्दार, सरल र राम्री पनि छिन् । उनी मलाई हरेक कुरामा सल्लाह-सुझाव दिने गर्छिन् । वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिले सम्म मेरो घरमा भने पाइला टेकेकी छैनन् । न त म नै उनको घरमा पुगेकी छु । तर पनि हामी असाध्य मिल्छौं ।
चाँडो-चाँडो अफिस आउने त मेरो आदत नै भै सक्यो । सायद उसलाई पनि मेरो आदत थाहा भयो क्यारे ! ऊ पनि त अचेल अलि चाँडो आउन थालेको छ । कति सुन्दर मान्छे ! अग्लो, गोह्रो .चिटिक्क परेको जुँगा अनि मीठो मधुर हाँसो, कति मायालु अनुहार, चौडा छाती, टम्म मिलेको खाइलाग्दो जीउडाल, देब्रे तिर लरक्क लर्किएको केश, जति हेरे पनि नघाउने रुप ! मिल्ने भएदेखि त म आँखैभित्र राख्ने थिएँ ! अनि आफैलाई हेरे जस्तो ऐनाभित्र हेर्ने थिएँ !
के होला उसको नाम ? कहाँ होला घर ? घरमा को को होलान् ? बिहे गरेको छ कि छैन होला ? पक्कै छैन ! भए त सँधै मलाई हेरेर हाँस्ने नै थिएन नि ! हुन त केटा मान्छेहरू केटी देखेपछि यसै गर्छन् भन्छन् ! तर मलाइ ऊ प्रति पुरा बिश्वास छ । हे भगवान मेरो बिश्वासको घर कहिल्य-कहिल्य नभत्कियोस । भत्किने छैन पनि । काम नै गर्ने होला कहाँ होला उसको काम ! यतै कतै नजिकै होला । नत्र किन दिनहु यही बाटो ओहोरदोहोर गर्थ्यो होला र ? काम पो कस्तो छ कुन्नि ! राम्रै होला । मान्छे त त्यति राम्रो छ । सँधै १० बजे आएर ५ बजे फर्किन्छ सायद सरकारी जागिर हुनु पर्छ । सरकारी पनि अधिकृत नै जस्तो छ ! तलब पनि राम्रो होला ! सायद भन्सारमै होकी ! ज्यान हेर्दा पनि हाकिम जस्तै छ । प्राइभेटमा भए कहा १० बजे गएर हुन्छ ! यी हाम्रो त ९ बजे नै खुल्छ । बरु नजिकै भएर पो गाडी नचढेको होला ! आ अब जे सुकै होस ज्यान गए नि छोड्दिन म उसलाई । अँह कुनै हालतमा नि छोड्दिन । बरु एकदिन खुसुक्क बोलाउँछु अनि सबै कुरा छर्लङ्ग सोध्छु र छर्लङ्ग भनिदिन्छु । साच्चै कति धेरै मन पराउँछ होला मलाई उसले ! नत्र किन सँधै यही बाटो हिंडछ त ? हिंडे पनि किन मेरो रिसेप्सनको कुर्सी अर्थात म बसेको तिर ढल्की-ढल्की हेर्छ ? हेरे मात्र पनि ठिकै फेरि किन मलाई नै हेरेर मुसुक्क हाँस्छ ?
अचेल उसको त्यो मधुर मीठो हाँसोमा मायाको अनुभव गर्न थालेकी छु । जिन्दगीको सपना बुन्न थालेकी छु अनि दिन-प्रतिदिन त्यो मीठो सुन्दर सपनाको संसारमा कता-कता हराउन थालेकी छु । उसको हरेक हेराईमा अचेल जिन्दगी खोज्छु म । उसको हरेक हाँसो संगै मायाको श्वास आनन्दले फेर्छु । सोच्छु अनि सम्झन्छु कति सुन्दर हुन्छ होला जिन्दगी ! कतै केही कहिल्य कमी महसुस हुने छैन । उसको भन्सारमा सरकारी अधिकृतको जागिर ! प्राइभेट नै भए पनि मेरो पनि राम्रै छ । बिहेपछि पनि म जागिर छोड्दिन । पोलिक्ल्निक बाताबरण पनि राम्रो छ । कोही बिरामी पर्दा पनि त सजिलो । तलब पनि राम्रै छ किन छोड्नु ? मेरै तलबले खान पुगी हाल्छ । उसको त पुरै जोगिन्छ । बरु गाडी छैन भने बिस्तारै त्यो पो किन्नु पर्छ । घर त राम्रै होला खानदानी जस्तो छ मान्छे हेर्दा त ! जिन्दगी साँच्चै सुनौलो हुने भो ! भगवानले पनि मेरो लागि राम्रै मान्छे पठाएको रहेछ । भावीले भाग्य पनि बलियो साइत मै लेखिदिएको रहेछ । जोडा पनि असाध्य मिल्छ हाम्रो । धन्य छ भगवान तिमीलाई पनि । सबैले डाहा गर्ने भए बा ! मेरो जस्तो भाग्य र जिन्दगी त कसैको नहुने भो ।
मीराको पनि ऊ जस्तो राम्रो त पक्कै छैन होला । ऊ जस्तो हुनु त यो जुनीमा त्यतिकै हो । मीरालाई पनि एकचोटी देखाई दिन्छु त्यो मेरो मान्छे । आ होस् ! डाहा मात्र गर्छे बेकारमा भो देखाउदिन । मिल्ने साथी भनेर हुन्छ र ? हुन त सबै कुरा उनलाई भनेकी छु तर त्यो मान्छे भने कहिले पनि देखाएकी छैन मैले । बिहेमा देखिहाल्छे नि ! बरु अब चाडो भन्दा चाडो त्यो मान्छेलाई भेटेर कुरा गर्छु अनि आमालाई भनेर यही बैशाखमै बिहे गर्छु । बिहे गर्ने बेला पनि त भयो अब ! आमा पनि भन्दै हुनुहुन्थियो अब छोरी हुर्की ज्वाइको घर पठाउने !
ठिकै हुने भो ।२४ – २५ बर्ष काटेपछि हामी केटीहरूको बिहे गर्न हतार नै गर्नु पर्छ । हुन पनि हो नत्र फेरि केश फुलाएर चाहुरिदै बुढी कन्या भएर बस्नु पर्छ । के को चाहुरिनु के को बुढीकन्या नि अब ! मेरो ऊ सँग चांडै बिहे हुदै छ नि ! आमा पनि उसलाई देखेर मख्ख पर्नु हुन्छ सायद ! सपनामा पनि कहिले सोच्नु भाको छैन होला त्यस्तो राम्रो ज्वाई त !
अब त झन मेरो राजा बोलु-बोलु गर्न थालेको छ । मलाई हेरेर नहाँसेको त दिनै छैन । मैले जस्तै उसले पनि मीठा-मीठा सपनाहरू सजाएको हुनु पर्छ । बिचरा …………..! सबै कुरा मलाइ भनेको भए पनि त हुने थियो नि ! कति निष्ठुरी छुच्चो कहीको ! आ होस एकदिन मै बोलाउँछु । समय मिलाएर कतै जानु पर्ला ! टाढा-टाढा कतै सुनसानमा जहाँ हामी दुइ बाहेक अरु कोही हुने छैन । अनि हाम्रो कुराकानी कोही कसैले सुन्ने छैन । मेरो राजालाई चाहे जति माया गर्ने छु म ! अनि उसको चौडा छातीमा लपक्क टाँसिएर मायाको श्वास आनन्दले फेर्ने छु ! उसले पनि माया गर्दै घ्वाप्प अंगाल्ने छ । अनि मेरा यी बैशालु अंग-अंग चाहे जति धीत नमरे सम्म चुम्ने छ । सपनाको सुनौलो मीठो संसारमा हामी दुवै हराउने छौं ।जिन्दगीका खाली पानाहरू सबै मायाले कोरिने छ । अनि समय सँग सम्झौता गर्दै जबरजस्ती फर्किने छौं । फर्किएपछि सबै कुरा एकएक मीरालाई सुनाउने छु । उनी दंग पर्नेछिन् । डाहा/इष्या पनि गर्नेछिन् । अनि जिद्दी गर्नेछिन् र भन्नेछिन् मलाई पनि देखाई देउन त्यो तिम्रो राजा ! अनि उसको जिद्दी पन सँग म सजिलै हार्ने छु र भोलिपल्ट मेरो राजकुमार मीरालाई देखाउने छु । मीराले डाहा र इष्या सँगै धेरै-धेरै तारिफ पनि गर्नेछिन् ।
खै उसलाई देखे देखि, उसले हेर्न थाले देखि मेरो मन बरालिएको छ । आजभोलि मनमा यस्तै-यस्तै कुराहरू मात्र खेली रहन्छ । ऊ आउने बाटो तिर मात्र आँखा दौडी रहन्छ केवल उसकै आकृति खोज्दै निरन्तर-निरन्तर ! मनभरी अनेक कुराहरू खेलाउँदा खेलाउँदै कहिले निकै चाडो अफिस आइपुग्छु । के के सोच्छु के के ! पागल्नी जस्तो ! पागल्नी नै हुन लागि सकें म ! कहिले खाना खानै बिर्सन्छु ! कहिले एउटा आँखामा मात्र गाजल पोत्छु ! निद्रा पटक्कै पर्दैन ! आँखाभरि पल-पल उसैलाई मात्र देखि रहन्छु । कोही कसै सँग बोल्नै मन लाग्दैन ! हे दैव के हुन लाग्यो यस्तो ? मायामा बाँच्न कति गाह्रो हुँदो रहेछ ! माया साँच्न झन गाह्रो हुँदो रहेछ ! तड्पिएर बाँच्न त झन त्यो भन्दा नि गाह्रो हुँदो रहेछ ! तर पनि भोलिको सुन्दर सपाना बोकेर आशै आशमा बाँचेकी छु अचेल उसको निम्ति केवल उसैको निम्ति !
आज मैले मीराको जिद्दी पन सँग हारेर बचन दिएकी छु त्यो मान्छे देखाउने खै के ठान्ने हुन मीराले ! डर, त्रास र खुशी मनभरि सबै एकैचोटी तछाड-मछाड गर्दै छ । मीरा भने भित्र काममा व्यस्त छिन् । त्यो मान्छे आउने बेला नि भै सक्यो । न भन्दै ऊ पनि आयो तर सदा झैँ हाँसेर गएन आज ! ऊ त सोझै म भए तिरै आयो ! मेरो खुशीको सिमा रहेन । खै कसरि आज यस्तो भयो ? सपना हो कि बिपना यो ! मेरो राजा ! मेरो राजकुमार ! मेरो प्राण ! मेरो मुटु म भएतिरै मलाई भेट्न हतारिदै आउँदैछ । के गरूँ कसो गरूँ म आत्तिएँ । होस सबै हरायो । तै पनि क्षण भरमा आफुलाई सम्हालें । ऊ त मेरो छेउमै आएर टक्क उभियो अनि मुसुक्क हाँस्यो । म पनि ऊ जसरी नै हाँसें ।
ऊ नम्र भएर भन्न लाग्यो – “मीरा कहाँ छिन् ? म मीराको श्रीमान । आज अलि ढिला फर्किनु पर्ने भो त्यसैले यो चाबी मीरालाई दिनुस है ।”
खै त्यसपछि के के भन्यो उसले केही थाहा भएन । केही बेरमै ऊ हिड्यो । म हेरेको हेरेकै भएँ । मुहार रातो भयो । मनभरि पीडा र डाहाको आगो एकैचोटी दन्कियो ।
यतिनै बेला भित्रवाट मीरा फुत्त निस्किन् र मेरो छेउमै आएर सोधिन् – “खै त तेरो राजकुमार आज आएन ?”
मेरो बोलि ठप्प रोकियो । केही बोल्नै सकिन । अनुहार झनै रातो र तातो भयो अनि उसले छोडेको त्यही मीराको साँचोको झुप्पामा एकोहोरो हेरिरहें – हेरिरहें …………..!
(समाप्त )
