Skip to content


“मेरो एक सपना त बल्ल पुरा भयो।” पारस कानुनी रूपमा बिबाह दर्ताको प्रमाणपत्र थन्काउँदै एलिनासँग भन्दै थियो।

“एक होइन एक मात्र भन पारस, अरू पनि म जस्तै सपनाहरू छन भने ती पुरा कुनै हालतमा हुन दिउँला र?” एलिनाले लाडिँदै भनी।

“हो बाबा! मेरो ससुराको एकमात्र छोरी अनि मेरो एकमात्र सपना!” पारस विश्वास दिलाउने प्रयासमा भन्दै थियो।

भित्तामा भएको ग्रीक युनान युद्धमा प्रयुक्त काठको घोडाको चित्र पारसलाई हेर्दै गिज्याउँदै थियो।

केही बेरमै टेलिफोनको घण्टी बज्यो। एलिनाले फोन उठाई।

“लौ न नि! बाबालाई के भयो रे।” र ऊ खङ्ग्रङ्ग छाँगाबाट खसेजस्तै देखिई। पारसको अनुहारको भाव एकाएक चन्द्रमाले पूर्णीमादेखि अमावस्यासम्मको यात्रा एक निमेषमा पुरा गरेझैँ बदलियो। त्यही एक निमेषमा उसले उसको बाबुले आफ्नो जवानीका रंगीन वसन्तहरू उसको शिक्षाका लागि खर्चेको सम्झ्यो। उसको बुबाको मालिक एउटा अकुत सम्पत्तीका धनी धनप्रसादलाई सम्झ्यो। उसको बुबाले दुर्घटनामा गुमाउनुभएको हात सम्झ्यो। उसको बुबाको मालिक धनप्रसादले उपचार खर्चमा पुरा गरेको औपचारिकता सम्झ्यो। त्यही दुर्घटनाको कारण थला परेर भएको उसको बाबुको मृत्यु सम्झ्यो।

अगाडि बढेर एलिनालाई सान्त्वना दिँदै आफूतिर तान्दै उसले कर्के नजरले त्यो काठको घोडालाई हेऱ्यो। उसको अनुहारमा कुटील मुस्कान देखिन्थ्यो।

टेलिभिजनमा ब्रेकिङ न्युजमा समाचार आईरहेथ्यो – “सडक दुर्घटनामा शहरका चर्चित उद्योगपति धनप्रसादको अज्ञात ट्रकको ठक्करबाट मृत्यु।”

२०६९ माघ २३, सौराहाचोक चितवन
परिमार्जनः २०७१ श्रावण १४

3 thoughts on “काठको घोडा (लघुकथा)”

  1. यो कथालाइ परिमार्जन गरी पोस्ट
    यो कथालाइ परिमार्जन गरी पोस्ट गरेको छु। पहिलेको कथा यस्तो थियो ।

    गरीबीको चेतना पारसलाई राम्रोसँग थियो । उसको बाबुले आफ्नो जवानीका रंगीन वसन्तहरू उसको शिक्षाका लागि खर्चेका थिए । उसको बुबा एउटा अकुत सम्पत्तीका मालिक धनप्रसादको नीजी ड्राइभरको रूपमा काम गर्ने गर्दथे । तर एउटा दुर्घटनामा हात गुमाएपछि उसको बुबा काम गर्न नसक्ने हुनुभयो । त्यति बेला पारस राजधानीमा छात्रवृत्तीमा स्नातक तहमा अध्ययन गर्दै थियो । बुबाप्रति सहानुभुती व्यक्त गर्नुको सट्टा धनप्रसादले उपचार खर्चमा समेत औपचारिकता मात्र पुरा गरेका थिए । बुबाको त्यही दुर्घटनाको कारण थला परेर मृत्यु भएको उसको आँखाअगाडि अझै झल्झली आइरहेको थियो । त्यस पछिको कष्टकर जीवनले उसलाई धनप्रसादको विरूद्धमा जन्मीएको तिक्ततालाई अझै मौलाउने अवसर दिइरहेको थियो ।

    धनप्रसादकी एकमात्र सन्तान एलीना राजधानीमा पढ्दै थिइ । कहिलेकाँही आक्कल झुक्कल मात्र देख्ने गरेकी भएकोले सायद एलीना उसलाई त्यति राम्रोसँग चिन्दिन थिइ । पारसले बिस्तारै एलीनासँग हेलमेल बढाउन थाल्यो र आफ्नो योजनाको जाल बिछाउन थाल्यो । यी दुइ बिस्तारै एक अर्काका परीपुरक बन्दै गए । पारसले एलीनासँग कानुनी रूपमा विवाह गर्ने योजना बनायो । एलीना पहिला त अन्कनाइ तर उसलाई पक्का थाहा थियो कि पारसको आर्थिक अवस्था उसको बुबाको लागि स्वीकार्य हुने छैन । त्यसैले उसले पारसको प्रस्तावमा समर्थन जनाइ, उसको बुबाले आखिर हार मान्नै पऱ्यो ।

    समय बित्दै गयो केही महिनापछिको एक दिन सडकमा हिँडीरहेको बेलामा एउटा नम्बरप्लेट नभएको ट्रक एलीनाको बुबाको शरीर कुल्चेर वेपत्ता भयो । कानुनी प्रकृया पुरा भएपछि पारसको भाग्य चम्कियो । पारस घर मालिकको रूपमा घरमा आएको देखेर अन्य सेवकहरू हेरेको हेऱ्यै भए ।

    २०६९ माघ २३, सौराहाचोक चितवन

  2. निश्चयनै परिमार्जित रूप निकै
    निश्चयनै परिमार्जित रूप निकै रोचक र शक्तिशाली छ । धेरै जानकारी थोरै शब्दहरूबाट व्यक्त गर्नु नै यस कथाको विशेषता हो । प्रस्तुतिको त कुरै भएन – बेजोड छ । सबभन्दा ठुलो कुरा त – यसले पाठकहरूलाई सोच्न र imagine गर्न कर लगाउँछ ।

  3. धन्यवाद सम्पादक ज्यु।
    धन्यवाद सम्पादक ज्यु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *