म
एटलसको पानामा
मेरो देश
हेरिरहन्छु ।
मल्वाडाहरूमा तल्वाडाको
पानी मिसिंदा
खुसीले बजेको शहनाई
अनि
खुसीले बगेको कर्णालीलाई
सलाम गर्छु – म ।
डोलाजी बसेको
मेरो डोल्पा –
समरुपता र समानता
बोलिरहन्छ ।
म मेरा डोल्पाली
आवाजहरूको
प्रार्थना गर्दछु ।
अभागी
ऐरिले कोरेको चाँदो मेरो
धोएर कहाँ धोइने छ र ?
तथापि
धुन्छु म निरपानीले-
निधारको मुजा ।
ठोरीबाट लोमान्थाङ
थारु-थकाली बाह्र गाउँले
आस्थाको दियो बाल्दै हिंड्छु -म
बाँसको लिङ्गोमा ।
मेरो मुन्धुम र महाभारत –
युगल संस्कृती
गाउँदै हिंड्छु म
तीरै तीर
माइखोलाको बाटो ।
भगवानदासका पाइलाहरू
सप्तरीबाट काठमाडौंसम्म
टेक्दै हिंड्छु -म ।
म जलेश्वरको मायालु आँखाले
स्याब्रुबेसीलाई-
हेरिरहन्छु ।
म
एटलसको पानामा
मेरो देश
हेरिरहन्छु ।
