मान्छेको हुल
भेडा बाख्राहरू खेदिए झैं
भर्खरै ओरालो लागे
ओरालो कहीं केही उकालो
नागबेली अनि चट्टानहरू हुँदै
देश खोज्दा खोज्दै हराए
राति न दिउसो बाँदरले बच्चा चेपे जस्तै
नानीहरू आमाले चेपेर
राति न दिउसो पैतालामा ठेलाहरू उठाएर
हिड्न सकुन्जेल हिडे
क्षितिज्मा देश थिएन
सिमाना पनि भेटिएन
हाती गाउँमा पसे जस्तो गरे
मान्छेको बस्तीमा
बन मान्छे जस्तो गरी टिन र नंग्लो ठटाए
मान्छेले मान्छे खेद्यो
ती अनगिन्ती पाइतालाहरू को
ठुलै घुइचो लाग्यो
तिनीहरूले बाटो छोडेर बगर रोजे
भिड लाग्यो हेर्नेको तिनीहरूलाई
नक्षेत्रका तारा हेरे जस्तो
तिनीहरू हाम्रै थिए
हाम्रै बंशका थिए
थकित थिए गलेका थिए भोका थिए
अबोध बालकहरूलाई ती गलित आमाहरूले
आफ्ना काखमा सुकेका लाम्टा चुसाउदै
लमतन्न लडे त्यो बगरमा
अनि तिनीहरूले मान्छेभन्दा
पृथक नाम पाए
मान्छेको बस्तीमा
मानवता एकपटक रोयो
नाम पाए
शरणार्थी ।
शान्तिराम ढकाल
क्यालिफोर्निया
