Skip to content

नयाँ भियतनामका गीतहरू


जब गरीबका वस्तीहरूमा डढेलो लगाइन्छ
तब शब्दहिन दुःखीहरू ओकेल्छन आक्रान्त चित्कार
अनि ससंकित अपराधीहरू
बुटले जनताको घाटी थिच्छन
मैना सुनुवारहरू लुटिदै र ढल्दै जान्छन
क्याप्टेन लामाहरू भकभकी पानीमा उसिनिदै जान्छन्
रोदन र क्रन्दन यति तिब्र हुन्छन् कि
बर्बरहरू अँझै चेत गुमाउदै जान्छन्
आवाज रोक्न जनताको
मुखमा रुमाल कोच्छन्
निरीह नेवारजेठाहरू मध्यरातमा
अपहरित हुन्छन र मारिन्छन्
रोदन र क्रन्दनका चित्कार
मुटु छेड्ने गरी उरालिन्छन्
तब शुद्धोदन र मायादेवीका छोराहरू
आँखा चिम्लेर बस्ने छैनन्
तर हुर्रिनेछन हावा हुन्डरीको वेगमा
हातमा म्यागाजिन र झोलामा ग्रिनेटहरू बोकेर
दुश्मनका किल्लामा चट्याङ पार्न
र खरानी पार्न बर्बरहरूलाई
अनि विश्वले देख्ने छ
बन्दुक बोकेका बुद्धका स्वरुपहरू
१

अस्तिका झ्याउरे विरालाहरू
गरिबका रगत पसिनाले ढाडिएर छाडे बनेपछि
म्याउँ विर्सिएर गर्जनेछन्
र चिथोर्ने छन्
गाउँले केटाकेटीका आँखा र छात्तीहरू
तब बुढाबुढिहरू ख्याल गर्दैनन्
आफ्ना जीर्ण शरीर
बरु लघार्ने छन् ढाडेहरूलाई
कोदालोको विड र आगुलो बोकेर
अनि विश्वले पढ्ने छ
नयाँ भक्तिथापाका कथाहरू
२

हाम्रो तरुलले सुन्दर लहरा बढाउँदै गर्दा
दायाँ वायाँका ढुङ्गाहरूले
नङ्गारा गाड्दै गए भने
माटो मुनिनै निर्चोने दुःसाहस गरे भने
तरुल, रगत चुहाएर रुने छैन
बरु दुई ढुङ्गा बिचको तरुल विस्फोट हुनेछन्
शक्तिशाली ग्रिनेट बनेर
अनि उडाउने छ विशाल चट्टानहरूलाई
छरपष्ट ढुङ्गा र धुलाका टुक्राहरू
आकाशमा छरिदै गर्दा
विश्वले दोहोर्याउने छ
नयाँ भियतनामका गीतहरू
३

अच्यूत प्रसाद सिलवाल
पिप्ले ४ चितवन
हाल चाबहिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *