म लामो पच्याङ बाटो हिंड्न चाहन्छु
मेरो निम्ति –
बाटाहरू छोंटिएर मेरो तगारो नजिकै आइपुगेको मलाई मन पर्दैन ।
म अग्लो हिमाल उक्लन चाहन्छु
मेरो निम्ति –
हिमालहरू होचिएर मेरै देउराली डाँडा भएको मलाई मन पर्दैन ।।
म आफ्नै स्वीकृतिहरूमा मर्ने मान्छे –
अस्वीकृतिहरूको तीतो औषधी खाएर म बाँच्न चाहन्न ।
कमसेकम –
दुई दिने यो जीवन म निर्जीवन हाँस्न चाहन्न ।।
मलाई थाहा छ –
म यायावर सपनाहरूको साथमा भौंतारिंदै यहाँ आइपुगें ।
भौंतारिंदा भौंतारिंदै –
तिर्खाएको बेला यो जरूवा भेट्टाउँदा खुशी भएँ र गाउन थालें –
तिर्खाहरूकै पाश्र्व गीतः वैशालु भाकामा ।
मेरा साथमा मेरा यी विदीर्ण, विनिर्गत तिर्खाहरू नभए,
म सायद अलिकति ढुङ्गाको छपनी वाँच्थें र
कुल्चेर हिंड्थें – त्यसका मनहरूमा ।
म यसरी आल्हादित भएर नाच्ने थिइन ।
त्यसैले –
मलाई मेरा सपनाहरूले दिनदहाडै चियाउन आएको निको लाग्दैन ।
मलाई मेरा तिर्खाहरूको अघिल्तिर पँधेरो बगेर आएको पनि निको लाग्दैन ।।
यो चौतारोसम्म आइपुग्दाको नियात्रा संस्मरण
म मेरै आगर्तित अनुभूतिका रङहरूले लेख्न चाहन्छु –
हृदयका भित्ताहरूमा ।
ढुकढुकीहरूमा सेतो गुराँस फुलाउँदा फुलाउँदै
म क्रमशः ओइलाउन चाहन्छु – प्रेमका धपक्क धपक्क घामहरूमा ।
मलाई जीवनका अवयवहरूलाई नरङ्ग्याउने अर्थहीन रङहरूले रङ्ग्याउँदैनन् ।
मलाई बरफ जमेको मनका पाखाहरू नतताउने यामहरूले तताउँदैनन् ।।
म बसेको चौतारो –
यात्राहरूको विश्रान्ति चाहँदैन ।
ऊ चाहन्छ – केवल यात्राहरूले एकैछिन उसलाई सुम्सुम्याउन् र
ऊसित एकैछिन सुस्ताएर सधैँका लागि
सुख दुःखका फेहरिस्त सबै उसको पोल्टामा छाडी जाऊन् ।
किनभने –
मेरो चौतारो रोमाञ्चक यात्रा भएर हिंड्न सक्तैन
तर ऊ हृदयदेखि नै यात्रा अनुभूत गर्न सक्तछ ।।
म मेरा पाइतालाहरूमा सहधर्मी जुत्ताहरूको पूजा गर्दछु
किनभने
भरखरै यिनीहरूले आफ्नो लामो तीर्थ यात्राको दौरानमा
मन्दिरहरू कुल्चेर आएका छन्,
मस्जिदहरू कुल्चेर आएका छन् ।
मेरो अश्रुपुरित प्रार्थनाको मसीले आफ्नो नाम लेख्न चाहने
यो असमयका तमाम देउता र इमामहरूलाई – यिनीहरूले
श्रद्धाभक्तिपूर्वक कुल्चेर आएका छन् ।।
त्यसैले अब –
मलाई मेरा जुत्ताहरू हिंडेको बाटोमा निरूद्देश्य खुट्टाहरू लर्खराएको राम्रो लाग्दैन ।
मलाई मेरा जुत्ताहरूको मनले पनि नलीखुट्टाहरूले झैं खुन बगाएको राम्रो लाग्दैन ।।
यद्यपि –
मेरो आँखा अगाडि फुलिरहेछ –
यो असमयको निर्गन्ध निलेर नीलो फूल
सम्झाएर सधैं सधैं
मेरो आत्मअस्वीकृतिका हरफहरू ।।
