जानिएन चोरी र चकारी
त्यै भएर खाली भो भकारी
निमूखालाई हकारी-हकारी
लुटी खाने बस्दछ डकारी
ज्यानै आफ्नो खतराको अँगेनूमा झोसी
जिन्दगी यो जानै लाग्यो तल्सिङ्गलाई पोसी
बाल्नुपर्छ अगुल्टोलाई भन्छ ठोसी-ठोसी
काम गर्यो ज्याला जति उही लान्छ खोसी
हेलाँ गर्छ थुक्दिन्छ खकारी
लुटी खाने बस्दछ डकारी
ऋणमाथि ऋण अँझै ब्याजले नि बेर्छ
साहू उसै यत्रा आँखा फुकालेर हेर्छ
न कसैले गन्छ हाम्लाई न कसैले टेर्छ
लेखिएको भाग्य भावी आफैं किन केर्छ ?
नीति नियम नकारी-नकारी
लुटी खाने बस्दछ डकारी
(ट्रोम्सो नर्वे; में १, २०१३/अन्तर्राष्ट्रिय मजदूर दिवस)
