नखा’को बिष लाग्छ सोचेकी थिइन मैले
बिना आधार, प्रमाण दोषेकी थिइन मैले
माग्दा खेरी पाएकी छु आवश्यक कुराहरू
आँखा लगाई केही खोसेकी थिइन मैले
जस्तो कर्म त्यस्तै फल मिल्छ प्राणीलाई
व्यर्थ आफ्नो भाग्य कोचेकी थिइन मैले
आफ्नै धुनमा काम गरी खाने मान्छे म
काँडा बनी कसैलाई घोचेकी थिइन मैले
नपरेकी हैन परिबन्दमा तर रिसइवी बोकी
कहीं कतै भुलेर आगो झोसेकी थिइन मैले
बोल्नु पर्ने ठाउँमा निष्पक्ष बोलेकी नै हुँ
आफ्नो मुखमा बुझो ठोसेकी थिइन मैले
गाँठी कुरो नबुझेर बात लायौ मलाई
भोकमरीमा कसैलाई पोसेकी थिइन मैले
२०७० -१ -२५
मझेरीमा पहिलोपटक प्रकाशित – 2013-05-15 23:50:50 +0900
