Skip to content


धेरै दिन पछि अचानक सपनाको जीवनमा अलग तरङ्ग आएको थियो, आज धेरै दिनपछि उसले कसैलाई अचानक बजारमा देखेको थियो । त्यो परिचित अनुहारमा आज पनि त्यही कान्ति थियो, झुस्स दारी, लामो कपाल, त्यही कुटिल मुस्कान । फरक थियो त मात्र केही समयका रेखाहरू र रंगको । झन्डै दस वर्ष पछि नि उसको अबोध चेहरामा कुनै परिवर्तन थिएन । सपना झसङ्ग भई । उसको मानसपटलमा बिगतका एक एक घटनाहरू चलचित्रझैँ नाच्न थाले । उसले आफ्नो खुट्टा आफैले महसुस गर्न छोडी, कोही नजिकै भएको भए उसले सहाराको लागि हात समाउने थिई, सारीको सप्कोले निधार पुछ्दै सपना बसी सडकको एक छेउ ।

सपनालाई खोज्दै, गाडी लिएर चालक, उसकै नजिक पुग्यो, पसिना पुछ्दै सपना गाडीमा बसी । गाडी एउटा स्कुल पुगेर रोकियो, गेटमा सानी नानी कसैलाई पर्खिराकी रैछिन, सपनालाई देख्ने बित्तिकै दौडिएर अंगालो हालिन र सोधिन ममी आज किन ढिला आउनुभाको ? सपना केही बोलिन, नानीलाई बोकेर गाडीमा बसिन । गाडी आफ्नो रफ्तारले हुइकियो “स्वप्न निवास “तिर ।

“स्वप्न निवास” । हो येही नाम हो सपनाको महल वा दरबार, सानो चिटिक्क परेको र बाहिर पर्खालले घेरिएको सानो स्वर्ग, सपनाकै नामबाट उसको श्रीमानले नाम राखेको रहेछ “स्वप्न निवास” । श्रीमान राजधानीकै नाम चलेको बिजनेस हाउसको संचालक, सपनालाई औधि माया गर्ने, जति नै ब्यस्त भएनी सपनाको लागि समय हुन्थ्यो, सपनाको हरेक सपना पुरा गरिदिएको थियो, एउटा आदर्श पति थियो । आज पनि सपना र छोरीलाई लिएर कतै रेस्टुरामा जाने भनेर फोन गरेको थियो, तर सपनाले अलि सन्चो नभएको भन्दै तारेकी थिन आजको प्रोग्राम ।

छोरी सुतिसकेकी थिई र सपनाचै कतै हराइरहेकी, आज उसले जसलाई देखेको थियो, कुनै समय त्यो मानिस सपनाको बिपना थियो । त्यो समयमा भर्खर १९ को उमेर टेकेकी सपनालाई धेरैले प्रेम प्रस्ताब राखे तर सपनको मन चोर्ने चै अरु नै कोही थियो, २०, २१ बर्षको त्यो जवान केटो, कुटिल मुस्कान, झुस्स दारी, केटीहरूसँग खासै नबोल्ने उसको बानी थियो तर त्यही मुहार र बानीमा सपनाको मन चिप्लिएको थियो, धेरै प्रयास गरेपछि सपनाको प्रेमको अगाडि कृष्णले हार मानेको थियो । सपनाले कति पटक उसलाई दारी काट्न नभनेको नि हैन, कृष्ण जिस्किदै भन्थ्यो बिहेपछि । अब उनीहरू एकअर्का बिना बस्न नसक्ने अवस्थामा पुगिसकेका थिए । कृष्ण स्कुलमा पढाउने गर्थ्यो, घरमा एक्ली आमा थिई, मुस्किलले उसको घर चलिराको थियो । उता सपनाको परिवारको गाउँमा आफ्नै रवाफ थियो, ठुलाठालुमा गनिन्थ्यो । सपना अति नै राम्री थिई र पनि कसैले उसलाई जिस्काउने हिम्मत गरेनन ।

फुलको सुवास र प्रेमको सुवास लुकाएर लुक्दैन भन्याजस्तै यी दुइको प्रेमको हल्ला सपनाको परिवारले नि सुनेका थिए । उनीहरू यो सम्बन्धमा सहमत हुने कुरै थिएन । कहाँ उनीहरूको मान, सम्मान, इज्जत, धन सम्पति, कहाँ कृष्णको गरिबी । पैसा बाहेक केही नचल्ने दुनियामा गरिब हुनु कति सम्मको कमजोरी र हीनताको कुरा हुदो रहेछ भन्ने कुरा यी दुइको प्रेममा आउन लागेको हुरीले देखाउने वाला थियो । आजको जस्तो मोबाइलको युग थिएन । सपनालाई घरमा आउने फोन माथि कडा निगरानी सुरु भैसकेको थियो । कृष्ण र सपनाको कुरा नभएको धेरै दिन भैसकेको थियो । तैपनि अनेक उपाय लगाएर सपना कृष्णलाई भेट्थ्यो । अब उनीहरूसँग अन्तिम विकल्प बाकी थियो, चाडै नै जनै पुर्णिमा आउदै थियो र सहरमा मेलाको सुरसार भैसकेको थियो । बर्षेनी सपना मेलामा आफ्नी आमा दिदीहरूसँग जान्थी । येही दिनलाई मौका पारेर आफ्नो प्रेमलाई टुंगोमा पुर्याउने यिनीहरूको निर्णय भएको थियो । त्यही दिन मन्दिर जादा बीच बाटोबाटै कतै लाग्ने उनीहरूले निर्णय गरेका थिए । आफ्नो गरिबीको बाबजुद कृष्णले हिम्मत गरेको थियो सपनाको माया र भरोसाले । यी प्रेममा लिप्त जोडी दुनियाको सबै खुसी त्यागेर एकअर्काको हुने दिन पर्खिदै थिए ।

मेलामा भीडभाड उत्तिकै, कहाँबाट मात्र मान्छे आको होला भन्ने जस्तो गरी मानिसहरू आएका थिए । एक पाइला सर्न नि मुस्किल थियो । मन्दिरको लाम नै पर सडकसम्म पुगेको थियो । येति धेरै मान्छेहरू थिए कि निमेष भरमैसँगै आएका मानिसहरू एक अर्कासँग छुटथे । मानिसहरू अडिएर आफ्ना हराएको साथीहरू खोज्थे । सपनाको झोलामा केही लुगा र गहना थियो । ऊ आमा र दिदीसँग भीडको मौका उठाएर अलगिन खोज्दै थिई, उसले मौका पाई र आफ्नो बाटोतिर लागिन । मुख्य सडकबाट अलग भएर ऊ सहायकबाट हुदै अर्कैतिर लागि, जहाँ उसलाई कृष्णले पर्खिने कुरा भएको थियो । सपना निश्चित ठाउमा पुगी, त्यहाँ नि मान्छेहरूको भीड थियो । सडक छेउको रुखमुनी बस्दै ऊ पारि हेर्न थाली । भीडमा जो देखेनी उसलाई कृष्ण जस्तै लागिरहेको थियो । सपनाको प्रेमले उडान भर्ना लागेको थियो । ऊ आफ्नो प्रेमलाई सफल बनाउने कदमको एकदम नजिक थिई ।

सिमसिम पानी पर्न लग्यो, भदौको महिना । सपना उभेकी नै १५ मिनेट हुन लागिसक्यो, तर उसले कृष्णलाई देखीन । भीड र झरीले मान्छे छिन्न गारो हुदै थियो तर भीड उस्तै नै थियो । आँखा तानेर उसले हेरी कतै कृष्ण त छैन, मुटुको बेग बिस्तारै बढ्न थाल्यो । उता आमा र दिदीले खोजिरा होला, उनीहरू यता पुगे भने उसको सपनामा तुसारापात हुने निश्चित थियो । उसले ठाउँ त येही भनेकी थिई तर उसले कृष्णलाई देखिन । अब सपना आफै यता उति कृष्णलाई खोज्न थाली, तर उसले भेटिन । पसिनाले रुझेको हो कि झरीले, उसलाई केही मतलब थिएन । मणि हराएको सर्प झैँ ऊ निरन्तर वारि परि यता उता गरी । कहिले भीडमा त कहिले भीड छिचोलेर उसले कृष्णलाई खोजी । आलस तालस भएर ऊ एउटा पसलको बेन्चमा बसी । रुनु न हास्नु, के गर्नु ? उसले केही सोच्न सकिन । ४५ मिनेट भैसकेको थियो । येतिकैमा उसको काँधमा एउटा हात पर्यो, जब सपनाले पछाडि फर्केर हेरी, उसको आँखा अगाडि दुई परिचित अनुहार थियो, उसको आमा र दिदीको । उनीहरूपनि सपनालाई खोज्दा खोज्दै हैरान भएका थिए । केही शंका, केही विस्मृत अनुहार सहित सपनालाई हात समात्दै तीन जनाको टोलि भीडमा हरायो ।

घर फर्किदा, सपनाको अनुहार समबेदनाहीन थियो । उसको मनले कृष्णले दिएको धोका वा हिम्मत देखाउन नसकेको नामर्दिपन सम्झिरहयो । दुनियालाई त्यागेर कृष्णको लागि गरेको सपनाको विश्वास अब टुटिसकेको थियो । एक मन त उसलाई लाग्यो अब मारिदिन्छु । जसलाई माया गरे, विश्वास गरे, उसले नै विश्वासघात गरेसी के बाच्नु?

भोलि बिहानै गाइजात्राको दिन, सपना लिएर एउटा गाडी सपनाको मामाघरतिर हुइकियो । सपनालाई त्यही राख्ने अनि तेहीबाट बिहे गरिदिने सुरसार हुन थाल्यो । मावलीबाट नै केटो खोजियो । राम्रो कुल र धनाड्य घर, बिजनेस हाउसका मालिकको कान्छो छोरो । सपनाले समयसँगै सम्झौताको निर्णय गरी । धोका दिनेलाई सम्झेर बस्नुको उसले विकल्प रोजी । मावलीबाटै बिहे भयो सपनाको र नौलो परिबेशमा प्रवेश गरिन सपना ।

कोठाको ढोका खुल्यो, सपना झसङ्ग भइन । उसको लोग्ने थियो । सधै हासीराख्ने अनि हसाइराख्ने बानी थियो उसको श्रीमान्को । कुनै दुख थिएन सपनालाई । तर आज जसलाई उसले देखी, उसको झुसे दारी र जुँगाले सपनालाई एक छिन सोच्न बाध्य पार्यो । के कृष्णले बिहे गरेको छैन ? के उसले आफ्नो घर बसाएको छैन ? के त्यो पुर्णिमाको दिन कृष्ण त्यहाँ आको थिएन ? कि आएर नि उनीहरूको भेट भएन ? कृष्णले धोका नदिएर कतै कृष्णसँग त धोका भएको हैन ? हैन भने कृष्ण आज पनि उस्तै छ, बिहेपछि सफा सुघर भएर बस्छु भनेको मान्छे आज नि उस्तै छ ? किन त ? मात्र कृष्णको आजको अनुहारले उसले बिहे गरेको नगरेको थाहा हुने त हैन तर किन सपनालाई यस्तो लाग्यो, कृष्णले बिहे गरेको छैन ? कसलाई कुरेर बसेको छ त ऊ ? वा मायाबाट विश्वास पो हटेको हो कि ? सायद ऊ मेलामा आको थियो तर भीडमा ऊ पनि सपनालाई खोज्दै थियो कि ? यी यावत कुराहरू सपनाको दिमागमा खेलिरहयो । जसले धोका दियो भन्ठानेकी थिई, कतै उसमाथि त नियतिको धोका भएको त हैन ? सपनालाई लाग्यो सायद आजजस्तो मोबाइल भाको भए उनीहरू पक्कै भेटिन्थे तर मोबाइल भए पनि कहिले टावरको समस्या, कहिले बत्तीको समस्या, कहिले नेटवोर्किन्ग्को समस्या हुने नेपालमा प्रविधिले नियतिको परिधि कहाँ तोड्न सक्दो रैछ ? नियतिको अगाडि कसको के लाग्छ ? फेरि सपनाले सोची, सायद त्यो दिन उनीहरूको भेट भएको भए आजको जस्तो भौतिक सरसामान र सुख हुन्न थियो होला तर पक्कै पनि मायाको अंगालोमा ती कुराहरू गौण हुने थिए । तर समयको खोला धेरै बगिसकेको छ ।

सायद सपनालाई आज रातभरि निद्रा लाग्ने छैन र सायद कति रातसम्म लाग्ने छैन, सायद यो धोका उसमाथि भाको हो कि सपनामाथि, सपनाले सोच्न र बुझ्न सकेकी छैन ।

www.binodmaharjan.blogspot.com

First publised : 2013-05-16 21:22:26 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *