Skip to content

गाली गरिरहूँ लाग्छ


अझ पनि तिनै उकाली र
ओरालीका खुट्किलाहरूमा
यी पाइलाहरूलाई
तिखा तर अत्यन्तै कोमल स्पर्श गर्ने
रक्तिम माटोमा मुछिएका
चट्टानहरूमा लगातार
बढाइरहूँ लाग्छ ।

तिनै सिस्नुका झ्याङ्
अनि जंगली काँडाहरूका
मायालु स्पर्शलाई
भावावेशका चिथोराइहरूलाई
उन्मुक्त हृदयमा समेट्दै
प्रत्येक अम्लिसाका बुटाहरू
अनि बाँसका झ्याङ्हरूमा
बालापनका स्मरणहरूलाई
खोजिरहूँ लाग्छ ।

हरदम रसाइरहने सिमखेतहरूमा
हराभरा तोरी फूलाउने टारबारीहरूमा
पोखिएका खित्का अनि अश्रुधारालाई
यीनै अँजुलीले फेरि समेट्दै
प्रत्येक कन्दराबाट रसाएका
कण कण पानीका साना थोपाहरूलाई
अलैँची र चियाका सुन्दर बगानहरूमा
फोहरा फिँजाई वसन्तको अंगालोमा
सप्तरङ्गी इन्दे्रणी सृजना गरी
नाचिरहूँ लाग्छ ।

पुतलीझैँ फुर्रफुर्र फर्फुराउने
गुलाव र कुमुदिनी झैँ हाँसिरहने
सृष्टिका अनुपम वरदान
मेरा बालसखीहरूलाई
सल्लाघारीको सुसेलीसँगै
छङ्छङ् गर्ने पानीका गीतहरूमा
फेरि यो मन बहलाउँदै
अँजुली भरी बुकी फूल
अनि हृदयभरी लालीगुराँस फुलाई
वरपिपलको चौतारीमा
भेटिरहूँ लाग्छ ।

तर विडम्वना …
यी मेरा सबै हृदयका चाहनाहरूलाई
कोपिलामै निमोठ्न खोज्दै
त्यसतर्फ अग्रसर मेरा पाइलाहरूलाई
बीच बाटो मै रोक्दै
मेरा मनका भावनाहरूमाथि
हस्तक्षेप गर्ने क्रुर समयलाई
अब त,
अतृप्त ती कामनाहरू
रोदन मिस्रित ती अतितहरू
सुखमय बालसंगमहरू
फेरि पनि सम्झँदै सदासदा गाली गरिरहूँ लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *