Skip to content

बेलगाम घोडाहरुलाई कोर्रा हान्दै छु साथी!((साथीसंग टेलिफोन वार्ता))

ShantiRamDhakal-10



आकाशमा उडेको त्यो हुस्सुलाई
हिमालबाट झारेर पानी बनाउदै छु साथी
त्यो तिमीले छोडेर गएको गोरेटोलाई
मूल बाटो बनाउदै छु साथी
कन्दराहरूमा सिस्नु रोपेर साग बेच्दै छु साथी
माया चैं नमार है यो देश गोडदै छु साथी

लाली गुराँस बुकी अनि चाँप रोप्दै छु साथी
के गरेर बसेको छ भन्छौ होला परदेशबाट
म यहाँ आफ्नै देश गोड्दै छु है साथी
कान्लाहरू सम्याएर हिलो पोत्दै छु साथी
मेरो खेतका गराहरूमा सून रोप्दै छु साथी
म आजकल हरेक बिहान सुनौलो घाम रोप्दै छु साथी
आजकल बेलागामका घोडाहरूले
त्यो धान बालीमा उदण्ड मच्चाउदै छन्
कोर्रा हानेर तह लाउने तर्खरमा लागेको छु साथी

भिर पाखाहरूमा अम्लिसो रोप्दै छु
सेतो हिमालसँग बाटो जोड्दै छु
त्यो सिरुबारिमा फापर र कोदो रोप्दै छु साथी
अब मलाई त्यो पहाडमा ढाका बुन्नु छ
मेरो मधेशमा मलाई धोती उन्नु छ
तान जोडी सकेँ अब मैले साथी
उधृन आँटेको मेरो देश
शिप लगाएर सिउदै छु साथी
खर्पनहरू फेर्नु छ
ठेला गाडाहरू जोड्नु छ
चौरीको बथान गोठ सार्नु छ हे साथी
मलाई मेरो देश गोड्नु छ
मलाई मेरो देशको को हँसिलो मुहार हेर्नु छ

स्कूल रोपेर शिप फलाउदै छु साथी
क ख रा को सिलेट जोडदै छु साथी
आँफै उज्यालो बत्ती बाल्न खोज्दै छु साथी
म आजकल देश गोडदै छु
म मेरो देश सिउदै छु साथी
मेची दुख्दा काली रुने मेरा ती आँखाहरूमा
मायाको ओत खोज्दै छु साथी
आजकल म उधृएको मेरो देश सिउदै छु साथी
आजकल म स्कुल रोप्दै छु साथी
म मेरो देश सिउदै छु साथी ।
===================
(दोश्रो शताबार्शिकी भानुजयन्तीको उपलक्ष्मा लस एञ्जलस अमेरिकामा बाचन गरिएको जुलाई १४ , २०१३ )

First published : 2013-06-18 05:04:48 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *