डियर कल्याण !
धेरै को कथा, र
धेरैको ब्यथा सुने पस्च्यात,
मलाई पनि,
आफ्नो कथा, लेख्न मन लाग्यो
आफ्नो ब्यथा, कोर्न मन लाग्यो
कोरिएका ब्यथा र कथाका पोकाहरू,
त्यहासम्म पठाई,
तपाईंको लोकप्रिय कार्यक्रम मार्फत
सुनाउन मन लाग्यो
आश छ
प्रसारण गरिदिनु हुनेछ ।
मेरो नाम, मातादेवी ‘धर्ती’ हो
र मेरो जन्म,
बिक्रम सम्बतको अरबौ बर्ष पहिले
इस्बी सम्बतको करोडौ बर्ष पहिले
खगोलीय गर्भाशयमा
पुच्छ्रे ताराको बलात्कर पस्च्यात
पृथिवी भन्ने पिण्डको उदय सगै भएको हो
अनि म यति बेला !
गोलार्धमा
२६ डीग्री २२ मिनेट उतरी अक्षाश देखी
३० डिग्री २७ मिनेट उतर र
८० डिग्री ४ मिनेट पुर्वी देशान्तर देखी
८८ डिग्री १२ मिनेट पुर्वी देशान्तरसम्म
आफ्नै सन्तानको चर्तिकला हेरेर
उकुस मुकुसमा
फुस्स फुस्स श्वास फेरेर
बाँचिरहेछु …
केवक बाँचिरहेछु …
डियर कल्याण !
जन्मेपछि,
बढ्ने …र्किने र फैलिने क्रम
ममा पनि जारिरहे,
यसै क्रममा
म काङंगडाबाट
बढ्दै-बढ्दै, फैलिदै-फैलिदै
मलङ्गुवा र खलङ्गासम्म पुगेको छु
टिस्टाबाट बढ्दै-बढ्दै, फैलिदै-फैलिदै
कुस्मा र सुस्तासम्म पुगेको छु
नालापानीबाट बढ्दै-बढ्दै, फैलिदै-फैलिदै
कालापानीसम्म पुगेको छु
सतलज र देउथलको बिस्तारित रुप
सल्यान सल्लेरी र देउखुरी हो।
डियर कल्याण !
जब म बढेँ, फैलिएँ, हुर्किएँ
पुर्वको च्याङ्गथापु र पश्चिमको चादनी
कलकलाउदो बैशले भरिएको जवानी
पहिलो रजरस्वालासँगै मेरो जीवनको बिहानी
मैले आफ्नो मन, आँफै सग अन्माएँ
बहादुर साहसी कर्मठ लाखौं सन्तान जन्माएँ
शायद म बलात्कृत हुँदा,
बेमौषम थियो
कुसाइत थियो
कुबेला थियो
कसैको चुक्ता गर्ने ॠण थियो
या त
आमाले सरापेको दिन थियो
र त
दाइ मार्ने भाइ जन्मे
जंङ्गल पस्ने सन्तान निस्के
बन्दुक बोक्ने छोरा जन्मे
गोली ठोक्ने बहादुर आए
कर्म भुले धर्म सम्झे
साथ बिर्सें जात सम्झे ।
डियर कल्याण !
मैले कुरा बुझिँन या त बुझाउन सकिन
मेरै सन्तान,
मैल्यै जन्माएका सन्तान,
कसरी रगत फरक भए ? अनि आफ्नो रगत खोजिरहेछन
कसरी जात फरक भए ? अनि आफ्नो जात खोजिरहेछन
कसरी धर्म फरक भयो ? अनि आफ्नो धर्म खोजिरहेछन
मैले माथिल्लो घरे जिन्ताओ र
तल्लो घरे पुरी खाओसँग
आफ्नो अस्तित्व बेचेर सुटुक्क पोइला गै
जन्माएको सन्तानहरू भए
मेरो झोलिएको स्तनबाट चुसेको दुधलाई
रगतमा बदली,
जातीको ब्युरेटमा
धर्म र संघियताको पिपेटले हाली
टाइटेसन गरी, उनीहरूलाई
नेपाली होइनौ भन्ने प्रमाणित गर्न
चुनौती छ डियर कल्याण ! चुनौती छ!
अन्तत, डियर कल्याण !
आफ्नाले आफ्नैको दुखाएको मन छ यहाँ
आफ्नाले आफ्नैको डडाएको बन छ यहाँ
आफ्नोले आफ्नैबाट कमाएको धन छ यहाँ
यद्यपि माता हुँ, धर्ती हुँ
प्रश्रावपीडाको बेला
सगरमाथाको चुचुरोबाट हिउ पग्ली
निथ्रुक्क भिजेका मेरा पसिना बगेर
तल निस्किएका रगतका नदीलाई
सन्तानले चिन्नेछन, बुझ्नेछन
र
मेरो श्वास जानु पुर्व,
छट्पटिदै हुँदा,
सबै मिलेर ‘आमा’ भन्न आउनेछन, सुम्सुम्याउनेछन
मिलेका सन्तान हेरी हेरी सन्तोषले म पनि
पश्चिमको चादनी अस्त झै फुस्स अस्ताउला
यसैमा विस्वास छ
डियर कल्याण !
यसैमा विस्वास छ …
बुद्धि मोक्तान
