चर्को ढोल बजाई
कालो रुप लिई
गगनले गर्यो
सिंहनाद,
ठूला भूमरी बनी
स्वाँस्वाँ र फ्वाँफ्वाँ गरी
बतासले आफैंलाई गर्यो
आजाद ।
कुरुक्षत्रको लडाईं जस्तो,
शान्त धर्तीमा मच्चियो
बबन्डर,
अनावर्षणपछिको गर्जन
थियो त्यो,
भारी बर्सात भयो
निरन्तर ।
ठिक त्यस्तै ढ्यांग्रो
यो मुटुमा नि गर्जियो..
आकाशमा बिजुली चम्किदा
मनको घाउ बल्झियो..
हुरीले सबथोक सोहोरेझैं
मनको कुनाबाट याद सोहोरियो..
बर्षौंदेखि भुलेका पलहरू
मानसपटलमा एकैसाथ दोहोरियो..
बर्सातका बाछिटाले जब
गर्यो गर्दनमा कोमल
स्पर्श,
प्रियसीका नरम हत्केलाको
झझल्कोले छायो एक
हर्ष ।
तर,
टिकेन त्यो खुशी
खोइ कता बिलायो,
फेरि,
यो कोमल मनमा
किन प्रलय आयो ।
हावाका वेग नगिच आई,
कानमा गर्यो साउती..
अनि,
याद आए उसका वाणी,
त्यो तातो श्वास,
सम्झनामै लाग्यो मिठो
काउकुती ।
अनायशै याद आए ती पल,
हामी बर्सातमा खेलेको,
मायाको स्वप्न संसार बनाई,
हावामा ठेलेको..
सँगै बिताएका ती पलहरू,
यो पानीले धोइदियो..
टाढा भएछौं हामी,
एकान्तमा यो मन रोइदियो ।
साथै रहने कसम खाएपनि
छुट्टिएछौं हामी,
कठै! यो कस्तो खेल?
बाहिरको बर्सातसँगै
रोयो यो मन,
बग्यो यी आँखाबाट भेल…
बग्यो यी आँखाबाट भेल… ।
http://bhaskardhakal.blogspot.com/search/label/Nepali%20poems
