Skip to content

अर्को जन्ममा म देवता हुन्छु

अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु
सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु
मेरो मन्दिर घुम्न लगाउँछु, भजन कीर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु, खुट्टा पखाली जल खुवाउँछु
धूप, दीप बाल्न लगाउँछु, दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकरी गराउँछु, वर दिनुको साटो बरवाद गराउँछु।

अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको पनि म प्रेशर बढाउँछु, मुटु चलाउन यन्त्र बनाउँछु
पाठेघरमा ट्यूमर रोप्छु, पित्तको थैलीमा ढुङ्गा ठोक्छु
एक एक दिनको हिसाब गर्छु, मृगौलामा पनि रोग थप्छु
हे देवताहरू हो ! अर्को जन्ममा म देवता हुन्छु, तिमीहरूलाई म मान्छे बनाउँछु।।

– हरिवंश आचार्य

https://www.facebook.com/hari.bamsha.acharya/posts/10151561708603695

Leave a Reply

Your email address will not be published. Required fields are marked *