
१)
भाग्य रेखा केर्न मिले केरिदिन्थेँ आफै
देशको सीमा अँगालोमा बेरिदिन्थेँ आफै
जबरजस्ती लादिएका नियम कयौँ सम्बन्ध नि
फेर्न मिले निर्धक्क सब फेरिदिन्थे आफै ।
२)
सीमा मिच्यो छिमेकीले निश्चिन्त छौ तिमी
आफ्नै स्वार्थ मात्र हेर्ने शोषक हौ तिमी
इतिहासले धिक्कार्ने छ जिउँदो लास भनी
उठ, जाग संहालेर नेतृत्व लौ तिमी ।
३)
अनेकानेक हल्ला मात्र छर्छ मेरो देश
निर्विकल्प लकडाउन मात्र गर्छ मेरो देश
कुटनीतिक पहल भन्छ, मस्त निदाउँछ
छिमेकीको पेलाइमा पर्छ मेरो देश ।
४)
यो बजेटले भोको पेट भर्न सक्नुपर्छ
स्वास्थ्य, शिक्षा दिलाई दुःख हर्न सक्नु पर्छ
सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा गर्न
दुर्गम परिवेशको विकास गर्न सक्नुपर्छ ।
गोपाल खनाल
नुवाकोट, तारकेश्वर गाउँपालिका–१,दाङसिङ
२०७६–०१–२५,
