क्षितिज पारी
क्षितिज पारी मनको भारी बिसाऊँ भन्छ मन
सक्तैन पुग्न चाहेर पनि गरुङ्गो हुन्छ तन
ती डांडा -पाखा बादलका थुम्का चुमौं झैँ लाग्दछ
बनेर चरी आकाश छाउने रहर जाग्दछ
नेपथ्यबाट इशारा गरी कसैले बोलायो
फर्केर हेर्छु देख्तिन केही मन त्यसै टोलायो
प्रक्रिति संगै फुलेको देख्छु संगीत बनमा
त्यो सप्तरंगी इन्द्रेणी बस्छे आएर मनमा
पुलकित हुन्छु रोमान्चित बन्छु त्यो दृश्य देखेर
भमरा बनि नाच्न मन लाछ डालीमा टेकेर
माहुरी आई चुस्तछ रस सुगन्ध फूलको
काडेर मह शोषण गर्नु मान्छेको भूल हो
काम गर्छ माहुरी खोस्दछ मान्छे निस्ठुरी बनेर
के गर्नु गर्व बिबेकशील प्राणी मानव भनेर
बिबिधता छ प्रकृति भित्र रमाउँछु त्यसैमा
सकेको गर्छु परिश्रम गर्छु म आफ्नै देशमा
सपना हैन बिपना सम्झी अगाडि बड्दछु
एक्-एक गर्दै पाइला चाल्दै शिखर चड्दछु
