Skip to content

म कवि हुँ, म कवि होइन


म कवि हुँ
म कवि होइन
मेरो कविता कविता हो
मेरो कविता कविता होइन

म कवि यस मानेमा हुँ
मलाई पाठकहरू कवि ठान्छन्
मलाई माथिसम्म उचाल्छन् ।

म कवि यस मानेमा होइन
मलाई कविहरू कवि ठान्दैनन्
मेरो खुट्टा तानिरहन्छन्

मेरो कविता कविता हो
मेरा पाठकहरू मेरा कविताहरूलाई कविता ठान्छन्
मलाई एकदम माथिसम्म पुर्याउँछन्
मेरो कविता कविता होइन
मेरा कविताहरूलाई कविहरू कविता ठान्दैनन्
मलाई उनीहरूभन्दा मुन्तिर पुर्याउँछन्

पाठकहरू कविता पढी रस लिन्छन्, मग्न हुन्छन्
कविहरू कविता पढी अकविता भन्दै मग्न हुन्छन्

म कवि हुँ
म कवि होइन
मेरो कविता कविता हो
मेरो कविता कविता होइन

कविहरू कविता आविष्कार गर्छन्
उनीहरू कविताका वैज्ञानिक, आविष्कारक, भगवान हुन्

पाठकहरू कविता पढ्छन्
पाठकहरू कविता मनन गर्छन्

कविले अर्का कविका कविता स्वीकार्दैनन्
पाठकले सबै कविता स्वीकार्दछन्

कविले त्यही कवितालाई कविता भन्दैनन्
पाठकले किन भएन भनी सोध्दा
कविले प्रयोग भयो भन्छन्
पाठकले त्यसलाई पनि मान्दैनन्
त्यस्ता मैले धेरै पढिसकेँ भन्छन्
पाठकले बारम्बार यही भन्छन्
पाठकले कहिल्यै प्रयोग देख्दैनन्
त्यसैले भगवानभन्दा भक्त ठूलो
कविभन्दा कविता
कविताभन्दा पाठक ठूला

म कवि हुँ
म कवि होइन
मेरो कविता कविता हो
मेरो कविता कविता होइन

२०७०—०६—०६
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

www.bijusubedibijay.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *