Skip to content

निरङ्कुश समयको सम्बोधनमा

  • by


धेरै वर्षपछि पल्टाएको
पुरानो कुनै पुस्तकको पानाजस्तै
धूलैधूलो भएर छरिएको छ
मेरो बैंश र मेरो अतीतको जीवित स्वरूप ।
म एउटा निर्जीव सालिकजस्तो ठिङ्ग उभिएर
कुनै झूटो इतिहास भन्न सक्दिनँ
मेरो अस्तिता यही होइन,
म समय बाँच्न सक्छु
तर समय बक्न सक्दिनँ ।
समयको अनन्त लामो गुफामा
होहल्ला र निःशब्दतालाई
कुनै एक्सरे रूममा कविताको रूपमा पढ्दै/चिर्दै
कागजहरू, र्व्यर्थताहरू र फ्रष्ट्रेशनहरूलाई खर्च नगरी स्याहार्दै
बिताएका
ती वीर्यपूर्ण आवारा दिनहरूबाट
लाभ भएका आगत भविष्यका ती अतीतजस्तै
चूपचाप छ
कुनै अँध्यारोको दारुण रुख
जो न कसैलाई छायाँ दिन्छ ,
न कसैलाई इशारा दिन्छ ।
युद्धभूमिको विपनपोर्टजस्तै
मौन ! मौन !
त्यस्तै छ समय ।
न कतैबाट आएको ,
न कतैतिर गएको ।
केही गन्नलायक घाउहरूलाई
केही छाम्नलायक आँशुहरूलाई
चैत-वैशाखबाट तिनका पात-पातलाई बचाउँदै
घामपानीबाट त्यसको आहतलाई सुम्सुम्याउँदै
त्यसैको लाभांशबाट कमाएको एकदिनको सुनौलो जीवनमा
रमाउँदै अनि भित्र-भित्रै लजाउँदै पापमा पछुताउँदै
पश्चिमा आकाशमा देखिएछन् पहाडका पश्चात्तापहरू
हिंसा किन उर्बर हुँदैछ पूर्वीय बाँधहरूमा
जो हारेको छ उहीमाथि हमला भएको छ बारम्बार
आफैंसित डराउँदै
सोध्दैछु
यो प्रश्न
लगातार !
सबै मौन र मूक छन् –
पुराना कुनै पुस्तकका थन्किएका पाना जस्तै ।
थाहा छैन,
यो कस्तो समय हो –
महासमर पछिको शान्ति हो वा
युद्ध-घोषणा पूर्वको गर्व-धारण !
थाहा छैन,
यो कुन भूमि हो –
गेस्टापोको चिहान –
वा भित्तामा टाँस्सिएको नाजीको सूचना –

Leave a Reply

Your email address will not be published. Required fields are marked *