Skip to content


यो सहर आज मलाई
किन यति कुरूप लागिरहेछ
किन भद्दा लागिरहेछ
महाशय जबकि यो राज्य अहिले तिमीसँग छ ?

म देखिरहेछु
तिमीले गर्ने नाटकहरूमा
मान्छेका लासहरूको कारोबार छ
तिमीले गर्ने सम्झौताहरूमा
हाम्रो रगतको व्यापार छ
तिमी लासहरूको सगरमाथा चढिरहेछौ
र, खुलेआम घोषणा गरिरहेछौ युद्धको
यो रत्नपार्क
यो घन्टाघर
धरहरा, नयाँसडक वा वसन्तपुरमा
सहिदमञ्च वा सिंहदरबारमा
तिमी व्यापार गरिरहेछौ
यौटा बीभत्स कुरूप राजनीतिको
म देखिरहेछु
यहाँका गल्ली र चोकहरूमा
तिम्रो कुरूप अनुहार
जबकि, तिमी माला लगाइरहेछौ झूटको
र, सगर्व घोषणा गरिरहेछौ
मुर्दा शान्तिको
जो पहिले पनि
रक्त अभिषेक गर्दै तिमीले झैँ
धेरै पुरोहितहरूले गरेकै थिए
त तिमीले के नयाँ गर्‍यौ ?
मलाई किन गनाउँछ हँ बालुवाटार
मलाई किन वाकवाकी हुन्छ हँ
जब म पुग्छु सिंहदरबार ?

म देखिरहेछु
कुहिएको खाद्यान्न पठाएर गाउँमा
तिमी भोज गर्दै छौ
काठमाडौँमा
मिति गुज्रेको सिटामोल पठाएर गाउँमा
तिमी दन्त परीक्षण गर्दै छौ
सिंगापुरमा
यसैले के फरक रहेछ
तिमी र ममा
म देखिरहेछु ।

म देखिरहेछु
यहाँका चोकगल्लीहरूमा
हाम्रा सपनाहरू, रहरहरू
हाम्रा स्वतन्त्रताहरू, चाहनाहरू
लडिरहेछन् अलपत्र/अस्पष्ट ।

म देखिरहेछु
तिम्रो बालुवाटार, सिंहदरबार
तिम्रा कार्यालयहरूमा
हाम्रा सपनाहरूको मोलमोलाई
कालाबजारी भ्रष्ट तस्करहरूसँग
तिम्रो उठबस
यहाँका डान्स क्लब
वा डिस्काथेकहरूमा
तिम्रो अश्लील नृत्य ।

मलाई किन रमाइलो लाग्दैन
तिम्रो सहर भने
महाशय तिमी
यहाँ छौ
तिम्रो कुटिलता मिसिएको छ यहाँको हावामा
तिम्रो षड्यन्त्रको बाढी आउँछ यहाँको पानीमा
अनि, तिम्रो गन्ध
फैलिएको छ यो वायुमण्डलमा
यो हावा दूषित छ
महाशय तर पनि म देखिरहेछु
तिमी दौडाइरहेछौ
यहाँ विदेशी साहूका
ल्यान्डक्रुजरहरू
नयाँ नयाँ लेन्डुपको अवतारमा ।

महाशय मलाई थाहा छ
तिम्रो भाषणको कुटिल अर्थ
तिम्रो विकासको नारा
तिम्रो समानताको हल्ला
तिम्रो नयाँ समाजको गफ
हाम्रो रगत-पसिनामाथिको
हाम्रो मुक्ति र स्वतन्त्रतामाथिको
राइँदाइँ हो, त्यसैले महाशय
म यो पनि देखिरहेछु
यहाँ चल्दै छ यौटा विशाल आँधी
यहाँ आउँदै छ यौटा महान् भूकम्प
अनि यहाँ आउँदै छ भयानक विपत्ति
तिम्रा लागि महाशय
यो फलदायी हुने छैन
यो आक्रोश होइन महाशय
यो सत्य हो समयको
नत्र तिमीले सुन्दर भनेको
यो सहर म
किन देखिरहेछु एकदम कुरूप ?

नेपाल साप्ताहिक
अंक: ५६५
२०७० आश्विन १३
Sep 29, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *