Skip to content


चिल्लो कालो वर्ण । स-साना गुच्छा परेर घुम्रिएको ब्रुसकट कपाल । ब्ल्याक होलजस्तो कालो अनुहारमा आकाशगंगामाझ ताराझैँ टलक्क टल्किएका सेता दाँत । छरितो जीउडाल र औसत उचाइका ओमार कमारा अरू सहभागीभन्दा पाको उमेरका लाग्थे । अलि झिल्के, चञ्चल र छट्टू स्वभावका लाग्ने कमारा अफ्रिकी राष्ट्र मालीबाट सहभागी बन्न आएका रहेछन् । तालिमको उद्घाटन सत्रमै उनले आफ्नो नाम, थरको पछाडि ‘माली ब्वाई’ जोडेर परचिय गराएका थिए । उनले आफूलाई ब्वाई भनेको सुन्दा हामी सहभागी सबैको उन्मुक्त हाँसोले एकपल्ट हल गुञ्जिएको थियो । त्यसै बेलादेखि हामीले उनलाई माली ब्वाई भनेर सम्बोधन गर्न थाल्यौँ ।

सुविधासम्पन्न आवासीय तालिम भएकाले खाने, बस्ने, सुत्ने, खेल्ने, नाचगान गर्नेसमेत सबै व्यवस्था छात्रावासमै रहेछ । बिहान चियानास्तापछि ५०-६० किलोमिटर टाढाको प्रशासनिक प्रतिष्ठानमा विविध विषयका कक्षा सञ्चालन हुन्थे । पढाइलेखाइमा त्यति ध्यान नदिने माली ब्वाई बसको यात्राभरि सबैको भुँडी बाउँडिने गरी हँसाउँथे । अलि लहडी र फुँडो स्वभावका लाग्ने माली ब्वाई महिला सहभागीहरूसँग बढी नै जिस्किन्थे । अपच हुने खालका छिल्लिएका कुरा गरेर लाजले कान राता बनाइदिन्थे । बेला कुबेला हातपात गरेर रुनु न हाँस्नुको अवस्था पारिदिने लबस्तरो स्वभावका माली ब्वाईसँग धेरैजसो म्याडमहरू टाढा भाग्थे । कक्षापछिको चियापान, बस यात्रा र खाँदाबस्दासमेत गफ-ठट्टामा भुलाइरहन्थे ।

अफ्रिकी राष्ट्र मालीका राजाको प्रत्यक्ष प्रशासन अन्तर्गत विकास आयोजना हेर्ने सहसचिव रहेछन्, ओमार कमारा । तर पनि पदीय गम्भीरता र शिष्टाचारको पटक्कै ख्याल नराख्ने कमारा महिला सहभागीहरूबीच पस्दै आफ्ना पाँचवटी श्रीमती र २७ छोराछोरी भएको बखान छाँटेर छक्क पार्थे । पहिले फ्रान्सेली उपनिवेश रहेको उनको देशमा फ्रेन्च र अफ्रिकन मलावी दुवै भाषा समान रूपले बोलिँदा रहेछन् । यता युरोपियन देश माल्दोभाबाट त्यसै तालिममा सहभागी बनेकी युवती भेरोसिया पनि फ्रान्सेली आमाकी छोरी भएकाले फ्रेन्च भाषा बोल्दी रहिछन् । तालिम चल्दै जाँदा दुई-चार दिनपछि भेरोसिया र माली ब्वाईबीच फ्रेन्च भाषामा कुराकानी हुन थाल्यो । साथै, माली ब्वाईले जथाभावी उटपट्याङ कुरा गरेको सुन्नेबित्तिकै भेरोसियाले फ्रेन्च भाषामा हप्काउँदै अलि सभ्य बन्न सिकाउँदै थिइन् । यस प्रसंगले सहभागी महिलाहरूमा राहतको अनुभूति भएको थियो । कक्षाहरू चल्दै रहे । ऐतिहासिक स्थल, प्रतिष्ठान, औद्योगिक क्षेत्र र बजारहरूको निरीक्षण अवलोकन पनि हुँदै गयो । यसै सिलसिलामा एक दिन हामी हसङ् फोर्टको अवलोकनमा निकिस्यौँ ।

प्रशासनिक प्रतिष्ठानबाट चलेको बस सुओन सहरको प्राचीन ऐतिहासिक दरबारमुनिको कलात्मक ढोकाअगाडि रोकियो । हसङ् फोर्टको भ्रमण गराउने छुट्टै विशेषज्ञ गाइड थिए । हामी बसबाट उत्रिएर नयाँ गाइडसँग भलाकुसारी गर्न लाग्यौँ । उनीहरूले सुओन सहर र सिल्लावंशीय राजाको दरबारलाई जापानी आक्रमणबाट बचाउन निर्माण गरेको प्रतिरोधक पर्खाल अर्थात् हसङ् फोर्टको छोटकरी परचिय गराए । प्राचीन सिल्ला राजदरबारकै अगाडिबाट करबि एक किलोमिटर लामो सिँढी ठाडै उँभो लाग्थ्यो । हामी गाइडलाई पछ्याउँदै सिँढी उक्लन थाल्यौँ । हाम्रा रसिक मित्र माली ब्वाई भने सबैभन्दा पछाडि बसेर यताउति भिडियो क्यामेरा घुमाउँदै थिए । सिँढीका खुड्किलाहरू ठाडै रहेछन् । पेनहिल जुत्ता र कसिला स्कर्ट लगाएका महिला सहभागीहरू निकै असजिलोसँग बल्लबल्ल उक्लिँदै थिए । झन्डै एक क्विन्टलको जीउडालकी कजाक युवती गुलगुल लुज फिटिङ्मा सिँढीपिच्छे स्वाँ स्वाँ गर्दै उँभो लाग्दै थिइन् । माल्दोभाली भेरोसिया उनको साथ लागेर हतेर्दै थिइन् । त्यति ठाडो खुड्किला चढ्नुपर्छ भन्ने कसैलाई हेक्का भएन छ । बिचरी हारा, क्रिस्टेटा, पास्कल, डान्सिल पनि छोटा कसिला स्कर्ट र सिन्के हिलजुत्ता लगाएर आएछन् । सबैको पछि लागेका माली ब्वाईले सिँडी चढ्दै गरेका महिलाको पछाडिबाट स्कर्टभित्र क्यामेराको फोकस पुर्‍याएर थाहा नपाउने गरी दनादन फोटो खिच्दै गएछन् । कतिले यादै गरेनछन् । कतिले चाल पाएर पनि वास्तै गरेनछन् । सिँढीको सिरानमा पुग्दा मात्र चाल पाएकी भेरोसियाले सिल्ली गुन्डा भनेर फ्रेन्च भाषामा माली ब्वाईलाई हप्काएकी थिइन् र निगालोको सिर्किनो टिपेर लखेटेकी थिइन् । कालो अनुहारमा सेता दाँत चम्काउँदै यताउति भाग्दै माली ब्वाईले हाँसेरै गाली पचाइरहे । उपनिवेशकालीन अदव देखाएर भेरोसियाप्रति विनम्र र मौन बनिरहे । सिँढी उक्लिसकेर एकछिन सुस्ताएपछि हामी पुराना किल्लाको किनारै किनार गोब्रे सल्लाहरूसँग लुकामारी खेल्दै तेर्सो लाग्यौँ । करबि १५-२० फिट अग्लो पर्खालको निश्चित दूरीमा ५०-६० जवान सैनिक अटाउने कलात्मक बुर्जाहरू रहेछन् । परपरबाट धावा बोल्न आएका शत्रुमाथि बुर्जाका साना झ्यालहरूबाट सजिलै तोप र बन्दुक ताक्न सकिन्थ्यो । बुर्जामाथि चढ्दै ओर्लदै पल्लोपट्टि देखिने विशाल सहर र त्यसभन्दा परको नीलो समुद्र हेर्दै गयौँ । घाम चर्को भए पनि ठाउँ शिखर भएकाले त्यति साह्रो गाह्रो लागेको थिएन । झर्को झन्झट महसुस भएको थिएन । एकाध घन्टाको अविरल यात्रापछि हामी हिँडेकै डाँडाको अर्को छेउपट्टि अनकन्टार भीरको डिलमा तुदु्रंग झुन्डिएको अनौठो रेस्टुराँ देखियो । मलाई भने पोखराको फूलबारी र बन्दीपुरका रसिोर्टहरूको सम्झना आयो । अस्टि्रया, हंगेरी, सर्बियातिर पनि यस्ता धराप पाराका रेस्टुराँ थुप्रै छन् भन्थे, युक्रेनका सहभागी मित्रले । केही डराउँदै, केही रमाउँदै रेस्टुराँको झ्यालबाट देखिने सुओन सहरको भरपूर दृश्यावलोकनसँगै भरपूर चियानास्ता पनि उदरस्थ गर्‍यौँ । चियापछि भने तुरुन्तै बाटो लागिहाल्यौँ । तीन-चार बुर्जा अझै बाँकी रहेछन् । अन्तिम बुर्जा निकै सुन्दर रहेछ । तीनैतिर रमणीय सहर अनि सुदूर उत्तरका हरिया पहाड, दक्षिण-पश्चिमका समुद्री शान्त लहरहरू हेर्दै बुर्जामाथि चढेर निकै बेर रमायौँ । त्यसपछि पनि बाटो ठाडै ओरालो रहेछ । भिरालो पहाडमा चिरेको पर्खाल अनि रचेको सिँढी अघि उक्लिँदाभन्दा पनि ठाडैजस्तो लाग्यो । घन्टौँ पैदल हिँड्दा थाकेका सहयात्रीहरू एकअर्कालाई समातेर गाह्रोसँग ओर्लने तरखरमा अल्छी पाइला अगाडि बढाउँदै थिए । यतिबेरचाहिँ सबैभन्दा अघि लागेका रहेछन, माली ब्वाई । बिहान सिँढी उक्लँदा पछाडिबाट स्कर्टभित्र क्यामेरा सोझ्याएका थिए । अहिले अगाडिबाट उही कर्तुत दोहोर्‍याएको देखेर महिलाहरू रिसाउँदै थिए । धुर्सुलको हाँगो भाँचेर उज्याउँदै भेरोसिया लखेट्न पुगिन् । माली ब्वाईले तत्काल कान समातिहाले । तैपनि, उनले छाडिनन् । उनको हातको क्यामेरा थुतेर ओमार कमारालाई दह्रो चालले घचेडिदिइन् । भिरालो पाखामा माली ब्वाई तलसम्म खुर्मुरिएर हुत्तिए । जीउज्यानका दरा मान्छे रहेछन् । लडिहालेनन् । घुम्दै, बटारिँद खुम्चिँदै गरेर कसो कसो अडिए । अनि, उल्टो उनै मरीमरी हाँस्न थाले । हाम्रो समूहमा त हाँसोको सीमै रहेन । घन्टौँ चर्को घाममा हिँडेर थाकेको जीउ हाँस्दाहाँस्दै फतक्कै गल्यो । अनि, सिढीँ किनारको गोब्रे सल्लाको सिँयालमा आराम गर्न ढलियो ।

१०-१५ मिनेटको थप विश्रामपछि सम्हालिएर बाटो लाग्यौँ । करबि एक किलोमिटर ओरालोका ठाडा सिढीँहरूमा घुँडा समाउँदै बामे सर्दै गरेर ओर्लदै गए, बिचरा मेडमहरू । फेदीमा अत्यन्त सफा, सुग्घर, सुन्दर पार्क रहेछ । झरना, तलाउ, रंगीचंगी फूल, वनस्पति र चराचुरुंगीहरूले जीवन्तता प्रदान गरेको त्यस पार्कमा विभिन्न उमेर समूहका सयौँ नरनारी खेल्दै, उफ्रँदै, जोडिँदै, घोरिँदै, बात मार्दै गरेका देखिन्थे । तलाउछेउकै फूलबारीमा परम्परागत भेषभूषामा सजिएका सुन्दर ठिटाठिटीको जोडीसँग २०-२२ जनाको समूह क्यामेरासँग खेल्दै थियो । चलचित्र सुटिङ्मा व्यस्त हो कि भन्ने लागेको थियो । विवाह गर्ने जोडी पो रहेछ । कोरयिन मौलिक भेषभूषामा सुसज्जित बेहुलाबेहुली, अभिभावक र पुरेत गरी २०-२२ जनाको समूह देखिन्थ्यो । हामी उत्सुकतापूर्वक त्यतै हेर्दै थियौँ । हाम्रा सहयात्री माली ब्वाई भने सिकार भेटेको चितुवाझैँ कुन सड्को बेहुलाबेहुलीको बीचमा पुगिसकेछन् । हेर्दाहेर्दै नवदम्पतीका हात समातेर हाँस्न थालेका देखिए । उनलाई त्यस्तो अवस्थामा देख्नेबित्तिकै पहिले त हामी सबै जना एक किसिमको डर-त्रासले हडबडायौँ र गाइडलाई गुहार्न पुग्यौँ । विवाह टोलीबाट केही प्रतिवाद, प्रतिकार, झैझञ्झट आइलाग्ने डरले सताइरहेथ्यो । तर, हाम्रो सोचाइ उल्टो हुन गएछ । विवाहको रमझममा व्यस्त जोडीको बीचमा अपरिचित कालो मान्छे एकाएक आइलाग्दा उनीहरू पनि तर्सिएछन् । के के न विघ्न आइलागेझैँ भएछ । उनीहरूले हाम्रा गाइडसँग भलाकुसारी गरेर कुरा बुझ्न खोजे । नराम्रो केही भएन । कोरयिनहरू पनि अचम्मै शान्त र रौसिया हुँदा रहेछन् । बेहुलाबेहुलीको हात समातेर गालामा लगाउँदै पालैपालो दुवैलाई अँगालो मार्दै माली ब्वाईले निर्धक्क फोटोहरू खिचाए । भिडियोमा लामो स्त्रिmन तयार भयो । हामीले पनि बेहुलाबेहुलीको बीचमा बसेका माली ब्वाईका धेरैथरी फोटो लियौँ, भिडियोमा कैद गर्‍यौँ । अनि, गाइडको सहायताले कोरयिन विवाहको तरकिा र रीतिरविाजको जानकारी लिएपछि सबैलाई धन्यवाद दियौँ । अनि, बेहुलाबेहुलीलाई बधाई र शुभकामना दिएर बिदा भयौँ । बाटोभरिलाई मसला भयो । बसयात्राभरि हाँसेको हाँस्यै भयौँ । पाँचवटी रानीका राजा माली ब्वाई छैटौँ रानीलाई भर्खरै वरण गरेको प्रचार गरेर फोटाहरू देखाउँदै थिए । बस यात्राभरि हल्ला र हाँसो चम्कियो । बाटो काटेको पत्तै भएन ।

बेलुकी सुओन सिटीका मेयरले नगरपालिकाको कार्यकक्षमा स्वागत सम्मानको आयोजना गरेका रहेछन् । परचिय आदानप्रदान भयो । सानोतिनो भाषण अनि उपहार लिनेदिने कार्यक्रमसहित भिडियोमार्फत नगरको प्रगति हेरियो । बेलुकी उनकै आतिथ्यमा ब्लुमुन होटलमा खानपिनका सहभागी बन्न पुग्यौँ ।

साधारण टिटबिट र पेयपछि खाना सुरु भयो । पचासौँ परिकारले सजिएको बफे टेबिलअगाडि लाइन लागेर खाना खाने ताउरमाउर गर्दै थियौँ । सिफुड, बिफजस्ता पदार्थ आफूलाई नचल्ने भएकाले अगाडि लागेर खैरो पाउरोटी, दूध, साग, सलाद र थोरै भात प्लेटमा पस्किएँ । लगत्तै पछाडि उभिएका माली ब्वाई भने प्रत्येक खाद्य परकिारका भाँडाहरूमा औँला डुबाएर दोहोर्‍याई तेहर्‍याई चाट्दै, चाख्तै गरेर प्लेटमा पस्किन लागेका रहेछन् । दसौँथरी त किम्ची (अचार) मात्रै थिए त्यहाँ । यसरी औँला चोबेर खाना चाट्दै र चाख्दै गरेको पछाडि लाइन लागेका अरू सहभागीलाई पनि मन परेको थिएन । तर, कसैले केही प्रतिवाद गरेन । सबै निस्पिmक्रीसँग आआफ्ना प्लेट सजाएर खान बसे । होटलमा खानपिन गर्न आएका अरू पर्यटक र स्टाफ पनि छक्क पर्दै उनको चर्तिकला हेरिरहेका थिए । अलि परको टेबलमाथि खाना खान लागेकी भेरोसिया उनको चालामाल हेर्दै आँखा तर्दै थिइन् । एउटै ग्राहकले तीन-तीनवटा प्लेटमा झुसी खाना लिएर बसेको देख्दा होटलका बेरा, मेनेजर, आगन्तुक सबै छक्क परेका थिए र अनौठो जन्तु देखेझैँ गर्दै थिए । ओमारले आफ्नो प्लेटका सबै परिकार अलिअलि चाखे अनि हुत्त लम्किँदै मेरो भागमा हात हाले । अनि, एक गाँस साग झिकेर चपाउन थाले । म झटपट खाना बन्द गरेर अचम्म मान्दै अकमक्क परिरहेँ । बेला कुबेला शरीरका ठाउँ कुठाउँ कन्याइरहने, नाक कोट्याइरहने, कानमा औँला घुसाइरहने कमारा मेरा लागि पहिलेदेखि नै घीनलाग्दा पात्र थिए । अहिले ग्वाम्म जुठो हात गाडेर आफ्नो भागको साग खाइदिँदा मलाई भने दिगमिग लागेर बसिसक्नु भएन । मनमा अनेक तर्क चले । जुठो हालेको खाना खाऊँ, कसरी खाऊँ! नखाऊँ, कोरयिामा खाना खेर फाल्ने व्यक्तिलाई असभ्य सम्झिएर घृणा गर्ने र हेयको दृष्टिले हेर्ने चलन रहेछ । म निकै बेर अलमल्ल परिरहेँ ।

टाढैबाट यो दृश्य हेरिरहेकी भेरोसिया खाँदाखाँदै चट्ट छाडेर मेरो सामु आइपुगिन् अनि रसिले चूर भएर माली ब्वाईलाई हप्काउँदै मेरो अगाडिको जुठो भाग आफैँले पन्छाइदिइन् । उनी मेरा लागि अर्को भाग ल्याइदिन खोज्दै थिइन् । मैले उनलाई रोक्तै आफैँ गएर खैरो पाउरोटी र जाम मात्र पस्किएँ । अनि, सुरक्षित खानपानका लागि भेरोसियाकै टेबल सजाउन पुगेँ । खाना खाँदै गरेका अरू ग्राहक-पाहुना भने उनीतिरै हेरिरहेका थिए । तर, माली ब्वाई यी कुराबाट बेखबर सबैलाई हँसाउने प्रयत्नमा मग्न थिए । हामीलाई लाग्थ्यो, उनी आफू जोकर भएर अरूलाई मनोरञ्जन दिइरहेछन्, जानी जानी ।

अंक: ५६३
२०७० भाद्र ३०
Sep 15, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *