अलिकति
लालित्य चोरेर मिर्मिरेको
दिनभर हाँस्छे ऊ घामसँगै
समय यात्रामा ।
अलिकति फूलको रङ,
अलिकति जुनको रुप
चोरेर निदाउँछ उसको सपना –
इन्द्रेनी आँखामा ।
अलिकति प्रेम
अलिकति सहिष्णुता र सुवास चोरेर – माटोको
उद्घाटित हुन्छ यो जीवन सौन्दर्य –
कुरुपताहरूमा ।
यद्यपि
अलिकति पाप,
अलिकति पीडा र
अलिकति प्यास चोरेर- मान्छेका कुरुपताहरूको
फुलिरहन्छ कालो फूल –
शब्दातित सम्झनाका चिहानहरूमा ।
मनभित्र तिउरीका फूलहरू फुलाउँदै
ऊ यसरी मुस्काइरहन्छे,
सायद
अप्राप्तिमय प्राप्तिहरू छन् – दु:खमा
या हरदम दुखिरहने
मनहरूमा या मनमन्दिरहरूमा ।
अलिकति जीत,
अलिकति हार
अलिकति अलिकति स्पन्दन थपेर जीवनका इट्टाहरूमा-
असाध्य खुसी र सृजनशीलता
प्रदर्शन गर्छे ऊ ।
म पनि चराहरूको गति चोरेर
रुख झैं
निश्चल उभिइरहन्छु ऊसित
र हाम्रो आन्दोलन या
यो माटोमा वीजको आन्दोलन
समयको मृत्यु नभएसम्म
जारिरहन्छ ।
सँगै छौं हामी :
म अर्थात लाटो दमाईं
र कविता अर्थात काइँली दमिनी ।
लामो बाटो
हिंडिरहेछौं केवल ऊ र म
अलिकति अलिकति
प्रेम जोडेर मुटुका भित्ताहरूमा ।
