नन्दलाल आचार्य समाजवादी–यथार्थवादी साहित्यिक धारामा कलम चलाउने सशक्त प्रतिभा हुन् । त्याग र बलिदानको उच्चत्तम कीर्तिमानीहरू मध्ये कवि कृष्ण सेन ‘इच्छुक’ को सहादत एक परिघटना हो । त्यही प्रतिनिधिमूलक परिघटनालाई आचार्यले नाटकीकरण गरेका छन् ।
शासक–प्रशाकहरूका हजारौं जोर–जुलुमहरूको निरन्तर बेवास्ता गर्दै यहाँ क्रान्तिकारीहरूको सही परिचय दिइएको छ । यहाँ क्रन्तिकारीहरू सतिसाल हुन्छन्, उनीहरू त स्पातले बनेका मान्छे हुन् भन्ने भाव व्यक्त गरिएको छ । यहाँ प्रस्तुत गरिएको विचारले राष्ट्रिय स्वाभिमानको शिखर चुमेको छ भने क्रान्तिकारी आशावादको भावलाई परिपाकमा पुर्याइएको छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई दुत्कार्नसम्म दुत्कारिएको छ ।
बारम्बार असफल प्रयास दोहोर्याइरहने प्रतिक्रियावादीरूको मुखुण्डो उघारिएको यस नाटकमा सच्चा क्रान्तिकारीहरू मृत्युलाई सहर्ष स्वीकार्न तयार हुन्छन् तर जनताको गद्दार बन्न कदापि तयार हुँदैनन् भन्ने कुरालाई यहाँ मर्मस्पर्शी ढङ्गले व्यक्त भएको छ । त्यस्तै, प्रतिक्रियावादी वर्गभित्र पनि जनतालाई माया गर्नेहरू रहेका हुन्छन् अनि क्रान्तिकारी वर्गभित्र पनि प्रतिक्रियावादी चरित्र बोकेका मानिसहरू हुन सक्छन् भन्ने कुरा पनि प्रस्तुत गरिएको छ । साथै, जनताको हत्या गरेर प्रमोसन हुने प्रतिक्रियावादी परम्परालाई पनि यहाँ नङ्ग्याइएको छ ।
आचार्यको यस नाटकले एक दशकको महान् जनयुद्ध र त्यसले उघारेको संसारको नवीन क्षितिजको उद्घाटन तथा मालेमावाद र प्रचण्डपथीय आलोकमा सहिदी संस्कृतिको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको तथ्यलाई विर्सन सकिँदैन ।
खेम थपलिया
दिवङ्गत सर्जक घनश्याम ढकालको संयोजकत्वमा निर्माण गरिएको १०१०+२० पृष्ठको ‘माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य’ नामक बृहत् सौन्दर्यशास्त्र/समालोचना विधाको ग्रन्थबाट
(पृ.८७५ र ८७६)
