उद्घोषक : (चट्याङ कराउदैछ……) वर्षात वर्षात निरन्तर वर्सिरहन्छ । आज ३ दिन भयो पानी निरन्तर परिरहेको । नजिकैको रानीखोला उर्लेर आएको छ । बर्षायामको लगि भनेर थापेको साँगो पनि बगाएर लगेछ । खोला नजिकै मोहन माझीको गाइगोठ थियो । पहिरोले बगाएर लगेछ । वर्षातको समयमा रुबिना घुम ओढेर प्रतिकको घरतिर उक्लिँदैछे ।
दृश्य एक
स्थान : प्रतिकको पिँढीमा
समय : विहानको ९ बजे
पात्र : रुबिना र प्रतिक
रुबिना : (बोलाएको स्वरमा) प्रतिक …..ए प्रतिक
प्रतिक : मनमनै (ए….. रुबिना पो आएछ) आँए आँए । के भो यति बिहानै किन आको ?
रुबिना : ल हेर (प्रतिक हाई गर्दै हुन्छ ) अहिलेसम्म सुतिराको पो रैछ । स्कुल जाने समय भइसक्यो ।
प्रतिक : (घडी हेर्दै ) ओहो । हो त रैछ । रातभरिको झरी र चट्याङले निन्दै्र लाग्या थिएन, त्यसैले आज अलि बढी सुतेछु ।
(एकछिनपछि) अनि… यो स्कुल जाने टाइममा किन नि तिमी याँतिर ?
रुबिना : आज स्कुल नजाने ।
प्रतिक : किन ?
रुबिना : त्यो रानीखोला उर्लेर कम्ता ठूलो भा छ, तँलाई के था ? अनि साँगो पनि बगाएछ ।
प्रतिक : ए हो र ? यो पानीले नि गर्नु गर्यो ।
रुबिना : अनि छ नि ….. त्यो मोहन काकाको गाइगोठ पनि गाइबस्तुसँगै बगाएछ ।
प्रतिक : (चुचुकाउदै) चु…चु….. बिचरा । हैन यो पहिरो चाहि कसरी आउदो रैछ हँ ?
रुबिना : ल पहिरो त भारी बर्षा हुँदा माटो कमजोर भएर जान्छ नि ।
लौ हिँड बिमालको घरमा पनि जानुछ । त्यसलाई नि आज स्कुल जान साँगो बगाएको छ भन्नुछ ।
प्रतिक : लौ लौ त्यँही कुराकानी गरौँला । पख् है म छाता लिएर आउछु ।
दृश्य २
स्थान : बिमालाको घरको पिँढी
समय : विहानको ९ः१५
पात्र : बिमला, रुबिना, प्रतिक
( मधुर धुन बज्दै छ )
बिमला : भारी वर्षा मात्र होइन । कमजोर भूबनोट, भिरालो जमिन भएर पनि पहिरो जान्छ ।
प्रतिक : हो र ? अनि भुइचालो जाँदा पनि पहिरो जान्छ रे होइन ?
रुबिना : हो नि प्रतिक । त्यस्तै बनबिनाश, बेढंगको रोड र घर निर्माणले गर्दा पनि पहिरो जान्छ ।
प्रतिक : अनि यस्तो पहिरोको रोकथाम गर्न सकिन्छ होला नि?
बिमला : पहिरो रोकथाम गर्न पूर्वतयारी गर्न सकिन्छ ।
प्रतिक : जस्तै ?
रुबिना : म भनौँ बिमला ?
बिमला : भैहाल्छ नि रुबिना ।
रुबिना : जस्तै : कुलो सफा गर्ने, डिल र कान्लाहरूमा बोटबिरुवा लगाउने, नाङ्गा भिरहरूमा वृक्षारोपन गर्ने आदि ।
प्रतिक : अब देखि हाम्रो गाउँमा पनि पहिरो रोकथाम गर्न वृक्षारोपन गर्नुपर्यो । म बाबालाई भनेर त्यो पारिपट्टिको खोलाछेउको खाली बारीमा रुख रोप्नुस् भन्छु ।
बिमला : अनि त काँ जान्छ नि पहिरो होइन त ?
रुबिना : (हाँस्दै ) सबैले त्यसै गरे त साँच्चै पहिरो जाँदैन ।
(कुराकानी निरन्तर चल्दै हुन्छ । आवाज मलिन हुदै जान्छ । )
