भताभुङ्ग म ! भताभुङ्ग म ! भताभुङ्ग म !
लथालिङ्ग म ! लथालिङ्ग म ! लथालिङ्ग म !
छरपस्ट म ! छरपस्ट म ! छरपस्ट म !
अद्येह श्रीमद्हाउडी पुराणस्य
सिंहदरबार, मन्त्री क्वाटर तथा
श्री १००८ पार्टी कार्यालयस्य
घुमाउने कुर्सीमा फोका उठुन्जेल बसित्वा
पाँच तारे होटेल, मोटेल तथा रिसोर्ट–मैनेजरस्य
आज्ञाद्वारा
सात समुद्रपारिबाट आयातस्य
रेड लेबल, ब्ल्याक लेबल, ग्रिन लेबल
आदि इत्यादिना सह देशस्य बजेट म
छादुन्जेल/पादुन्जेल हसुरिणो;
सत्ते, त्रेता, द्वापर कलि जुँगानांमध्ये
नक्कली जुँगे,
संबिधानसभा चुनाबस्य
द्वितीय चरणे,
तस्य नाटकीकरण कार्येषु
पच्चिस तीस अरब जति कटकटिया
स्वाहा पारिणो,
धूर्तावतारे,
तिब्बतस्य दक्षिणे, भारतस्य उत्तरे,
नेपाल एकीकरणस्य पूर्वे,
यो नेपाल दुई ढुङ्गाको तरुल हो,
बोटै चैं न इट है
तेस्किमा जन्तरे, मन्तरे, खन्तरे ! लखन्तरे हो !
भनेको कुरालाई वास्तै नगरी
भइसक्न आँटेको युष्माक म देशस्य
पहिचान सहितस्य जातीय राज्यस्य
चाप्लुसी जिल्ला, चुसाहा गाविसस्य
बडा नं. चारसए बिस, तेरा कुरा इस नाम स्थाने,
वाग्मती, विष्णुमती, टुकुचा इति
अति पवित्र दक्षिण-आधुनिक नदी समीपे;
भट्टी नाम पुण्यभूमौ,
पैसाले टन्न माती विदेश घुमौ;
प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्र, गणतन्त्रादि
अनेक तन्त्राणांमध्ये
अर्थतन्त्रेषु मनपरि तन्त्रे;
भर्खरका तरुनीहरू देख्नासाथ
भुतुक्क मन कल्पे;
द्वितीय पटकस्य संबिधान सभा निर्वाचन कार्येषु
उनै दुधमा पल्किएका
षट्शतैक (६०१) संवत्सराणांमध्ये
बाधा अड्काउ फुकाउ,
देशको सम्पत्ति लुकाउ नाम संवत्सरे;
नोट मासे, भोट पक्षे, होड वासरे,
सोझा जनता झुक्यायाम्,
स्वार्थी नेतानेती मिली
राजनीतिमा पोलिटिक्स घुसाया म तिथौ;
तथा च
भोट हारेका रन्काले रल्लु भई गल्लीमा लड्या बेला
काली कुत्तिम्ले मुखमा मुतौ,
अद्येह
गुलाफ राशिस्थिते किशोरिणः
मिथुन राशिस्थिते किशोराश्च,
ढाल योगे, यदाकदा जबर्जस्ती करणे च;
अस्माक म देशस्य अङ्सबन्डाया म
लौ खालो सार गोत्रस्य
बाबु उत्तर आमा दक्षिणस्य,
नेपाल भक्षणस्य,
ताक्परे तिवारी नत्र गोतामे इति त्रि प्रवरस्य,
उहिलेको चार जात र छत्तिस वर्णलाई
अहिले
चार सए जात र छत्तिस सए वर्णमा
रूपान्तरणकार्येषु कटिबद्धस्य
नयाँ नेपालस्य
मान्छे एक दल अनेकस्य
धूर्तबहादुर शर्मा बिहारी नामस्य
अहं, मम
इमा म पूर्व–पश्चि म लमतन्नाम्,
पितापुर्खाले ठुलो दुख गरी निर्मिता म कन्याम्;
नागरिकता एताय,
स्थायी बासिन्दा उताय,
ह्लासा एव म काशी गोत्राय
त्वंशरणं पाउपरणं नाम एक जोडी वराय,
फोरेन–कन्ट्री घराय,
दुवैले बाँडीचुँडी खानू
भन्ने बोल कबोल बन्दबस्तानुसारेण
हाम्रा मनोमान राजीखुसी साथ
औँठा छाप चिन्न म धसित्वा
सत्तामा बसित्वा
भुसुक्क दानत्वेन
युवाभ्या म वयं सम्प्रदद्महे ।
तत् असत् न मम ।
