बर्बोटेभित्रको गाऊँ तोरिबारी प्रसिद्ध छ,
त्यहीं नै जन्मिएँ हुर्कें के इलामे म हैन र ?
रामकान्त त्यहीं जन्मे डिल्लिराम पनि त्यहीं,
पिता राम त्यहींका हुन् के इलामे म हैन र ?
मैले पढें चुरेघाँटी टीकाराम थिए गुरु, के इलामे म हैन र ?
त्यो जान्ने थोर छन् आज के इलामे म हैन र ?
काशीनाथ र गायत्री जान्दथे गुरु नारद,
परंधाम पुगेका छन् के इलामे म हैन र ?
मलाई चिन्दछन् वृक्ष खोला नाला सबै तर,
नचिन्दा व्यक्तिले आज के इलामे म हैन र ?
सारा जङ्गल बक्नेथ्यो इलामे हो भनीकन,
काटिए बेचिए देख्ने के इलामे म हैन र ?
चिर्बिच्र्यार्र गरी बोल्ने गौंथली प्रस्ट चिन्दथे
सन्तान मासियो तिन्को के इलामे म हैन र ?
झुप्रामा जन्म भो मेरो त्यहीं नै म बढें पनि,
ठुला महलका मात्र इलामे हुन् ? म हैन र ?
थिएँ भर्खरको लक्का जवान मत्यहाँ छँदा,
वसन्त सत्तरी काटें के इलामे म हैन र ?
घ्वाँईं डन्डिबियो खेल्ने गोरेटा धुलितस्थल,
पिचले थिचिएका छन् के इलामे म हैन र ?
ऐंसेलू क्यामुनू चुथ्रो मेरा बाल्य सखा सब,
कहाँ गए भेतिदैनन् के इलामे म हैन र ?
बिहेमा बज्दथ्यो पन्चैबाजा रन्की यतस्तत,
अहिले डर्रड्रं हुन्छ के इलामे म हैन र ?
पूजाआजा हुँदा जम्थ्यो लोकगित र बालुन,
रिमिक्स् भा’छन् सबै आज के इलामे म हैन र ?
श्रुतिस्मृति यही भन्छ वसुधैव कुटुम्बक म
झापामै वास मेरो छ के इलामे म हैन र ?
इलामे लाममा नाम लेखिएन भने पनि
आमा इलाम हुन् मेरी के इलामे म हैन र ?
