मेरो नाकसम्मको दूरी राम्ररी ठम्याउन नसकेर होला उसको बायाँ हात मेरो चश्मामा अल्झिन पुग्यो । म उसको अप्रत्याशित ‘आक्रमण’ बाट झस्कें । चश्मालाई नाकको सहारा दिएपछि ऊतिर हेरें । ‘कस्तो लाग्यो त -‘ मेरो बायाँ सिटमा रहेको उसका आँखाले सोधिरहेका थिए ।
मैले सानैमा पढेको थिएँ- कसै कसैका आँखा पनि कुरा गर्छन् । आज उसलाई देखेर विश्वास लाग्यो । गोरो बाटुलो अनुहारमा ठूल-ठूला आँखा जो बोलिरहेका थिए । तिनको बोलाइले अनुहारमा एक किसिमको चञ्चलता पैदा गरिरहेको थियो ।
मेरो कान समाउने प्रयास गरिरहेको ऊतिर फेरि हेरंे । लगभग एक वर्षो होला । निधारमा कालो गाजलको टीका अनि सुलुत्त परेको टाउकोमा घुम्रे कपाल । त्यसमाथि उर्लदो चञ्चलता । त्यो देखेर म रमाएँ ।
लामो समयपछि दसैंका लागि जन्मथलो नेपालगन्ज जाँदै थिएँ । ‘अब्बा बा ।’ उसका दुवै हात मतिर तन्किएका थिए, मेरो चश्मा अथवा नाकमाथि आक्रमण गर्न । मैले टाउको पछाडि सार्दै जिस्क्याएँ । ऊ आमाको काखबाटै मच्चिन थाल्यो ।
मलाई सानैमा पढेको ‘मेरो सानु साथी’ कथाको सम्झना आयो । म पनि आँखा र आँखीभौं सन्काउँदै जिस्किन थालें । आमाचाहिँ आँखा चिम्लेर बसेकी थिइन् ।
बसका लगभग सबै यात्रु चुपचाप थिए । कोही झ्यालबाट बाहिरको दृश्य हेर्दै थिए त कोही कोही आँखा चिम्लेर निदाउने कोसिस गर्दै थिए । जंगलको बीचबाट कालो सडकको छाती चिर्दै बस एक तमासले हुइँकिँदै थियो । ‘ऐया’ मैले चिच्याहटलाई रोक्न सकिनँ । मेरो बायाँ कान उसको दाहिने मुठ्ठीमा थियो । सानैमा बिठ्याइँ गर्दा शिक्षकले कान तानेभन्दा बढी पीडा भयो मलाई । मेरो चिच्याहटबाट जागेकी उसकी आमाले हत्त न पत्त उसलाई सम्हालिन् । मतिर फर्केका उनका आँखामा क्षमा मागेको मैले प्रस्टै बुझें । मेरो पीडा र आफ्नी आमाको संकोचलाई उसको मुखबाट निस्केको खित्कासहितको हाँसोले ढाक्यो । उसका आँखा ‘बल्ल खाइस्’ को शैलीमा मतिर सोझिए ।
आमाले बायाँ गोडालाई सिटमाथि खुम्च्याएर उसलाई काखमा राखेपछि साडीको सप्कोले उसको अनुहार ढाकिन् । ऊ अमृतपान गर्दै आफ्नो भोक मेटाउन थाल्यो । अनुहार ढाकिएको भए पनि उसका हात मतिर तन्किन छाडेनन् ।
बस जंगलकै बीचमा थियो । विपरीत दिशाबाट उत्तिकै गतिमा आउने गाडीले हाम्रो बस नजिकैबाट हुइँकिएर पार हुँदाको खस्रो शब्दले भित्रको निस्तब्धतालाई बिथोल्ने गथ्र्यो ।
‘पी पी’ बसको आवाजले मेरो ध्यान भङ्ग भयो । सुनसान बाटोमा दुई अपरिचित वाहन भेटिँदा यस्तो आवाज बजाएर ती अभिवादन साटासाट गर्थे । मैले आफ्नो आँखा फेरि ऊतिर लगे उसले एक्कासि आफ्नो दाहिने हातले साडीको सप्कोलाई हटाउँदै मतिर हेर्यो । आमाले उसलाई बलपूर्वक घुम्टो ओढाइन् । एकैछिनपछि फेरि हेरेर हाँस्यो ।
उसको बोली नफुटेको भए पनि हामी वार्तालापमा व्यस्त थियौं । इमानदारीपूर्वक भन्ने हो भने मूक वार्तामा ऊ मभन्दा निकै अघि थियो । ऊ आँखा र आँखीभौं सन्काउँदै मुखबाट अस्पष्ट आवाज निकालेर बोल्ने प्रयास गथ्र्यो ।
उसले मेरो नाम, काम र घर सबै आफ्नो भाषामा सोधिसकेको थियो । मैले पो बताउन सकेको थिइनँ । हामीबीच नजानिदो साइनो गाँसिएको थियो । मैले ‘मेरो सानु साथी’ पाठको अन्त्यलाई सम्झें । त्यसमा बालक र मजस्तै पात्र छुट्टिंदाको स्थिति सम्झँदा म भावनामा बग्छु । मलाई एक्कासि डर लागेर आयो । यो बालक पनि त्यही पाठमा जस्तै छुट्टिने बेला रोयो भने के होला?
मलाई लाग्यो ‘मेरो सानु साथी’ को कथा पुनः दोहोरिँदै छ । हे भगवान् ! हामी अहिले कुनै लेखकको कल्पनाको इसारामा नाचिरहेका छौँ भने यो कथाको अन्त्य त्यस्तै नहोस् । किनभने सानैमा त्यो कथा पढेपछि धेरै बेरसम्म मैले आँसु थाम्न सकेको थिइनँ । हामी छुट्टँिदा यो बालक पनि त्यस्तै रोयो भने म के
गरुँला – त्यो कथामा उल्लेख गरिएको व्यक्तिले झैं बालकलाई फकाएर बिदा हुनेे आँट ममा छैन । अहिले पनि सम्झँदा मलाई त्यो कथा नभएर वास्तविकता भएझैं लाग्छ ।
अन्त्य त यो कथाको पनि हुने छ । नेपालगन्ज आइपुगेपछि हामी छुट्टिने पक्का छ । अनि कस्तो अन्त्य त – मैले आफ्नो दायाँ चोरीऔंलामा हलुका दबाब अनुभव गरें । ऊ मेरो औंला मुखमा राखेर दाँतरहित गिंजाबाट टोक्ने प्रयास गर्दै थियो । केहीबेरको प्रयासपछि ऊ मेरो काखमा आउन खोज्यो । निदाएकी आमाले चाल नपाएपछि मैले उसलाई बोकें । मैले राम्ररी बोक्न नपाउँदै कोहलपुर आइपुगेको बसले चोक घुम्ने क्रममा हाम्रो सन्तुलन पनि बिग्रियो । आमाले बच्चालाई मेरो काखबाट खोसिन् । यात्रुहरू गन्तव्यस्थलका लागि आफूलाई तयार पार्दै थिए । अब केही बेरमै नेपालगन्ज आउनेछ, अनि हामी छुट्टनिुपर्नेछ । त्यतिबेला यो बालक पनि त्यही कथामा जस्तै रोएँ म के गरुँला –
मैले बालकलाई हेरें । बस भित्रका यात्रुको गतिविधिमा आएको परिवर्तनबाट ऊ अलि आर्श्चर्यमा परें पनि उसको अनुहारको चञ्चलतामा कुनै कमी आएको थिएन । फेरि मतर्फहेर्यो र दुवै हात पसार्यो । मलाई बालकलाई आमाबाट खोसेर एकैछिन बोकौँ जस्तो लाग्यो । तर सकिनँ ।
बसपार्कको गेट देखिनासाथ मन दरिलो पार्ने निधो गरे । यात्रु ओर्लन थाले । उसलाई उचालेर आमाचाहिँ ओर्लिनँ । म पनि ओर्लें । उनी एउटा रिक्सासामु पुगेर भाडा निर्धारण गर्न थालिन् । बालकले टाउको उचालेर मलाई हेर्ने प्रयास गरिरहेको थियो । मैले मन कडा पारेर उनीहरू भएतिर हेर्दा आमाचाहिं उसलाई काखमा राखेर रिक्सामा बसिसकेकी थिइन् । मलाई बालकले मुख बिगारेजस्तो लाग्यो । मैले सानो साथीलाई हेरिरहें । ऊ अझ मतिर हेर्दै थियो । एक्कासि ऊ दुवै हात तल-माथि पारेर हल्लाउँदै आफ्नो भाषामा बोल्यो । म त उसको रुवाइको पर्खाइमा थिए । कति बेला रोला र एकैछिन बोकेर सम्झाउला भन्ने सोचाइले हेर्दै थिए । एक्कासि मेरा आँखाले उनीहरूलाई धमिलो देख्न थाल्यो । अहो! आँसु त मेरो आँखामा पो आएको रहेछ ।
रिक्सा बिस्तारै गुड्न थालिसकेको थियो । त्यतिबेलासम्म मेरा आँखाबाट आँसुको भेल बगिसकेको थियो । ऊ बेलाबेला मतिर हेर्ने प्रयास गर्दै थियो । वास्तवमा हामी अहिले कुनै लेखकको कल्पनालाई मूर्तरूप दिइरहेका थियौँ । तर कथाको अन्त्य उल्टो भयो । सम्झाउनुपर्ने त मलाई पो भएको रहेछ । आँसुमा भिजिसकेका मेरा आँखा अगाडिको संसार पूरै धमिलो भइसकेको थियो । ‘तपाईं जाने हो?’ आवाज आएतर्फहेरें । रिक्साको ह्यान्डिल समाएर उभिएका एक चालक सोध्दै थिए ।
