Skip to content

यता पनि दुखेको छ उता पनि दुखेको छ


यसै बूढी भइसकें
आकर्षण भनेको त्यही सेतो कपाल थियो
थाप्लाको सेतै फुलेको कपाल पनि
संसारभरिका लाउकेहरूले ढौंटरी मार्दैमा
खाल्टा खाल्टा भएर झरिसक्यो
रोगले काखीमुनिको भाग नचल्ने गरिसक्यो ।
सर्वाङ्गमा भयानक रोग सरिसक्यो ।
पाइताला झम झम पोलेको छ
गरिखाने मेलोलाई रोगले बिथोलेको छ ।
मानौ मेरो मुटु नै चल्न छाडिसक्यो
रोगले सर्बत्र जरा गाडिसक्यो
थाप्लामा सायद उच्चरक्तचापले
थाप्लाको सेतो कपाल पनि झरिसक्यो
अब माथिल्लो भागको कुरै भएन
मानौं अब मेरो अस्तित्व नै रहेन
शरीरको तल्लो भागको सम्वेदनशीतामा
उहिल्यैदेखि शत्रुले बलात्कार गरिरहेको छ
पानीको रुपमा
रगतको खोलो उतै बगिरहेको छ
मेरो वक्षस्थलमा अब केहिरहेन
लाम्टाहरू झोल्लिएका छन्
आमाको अनुहार मुजैमुजा परेको देखेर
सन्तानहरू बिथोलिएका छन्
सन्तानहरू ममताको स्तनपान नपाएर
निचोरिएको कागती झैं निचोरिएका छन् ।
पल्लोघरले पालेका र
उसैले पठाएका दुम्सीहरूले बारी पनि खोस्रिसक्यो
उब्जनीको कुरै भएन
खेतको रोपेको अन्न पनि यसै बाली नै नलागि फोस्रिसक्यो
बुढी भए पनि मेरो अस्मितामा धावा आएको छ
परबाट आँ गरेर सुरसाले मुख बाएको छ

मेरो ता पक्षाघात भएको छ
कम्मर मुनि नचल्ने भएको छ ।
थल्लिएकी छु, रल्लिएक्री छु
सारै नै अलल्लिएकी छु

कता कता मात्र भनूँ
सारा शरीर दुखेको छ
पोल्नु पोलेको छ
उहिल्यैदेखि थला परेकी हुँ
शरीर भरि छिया छिया परेको छ
पैताला भरि चिरा चिरा परेको छ
एक सय चार वर्खेहरूले पनि छाला काडेकै हुन्
माथि माथि टाउको पनि दुखेको छ
तल छाती र कम्मर पनि दुखेकै छ
यता पैताला पनि झम्झमाएकै छ
यता छोपारी परेर पिडुँला पनि
खपिनसक्नु गरी दुःखेको छ
कता मात्र भनुँ
सर्वाङ्ग थङ्थिलिएको छ
मानौं शरीर भरिको रोग फैलिएको छ
कतै पनि ऊ बन्धनमा छैन
यो कुनै गन्थन होइन
मेरो शरीरमा नदुखेको ठाउँ नै छैन ।

अब ता म पूरै थला परिसकेकी छु
बाँचौंला भन्ने आशाबाट पर सरिसकेकी छु
जीवन यति नै हो भनिसकेकी छु
सपलताको कुरै रहेन
जीवनका पला गनिसकेको छु
यताबाट चोक्टा लुछेका छन्
उताबाट लाम्टा निचोरेका छन्
कुलाङ्गारहरूले शरीरभरि चिथोरिसकेका छन्
बूढी भएर के गर्छौ र बाबु हो
रात दिन जसो
सीमाना पारिबाट आएका भुस्तिघ्रेहरूले
तिम्री आमालाई
बलात्कार गरिरहेका छन् गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *