Skip to content

शयनः नागपरिवारसँग


मान्छेहरूका रोमाञ्चक घटनाहरूको अध्ययन गर्न मलाई अहिले औधी मन पर्छ । मृत्युका मुखैबाट बचेका कतिपय घटनाहरू कसैले सुनाउँदा म अहिले पनि रोमाञ्चित हुने गर्छु । अँझ कसैका अनुभवहरू ता केही दिन र केही क्षण मृत्युका मुखमा मात्र नभई मृत्युका घरघरानमै पुगेर फर्किएको पनि सुनिएको छ । पढिएको पनि छ । यस्ता मृत्युवाट बाँचेर फर्किएका वा यो जस्तै उदेक लाग्दा अनेक थरीका यस्तै रोमाञ्चक कथा र घटनाहरू अनि यात्राका प्रसङ्गहरू पढ्न मन लाग्ने गर्छ कहिलेकाहीं । भेटिएका खण्डमा सासै नरोकी पढ्छु, यस्तै बानी छ ।

भर्खरको कुरा हो । मैले विचार गरें आफैंसँग पनि छैनन् यस्ता रोमाञ्चक घटनाहरू ! कति अर्काका मात्र पढिरहने ! यस्तै सम्झें अनि सम्झन थालें र चहार्न थालें आफ्नै इतिहासका कुनाकन्दराहरूतिर । सम्झन सकिने जति केही रोमाञ्चकारी लाग्न सक्ने कुराहरू केलाएर निफनेर छिन्किएर निकाल्दा खेरि मेरै पनि केही रोमाञ्चक घटनाहरू रहेछन् । म गन्न थालें तिनलाई एकएक गरेर । आ, यी कुरा कसले पत्याउला ? एक मन यस्तो पनि भो । नपत्याए नपत्याओस्, पत्याउनै पर्ने के पनि छ र ? मेरा अर्का मनले सोच्यो । मेरै जीवनमा पनि यस्ता रोचक घटनाहरू मनग्गे रहेछन् अनि एक दुईओटा मात्र भए पनि किन नकोट्याउने ? किन नसुनाउने अरुलाई ? यस्तो लाग्यो । मृत्युका मुखबाट बचेका एक दुईओटा रोमाञ्चक घटनाहरू मसँग पनिरहेछन् । अनि कति अरुका मात्र म पढिरहूँ ? मेरा पनि ता केहिरहेछन् । मेरा जीवनमा घटेका घटनाहरू अरुले पढ्नै हुँदैन भन्ने ता छैन होला । मैले सोचें । फेरि लेखिएका कुरा सबै पहिइहाल्लान् भन्ने पनि कहाँ छ र ? फेरि सोचें । मेरा जीवनका आफ्ना घटनाहरूलाई चाहिं पढ्नुहुन्न अरु कसैले ? यो सोचेर कम्प्युटरका अघि लेख्न बसें अनि खोतलखातल गर्दै पसें आफ्नै इतिहासका कुनाकन्दरातिर ।

यो ता बिर्सिसकेको पो रहेछु । लगभग पैंतिस वर्षअघिको घटना । त्यो घटना सम्झँदा मलाई अहिले पनि सिरिङ्ग हुन्छ आङ । खै के भन्ने, जिउ नै जिरिङ्ग हुन्छ । किन नहोस् पनि सिरिङ्ग ! म उति बेला कालिम्पोङमा पढ्न बसेको थिएँ । १९६८ सालको दार्जिलिङ कालिम्पोङको महाविनासकारी बाढी पैरोको अलिकतिले मात्रले सिकार हुनबाट रोकिएको मान्छे हुँ म । त्यो मान्छे म अहिलेसम्म छँदै छु । त्यो कुरा उहिल्यै मधुपर्कले प्रकाशित गरिसकेको छ– बिर्सनै नसकिने स्तम्भमा । अब त्यस यताका यस्तै नाना थरीका घटनाहरू सम्झन थालें । सम्झँदै थिएँ, सम्झँदै जाँदा एउटा गतिलो घटना अघि आयो सर्पसँग सुुतेको । यो चाहिं केही रोचक होला भनेर मैले ठानें । हुनता आजको दुनियाँमा रोचक र अरोचक भनेको नै के रहेको छ र ? तथापि मेरा जीवनका लागि र यसको इतिहासमा यो पनि रोमाञ्चक नै हुन सक्छ भन्ने ठानेको छु ।

डेरा थियो ओमबहालको कुनै एक खड्गीको घरमा । यसो बुझ्दा खड्गीको घरमा डेरा बस्नुले मेरा लागि केही फाइदा र केही बेफाइदा पनि भएका रहेछन् । खड्गीका घरको पानी चल्दो रहेनछ तर दूध भने चल्दो रहेछ । तिनै खड्गीको पुरानो घरका पाचौं तलामा बस्थ्यौं हामी केही मित्रहरू । सबै लाखापाखा लागिसकेपछि डेरामा म एक्लै बस्न थालेको थिएँ । मेरो त्यो एक्लो बसाइ पनि ६ महिनाभन्दा पनि बढी भइसकेको थियो । म स्नातकको अध्ययन क्रममा थिएँ । मेरा साथमा बसेका साथीहरू र मेरा दाजुहरू समेत केही अघि नै जागिर खान उपत्यकाबाट बाहिरतिर सरिसकेका थिए । आजको जस्तो जागिर खान उपत्यकालाई मात्र छान्ने चलन आइसकेको थिएन । म जगदम्बा प्रेसमा प्रुफरिडर भएर पेट पाल्दै अध्ययन गर्दैथें ।

यो सबै कुरालाई बढी भनेको मान्न्नु पर्दैन । अब म जे लेख्तै छु त्यो कुनै काल्पनिक हो भन्ने नठाने हुन्छ । यसलाई गलत भनेको मान्नु हुन्न भने मलाई के भन्न मन लाग्छ भने काठमाडौका धेरै मान्छेहरू आजभोलि नुहाउँदैनन् । पानी नै नभएपछि कताबाट नुहाउनु । ऊ बेला पानी पाइए पनि काठमाडौंको जाडोमा नुहाउनु र लुगा धुनु सकस नै थियो । ऊ बेला ता पानी पाइन्थ्यो नुहाउने इच्छा गर्नेहरूका लागि । आजको जस्तो काकाकुल भइहाल्नु परेको थिएन । केही ठाउँमा बाहेक उपत्यकामा आज भोलिको जस्तो पानीको हाहाकार थिएन । ठाउँठाउँमा सार्वजनिक धाराहरू वा ढुङ्गे धाराहरू थिए र तिनमा राम्रै गरी पानी आउँथ्यो । यता घरका धाराहरूमा पनि दिनमा दुई पटक मजासँग राम्रो पानी आउँथ्यो र त्यही पानी नउमाली खाइन्थ्यो । आजभोलिको जस्तो कसैको घरमा पनि पानीका लागि पाइप वा इनार खनिएका थिएनन् । पानी तान्ने मेसिन दोकानमा पाउनु दुर्लभ थियो । पाइपबाट मेसिन लगाएर पानी तान्ने होडबाजीको ता कुरै थिएन । पानीको जारको कल्पना पनि थिएन । पानीका बोतल बिक्री हुन्छन् भन्ने सपनामा पनि थिएन । पानीका ट्याङ्कर ता सुनिएका पनि थिएनन् देखिनु ता परै जाओस् । पानीको बारेमा यस्तो कुरा आज सोच्ता म आफैं छक्क पर्छु । खड्गीको घरमा बस्नु अघि हामी टेकु पुकुलाछीको चन्द्रमाया डङ्गोलको घरमा बस्थ्यौं । पहिले त्यहाँ टेकुमा बसेको बेला हामी टेकुबाट सानेपातिर जाने बाग्मतीको कालो पुल तरेर केही पर बागमतीकै किनारमा रहेको घाटमा नुहाउन जान्थ्यौं । त्यहाँ बडो राम्रो पानी आउँथ्यो । त्यहाँ एउटा पानी पलाउने मुलमा कुन्ड जस्तो बनाइएको थियो, जसमा बिरे नूनको स्वादको पानी आउँथ्यो र लुतो खटिराहरू जान्छन् भन्ने विश्वासमा हामी त्यस पानीले नुहाउँथ्यौं । तर म ओमबहालतिर सरेपछि मेरो नुहाउने ठाउँ भनेको सुनधार भएको थियो । एक्लो मान्छे छु, जाडाको बेला छ, भात पकाएर आफैं खानु छ । अनि नुहाउन ता हप्ता वा पन्ध्र दिन पुगिहाल्थ्यो । लुगा धुन ता झन् समस्या । अँझ ओछिनको तन्नाहरू डसनाहरूको सरसफाइमा ता झन् सकस पर्ने । सम्झन्छु— छ महिना अघि जस्तो होला ओछिनका डसनाहरू सुकाएको थिएँ । सिकसिको पनि लाग्न थालेको थियो । मौका हेरेर डसलाहरू सुकाउनु पर्ला भन्दै काममा थिएँ ।

बल्लबल्ल दुई दिने छुट्टी पर्यो । यही मौका पारेर कोठा सफाइ गर्ने विचार गरेको थिएँ पहिल्यैबाट । एउटा उचाल्ने नसकिने सखुावको खाट किनेको थिएँ भवानी कार्कीका साथ । उनी झापा बुधबारे आफ्नै गाउँका थिए । पछि त्यही खाट डा. खगेन्द्र भट्टराईजीले लिनुभएको थियो । सखुवाको गरुँगो खाट थियो । डेरावालाहरूले अँझ पनि काठमाडौंमा रित्तो डेरा मात्र पाउँछन्, डेरामा फर्निचरहरू पाइएला भन्ने कल्पना नगरे पनि हुन्छ । घरधनीले चौखुर्याएर डेरावालसँग घरभाडा लिन्छन् तर कर भने एक कौडी पनि तिर्दैनन् आजभोलिका डाक्टरहरूले अतिरिक्त कमाइमा नतिरेझैं । ऊ बेला ता कति डेरावालाहरू परालको लम्पट किन्थे र त्यसैलाई ओछिनका रूपमा कायम गरेर डेरावालाको जीवन गुजारा गर्दथे । मेरो पनि पहिलो काठमाडौंको सुताइ लम्पटमै भएको थियो । परालको लम्पट भनेको उपियाँको स्वर्ग र सुत्ने मान्छेका लागि महाकाल हुन्थ्यो । जब म काठमाडौंमा गएँ खाटका सुताइको कुरा निकै परको थियो । आफ्नो घरमा ता खाट भनेको बासँको चिम चिरेर हामी नै बनाउँथ्यौं र त्यसैमा सुत्थ्यौं, यहाँ कसले खाट पाउँछ ! खाटमा सुत्न सक्ने हुती भएको विद्यार्थी अवश्य नै थिइँन तर भवानीजी झापा आउनु पर्नाले वा डेरा छाड्नु पर्दा मलाई सामान्य दाममा उक्त खाट दिएका थिए ।

दुई दिने छुट्टीका दिन थिए । आज भने कोठा साफ गरेरै छाड्छु भन्ने विचार थियो । खाटमा ओछ्याएका सबै डसनाहरू झिकेर घरको छतमा लगेर सुकाउनु पो पर्यो भनेर के उठाएको थिएँ मेरा डसनाका माझबाट बुरुरु सर्पका बच्चा पो झरे ! अनि कोठै भरि ती बच्चा स्याउँस्याउँ गर्न थाले । म तीन बित्ता माथि उफ्रिएँ डरले । ओरिपरि कोही पनि छैनन् । कसैबाट सहयोग लिने स्थिति पनि छैन । कुर्सी थियो । त्यसैमा चढें । बाँच्नु ता पर्यो । तीन चारओटा वच्चा कोठाको चिल्लो सिमेन्टमा सिलबिलाउन थाले । यता सर्प उता सर्प । डरले छुलुमुतु भइहालें । अहिलेको जस्तो तराईमा बसेको भए ता सर्पदेखि उति डराउने थिइन होला, तर त्यो बेला मलाई सर्पदेखि भयानक डर लाग्थ्यो । अहिले पनि काठमाडौंमा सर्प भनेपछि मान्छे मरिहाल्न खोज्छन् डरले । म पनि त्यही ड्याङ्को मुला थिएँ ऊ बेला । डर लागेर भुतुक्कै भएँ । हंसले ठाउँ छोड्ला जस्तो भयो । कराउनु पनि भएन, घरको पाँचै तलामा म एक्लो छु । अरु कोठामा कोही छैन । कराउँदा पनि कसले सुन्थ्यो र ? सर्पहरू कोठाभरि ओरपर सल्बलाइरहेका छन् । मनभरि त्रासको बबन्डर सल्बलाइरहेको छ । खलखली पसिना आइरहेका छन्– हे भगवान यो के भयो त्रासमय सोचाइ मनभरि मडारिइरहेको छ ।

त्यसै बेला विचार आयो, यी ता बच्चा हुन् माउ पनि हुन सक्छ । अँझ आमा बाबु नै हुन सक्लान् । हे भगवान अब के गरुँ ?? बचाउ नागराज ! बरु तिम्रै पूजा गरौंला ! मेरा मनमा यस्तै केही धार्मिक भावनाहरू पनि आएर ओइरिए । तर यी भावनाहरूले मलाई बचाउने वाला थिएनन् । अर्कातिर सर्पले मलाई सखाप पार्ने भए भन्ने सोचें ! अब मरिने भएछ ! के गरेर बाँचिने हो कुन्नि ! सोच्तासोच्तै कोठाको कुनामा ठडड्याएको कुचोतिर मेरो ध्यान गयो । बाँच्ने मन भए ठटा भाइ तेरा नागराजहरूलाई ! मेरा मनले मलाई भन्यो अनि त्यही कुचो तानेर साना नागराजहरूलाई आँटै गरेर ठटाउन थालें । सानै भए पनि मेरो आक्रमणको प्रत्याक्रमणमा उनीहरू फणा उठाएर मतिर आइलाग्न खोज्छन् ए ! मर्नै परेपछि अब केको भद्रो हेर्ने ! मलाई अलिक आँट आयो । कसै गरी तीन ओटालाई पछारेपछि एउटा हरायो खाटमुनि । झन् शङ्का हुन थाल्यो– अरु कति छन् त्यहाँ ! आप्mना सन्तानलाई मारेको देखेर तिनका आमाबाबुले मलाई बाँकी छाड्दैनन् बा ! ती पनि यहीं हुनु पर्ने हो । झन् पो डर लाग्यो । अब जे पर्ला पर्ला ! खाटमुनीतिर पसेर हराएको नागराजलाई टर्च बालेर हेरेको ता पल्लो कुनामा मैतिर मुन्टो उठाएर हेरि पो रहेको छ ए ! खाट केही ओर तानेर ठटाएँ त्यसलाई पनि । त्यो पनि स्वर्गवासी भएपछि चार थान नागराजका मृत शरिरहरूलाई एक ठाउँमा जम्मा गरेर बाँकी नागराजहरूको सतर्कताका साथ खोजी गर्न थालें ।

ओछ्यान ओल्टाइपल्टाइ गरेर हेर्न थालें । सतर्कताका साथ डसनाहरू पल्टाएँ । मृत नागदेवहरूका पिता माताहरू मेरा खाटको डसनाको न्यानोमा सुकला भइरहेको हुनुहुन्छ कि भन्ने लागेर मनमा जग्जगी भइरह्यो । तकियाको खोलमा, मेरा लगाउने लुगाहरूमा, तकिया भित्र, चामलको बोरामा, भाँडाकुँडाहरूमा वा त्यस्तै अभिन्तर परेका ठाउँहरूमा पनि तिनले राज गरेका हुन सक्लान् भन्ने लागेर डरले थर्कमान हुँदै खानतलासी गरें । बाँकी कतै फेला परेनन् । शायद यिनका माता पिता यिनको भोजन वा आहाराका लागि कतै गएको हुनु पर्ने हो, मैले सोचें । ओछ्यान अँझै टक्टक्याएर हेरें । खाट सारेर सबैतिर बडो सतर्कताका साथ आँखा लगाएँ । भित्तामा सानो दुलो देखियो । अनि मैले अनुमान गरें– ‘ए, यिनको सवारीको राजमार्ग ता यहाँ पो रहेछ !’ पहिले ठेडी ठोकेर राजमार्गलाई जाम नगरी भएन, सोचेर तुरुन्तै तिनको राजमार्गलाई मैले जाम गरिदिएँ । अनि केही ढुक्क भएर ती नागपुत्रपुत्रीहरूको अन्तिम संस्कार गर्नतिर लागें । कसैलाई मैले सर्प मारें भनौं भने ‘नागराजलाई मार्ने तँ पापी !’ भनेर मलाई नै मार्लान् भन्ने त्रास थियो त्यहाँ । कसैलाई केही नभनी मैले तिनलाई ठोंगामा हालेर नालीमा सद्गति गरें ।

राजा वीरेन्द्रको वंश विनास भएजस्तै गरी मैले नागवंशको विनास गरेजस्तै मेले पनि त्यस नागको वश विनास गरें । त्यसपछि मनमा केही सन्चो ता भयो तर ममाथि नाग चढ्ला भन्ने डरले दिउसो भरि जिउ कामिरह्यो । कोठोमा पसेर बस्ने मनै भएन । जतिबेला पनि कतैतिरबाट सर्प नै आइहाल्लान् कि भनेर तनावै तनावको भुँवरीमा दिन काटें ।

साहुनी साँझतिर छतमा रक्सी पार्न आइन् । उनी घरको छतमा कैलेकाहीं घरपरिवार र इष्टमित्रका लागि खान र केही बेचबिखनका लागि समेत रक्सी पार्थिन् । मलाई भने रक्सी पारिसकेपछि सधैं चाख्न दिन्थिन् । कहिले जाँड पनि पाइन्थ्यो । उता टेकुको घरमा बस्ता पनि रक्सी चाख्न पाइन्थ्यो । जाँड पनि चाख्न पाइन्थ्यो । धेरै जाँड दिएको बेलाको कुरा हो, एक दिन त्यहाँ जाँडको सोल्लर पकाएर खान खोजेको सारै नमिठो भएको कुरा अहिले सम्झन्छु । शायद जोसुकैले जाँडको सोल्लर पकाएर खाँदैनन्, खाएका पनि छैनन् होला । तर मैले खाएको थिएँ । भात खानै सकिएन जाँडका सोल्लरसँग । त्यसरी सित्यैंमा पाइने भए पनि त्यो जाँड रक्सी धेरै खाइहाल्ने ता होइन चाख्ने बानी भने परिसकेको थियो । तर पछि त्यहाँबाट अन्यत्र डेरा सरेपछि त्यस्ता जँड्याहाहरूको घरमा नपरेकोले चाख्न पाइन छाडियो र बानी पनि हरायो । किनी खाने ख्याम्ता ता भए पो खाइयोस् उसमाथि बाहुनको छोरो, संस्कृत पढ्न काठमाडौं बसेको मान्छे ! जाँड रक्सीका साथ छोयला, कचिला लगायतका पदार्थहरू पनि कहिलेकाहीं साहुनीले ‘बाज्या, यो पनि खानुपर्छ !’ भनेर दिएको कुरा र फटाफटी हजम गरेको कुरा थाहा पाए भने अचल हुने निश्चित थियो । खाएको ता होइन चाखेको मात्र पनि थाहा पाए भने बिताउँछन् । मनमा यस्ता विचार पनि उति बेला आउँथे ।

यो सर्पप्रकरणको त्यो दिनको बेलुकासम्म कसैलाई मैले भनिनँ । त्यसरी नभन्दा मेरो मन झन् तनावग्रस्त हुँदै गएछ । अनि त्यो मेरो मनको बह रक्सी पार्न छततिर लागेकी तिनै साहुनीलाई पोखें । सर्पका चारथान बच्चा मारें भनेपछि तिनी ता अलिक रिसाइन् पो । “नागराज भनेको टा लछिनको कुरा पो ट । ट्यस्टामाठि सुट्न पाउनु भन्याको भाग्गे हो । टपाईं ता बूधानीलकन्थ पो हो कि क्या हो । नागशैøयामा सुट्या ? नागराजलाई ट्यसरी मार्नु नहुने ! बरु लगेर नागपोखरीटिर हालिडिनु पन्र्या ठियो । बाज्याले गल्टी गर्यो बा !’ उनले पछुताउँदै भनिन् । उनको भनाइले मलाई पनि गल्ती नै भयो कि भन्ने लाग्यो । त्यसपछि मलाई नागराजको शैयामा सुतेको बूढानीलकण्ठ जस्तो बुझेर मेरा खुट्टा छुन पो खोज्छिन् ए । म अलिक पर सरें । त्यसपछि रक्सी पारेर चाख्न दिइन् । त्यस दिन अलिक बढी मागेर चाखें । साहुनीले कचिला, छोयला र अरु कासाबिसा पनि दिइन् । भात पकाउनै परेन । त्यसरी अलिक बढी मागेर चाखेपछिको चखाइबाट उत्पन्न आनन्दले सर्पतनाव अलिक भागेछ । अघिसम्म सर्पको भयबाट त्रसित मेरो मन अहिले प्रफुल्ल थियो । राम्रोसँग निद्रा परेछ । बिहान ब्यूँझेपछि पो रातिको सपना सम्झे ।

राति मैले ता आफूलाई भगवान शेषशायी झैं सर्पमाथि सुतिरहेको पो देखेंछु । नागशैय्यामा सुत्ने बूढानीलकण्ठ भगवानको रूपमा सर्पमाथि सुतिरहेको सपना पो देखेंछु । यसका साथसाथै भगवान नीलकण्ठ झैं गलामा सर्प भिरिरहेको सपना पनि देखेंछु । यस्तो सपना देख्नुमा साहुनीको विचारकै परिणाम भएको मलाई लाग्यो । तर सर्पको माला भिरेको सपना देखे पनि वामपाश्र्वमा पार्वती माता राखेको शिवजीको रूपमा चाहिं मैले त्यति बेलाको सपनामा आफूलाई देखेको थिइनँ । ‘छ्या है के सपना देखेको होला !’ भन्दै कतै अरु सर्पहरू पनि मैसँग सुतिरहेका ता छैनन् भन्ने लागेर डसना ओल्टाइपल्टाई गरी हेरेको कुरा अहिले पनि झलझली सम्झन्छु ।

ती सर्पसन्ततिहरू अन्दाजी चारपाँच महिनासम्म जतिको समयका थिए । मेरा ओछिनमा अण्डा पारेर बच्चा हुर्काउने सर्पले मलाई चाहिं कुनै चोट नपुर्याइकन उसका लालाबाला कसरी हुर्कायो होला, कसरी र कतिबेला आएर त्यो बालबच्चाको हेरचाह गर्थ्यो होला भनेर तर्क गर्न मन लाग्छ । साहुनीले भनेझैं नगरेकोमा मलाई अलिकति पछुताउ पनि लाग्छ किनभने त्यो सर्पले मलाई कुनै हानी नोक्सानी ता पुर्याएको थिएन नि ’ बरु त्यसका बच्चाहरूलाई नागपोखरीमै लगिदिएको भए पनि हुने रहेछ भन्ने पनि सम्झन्छु । यी कुराहरू सम्झेर म अहिले पनि चकित हुन्छु । अरुलाई रोमाञ्चक र आश्चर्यका कुरा नलागे पनि मलाई भने यो विषय बडो रोमाञ्चक नै लागेर आउँछ । कसरी म बाँचिरहेँ होला ?? जुनसुकै बेला पनि म समाप्त हुन सक्ने थिएँ, तर साँच्चै पो नागराजले मलाई बूढानीलकण्ठ नै पो सम्झेका थिए कि कसो ? जोसुकैले नागमाथि शयन गर्ने मेरो जस्तो अवसर पाउँलान् के त ? ज्ञात अज्ञात रुपमा लगभग छ महिना जतिको शेषशायी भएँछु, अनि भएँछु– छ महिने बूढानीलकण्ठको नयाँ अवतार !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *