Skip to content

दुई चार अक्षर कतै भित्तामा लेख्लान त


ए आमा आज म थुप्रै थुप्रै
प्रश्नहरू बोकेर आएको छु
थुप्रै निराशाहरूको भकारी बोकेर आएको छु
के तिम्रो गर्भधारणमा कुनै खोट थियो कि
तिमीलाई सतिको कुनै श्राप थियो कि
घुरानमा बग्रेल्ती यी कुलाङ्घारहरू मात्र जन्मायौ
तिनले तिम्रै छाती मात्र टेकदैछन
तिमीले जन्माएका यी कुलाङ्घारहरूले

के पाठशाला थिएन तिमीले पढाउने कि
के मैदान थिएन कि तिमीले खेलाउने
यिनीहरू पढ्न पारि मात्र किन जान्छन
खेल्न किन खोला तर्छन
बरु कुभिन्डो फलाएको भए मस्यौरा त बन्थ्यो
आमा ! सोद्धा सोद्धा दिक्क पो भयौ कि
तिम्रो आँशु बगिरह्यो कि छाती तिम्रो चर्याइरह्यो कि

अंश को लडाइँ पो गरिरहेछन
वासी भात तताएर यिनीहरूले
भाग भागमा लडिरहेछन
ताना तान हाना हान् आमा ! तिम्रो मन रोएन
बाँडेर खान जानेनन कि मानेर खान मानेन कि
किन रछ्यान खेलिरहेछन
झेली पो हुन् कि यिनीहरू रगतले अँझै अगाएनन

आमा यिनले के हिजो खाएको भाँडा यी कुलंघारहरूले आमा !
के ती जुठा भाँडा माझ्न यिनले सघाउदै छन् कि छैनन् तिम्लाई
कत्रो रहर र खुशीमा जन्मायौ होला
कति रहरले ती हातहरूमा खेलायौ होला
कति सपनाहरू देख्यौ होला
के यिनले तिम्रो दुखेको छातीमा मल्हम दल्छन
ए आमा ! के विश्वास छ तिमीलाई
यी कुलंघारहरू कुर्लिएर यी मोराहरू उर्लिएर
हिजो मेटेको पाटीमा क ख रा लेख्छन त

आमा तिमीले राखेको थाङ्ग्राको मकै फेरि सक्लान
दलिनको भटमास फेरि भूटलान
खाएर मात्र फेरि सुत्लान
बारी कान्लाको कोदो फापर सोतर पारेर फेरि कुद्लान
हिजोको डढेलोमा यिनले आगो फेरि झोस्लान
झोलाभरि टाउको पोल्लान
महलमा फेरि गोली ठोक्लान
तिम्रा यी बग्रेल्ती कुलाङ्घारहरूले
आमा ! के विश्वास छ के तिमीलाई यिनको भर् छ
यिनले कतै दुई चार अक्षर लेख्लान त
यिनले तिम्रो मुहार कतै सपनीमा देख्लान त ?
ॅ़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़़
Srdhakal
अध्यक्ष अन्तराष्टिर्य नेपाली सािहत्य समाज
क्यािलफोर्निया च्याप्टर अमेिरका

Leave a Reply

Your email address will not be published. Required fields are marked *