अन्तिम कविता कोर्दैछु यो क्षण
सम्भवत अब म
आत्महत्या गर्दैछु
कि त असुरक्षित छु
वा खतरामा छु सम्पुर्ण रुपले ।
लेखें धेरै नै
पाठकहरुले लेख्नुको औचित्य
समाप्त पारी दिए
मुर्ख माईलाको शासन जस्तै
म यौटा नरुचाईएको कवि
ऊ यौटा गद्दी बाट गल्हत्याइएको शासक
ऊ र म वीच भिन्नता विषय बस्तुमा मात्र छ
यही विन्दु बाट
एउटा समाप्ति उद्घोष गर्दै
मेरो अन्तिम कविता कोर्दैछु आज
खाली पहिले लेखेका कविताहरुको निम्ति ।।
जेठाको अपुताली राजकाज
बलजफ्ती सम्हाल्दा सम्हाल्दै
माइलाको अर्को उन्नाईसे दशा पछि
हाउडे नयाँ नेपालको न्वारान त्येहिं बाट
माटोको मेरो घर भूँइचालोले चर्किंदा
जति चिन्तित हुन्छु म
संघियताले मेरो आँगन टुक्रिदा सम्म
कुनै आपत्ति हुने छैन मलाई
तेतिखेर त थेप्चो नाकको पनि आफ्नै ढंगले
टुकु्रक्क कार्टुन चित्र बनाउन पाउने छन कार्टुनिस्टहरुले
गाईजात्रे पानाको हरेक श्रृङ्खला भरी ।
उसको वंशको अन्तिम शासन
र मेरो यो अन्तिम कविता
सम्भवत अब देखि
मलाई कविता लेख्न बन्दको आदेश छ
उसलाई दरबार छोडाउनु जस्तै
मैले मिथ्या कविता लेख्नुको विरुद्धमा
म त हिजो जन्मेको मान्छे
उहिलेको इतिहास च्यापेर
कि त मेरो ताम्रपत्रको युद्धमा लड्दा लड्दै
कीरा फट्याङ्ग्रा नगन्ने धुर्मुस पाईतालाले
बम टेकिसकेको छु र
विष्फोटन संगको वीभत्स मृत्यु लाई एकैछिन थिचेर
अन्तिम कविता कोर्दैछु यो क्षण ।।

Very nicely expressed –
Very nicely expressed – depressed and frustrated mood!