न छेकेर छेकिन्छ
न छोपेर छोपिन्छ
न बाँधेर बाँधिन्छ त्यो
न तोड्न सकिन्छ
चिमोट्छ त्यसले अनि
चिथोर्छ पिरोल्छ
न रात दिन अनि आगो र पानी
न घाम पर्खन्छ न हुरी बतास
खाँदा न स्वाद छ न त भोक मेट्छ
उत्कर्षमा पनि त्यसले झस्काइरहन्छ
न रित्तिन्छ खाँदा त्यो न त तृष्णा नै पो मेट्छ
कहिले कहीं त्यो अति उष्ण हुन्छ
त्यो शितल छ अनि गर्मी पनि छ
सन्सार यो समाज त्यसैमा तल्लिन छ
सन्सार सृजनाको ज्योति उचाल्छ
लुकेर त्यो खान्छ अनि ढुकेर त्यो खान्छ
आफैं चोब्छ चुच्चो अनि अर्ती छाँट्छ
र गर्छ गर्व र संस्कार भन्छ
जति जे भन् त्यो छेकेर छेकिन्न
जति छोप त्यो आडम्बरले
त्यो छोपेर छोपिन्न
जति रोके पनि त्यो रोकेर रोकिन्न
के हत्केलाले सूर्य छेकेर छेकिन्छ ?
