Skip to content

अनेसास नेपाल च्याप्टरको आयोजनामा ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न

Bandipur


कवि लेखकहरूको सहयात्रा आफैंमा साहित्यिक यात्रा हो । सिर्जनात्मक अभिव्यक्तिहरूको माध्यमबाट नै उनीहरू सिर्जनशीलताको इतिहास र अभिलेख निर्माण गर्दछन् । नेपाली साहित्यमा प्रचलित पुरानो मोती मण्डली, राल्फाली आन्दोलन र सडक कविता क्रान्ति जस्ता प्रयोगहरूपश्चात् संरक्षण कविता आन्दोलनको क्रममा तद्स्थानीय विम्बहरूलाई टिपेर कविता लेख्ने र सुनाउने मौलिक परम्पराको सुरुआत भएको र आजभोलि स्रष्टाहरूको यात्राले केवल सिर्जनाहरूमा पोखिनुको अतिरिक्त मिसन यात्राको रूप समेत धारण गरेको पाइन्छ । यसै सन्दर्भमा २०७० माघ ११ र १२ गते (शुक्रबार र शनिबार) अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा नेपाली साहित्यको विश्वव्यापीकरणका लागि विहङ्गम दृष्टिकोणका साथ सिर्जनात्मक अवधारणा र निर्णयहरू पारित गर्दै ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न भएको छ ।

बन्दीपुरका अग्रज कवि भीष्म श्रेष्ठको अग्रसरतामा माघ ११ गते दिउसो १ बजे नै काठमाण्डौबाट अन्तराष्ट्रिय नेपाली साहित्य समाज, अमेरिका सम्बद्ध स्रष्टाहरू श्रीराधेश्याम लेकाली, ज्ञानेन्द्र गदाल, सीता पाण्डे, सावित्री अधिकारी, उर्मिला शाह, गीता कार्की र साथमा डा. खगेन्द्र लुइँटेल, डा. खगेन्द्र संग्रौला, लीला लुइँटेल, व्याकुल माइला, विमल भौकाजी, श्रीबाबु कार्की उदास, गीता मैनाली, माधव निर्दोष, लुइँटेल दिनेश (डिसि डटकम) लगायतका स्वनामधन्य व्यक्तित्वहरू बन्दीपुर आइपुगिसक्नुभएको थियो भने पोखराबाट सरुभक्तका साथमा बन्दीपुर आइपुगेको थियो – यो पंक्तिकार शरण आँसु ।

सोही दिन ३:०० बजे ऐतिहासिक, राजनीतिक र पर्यटकीय महत्व बोकेको बन्दीपुरको पुरानो चोक बजारस्थित पद्म पुस्तकालयको आँगनमा सोही पुस्तकालयकी अध्यक्ष सुधा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमद्वारा बन्दीपुरवासीहरूले स्रष्टाहरूको स्वागत गर्दै बन्दीपुरको संस्कृति र सौन्दर्यलाई सिर्जनाहरूमा उतार्न अनुरोध गर्नुभयो । कवि राधेश्याम लेकालीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संक्षिप्त भनाइहरूका साथ डा. खगेन्द्र लुइँटेल, खगेन्द्र संग्रौला र सरुभक्तले बन्दीपुरसितको व्यक्तिगत र साहित्यिक सम्बन्धका प्रसङ्गहरू तथा बन्दीपुरे प्रकृति र जीवन सौन्दर्य चेतका अनुभूतिहरू व्यक्त गर्नुभयो । स्थानीय बालबालिकाहरूद्वारा राष्ट्रिय गानका रचयिता व्याकुल माइलाको विशेष सम्मानमा राष्ट्रिय गान प्रस्तुत गरियो । अनि बन्दीपुरे कविता र गीतहरूले सबै हृदयको अन्तरगहिराइसम्म स्पर्श गरिरहे ।

बेलुका सबै स्रष्टाहरूको बास थियो –टुँडिखेलको किनारमा अवस्थित बन्दीपुर माउन्टेन रिसोर्टमा । अत्यन्त सुमधुर संयोग थियो त्यो– खगेन्द्र लुइँटेल र खगेन्द्र संग्रौलाको अनुभव र अनुभूतिका शृङ्खला, सरुभक्तको साहित्यिक जीवनका विभिन्न परिस्थिति र परिवेशका भोगाइहरू, धेरैवर्षपछि नेपाल फर्कंदा सीता पाण्डेले सुँघ्नुभएको एक अञ्जुली माटोको सुगन्ध एवं गीता मैनालीको मनोरम यात्रा – स्पर्शका अनुभूतिहरूको ।

माघ १२ गते विहान बन्दीपुरका क्षितिजहरूलाई बाक्लो हुस्सुले ढाकिरहेको थियो र हिमालहरू एवं वरिपरिका डाँडाहरू सबै अदृश्य थिए । मेरो हृदयमा चाहिँ लपक्क टाँसिइरहेथ्यो – सरुभक्त दाइसितको स्वर्णीम समय । म श्रद्धा र प्रेमले ‘दाइ’ भन्छु – सरुभक्तलाई ।

विहान ८:३० बजे बन्दीपुर माउण्टेन रिसोर्टको सभाकक्षमा अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजना र कवि राधेश्याम लेकालीको सञ्चालन अनि बन्दीपुरे महाकाव्यका रचयिता भीष्म श्रेष्ठका सभापतित्वमा नेपाली साहित्यको विश्वव्यापीकरण सम्बन्धी विशेष कार्यक्रम सुरु भयो । उक्त कार्यक्रममा नेपाली साहित्यका वरिष्ठ समालोचक एवं प्राध्यापक डा. खगेन्द्र लुइँटेलले आफ्नो अवधारणा प्रस्तुत गर्दै नेपाली साहित्यलाई विश्व साहित्यका बीचमा चिनाउनका लागि स्तरीय कृतिहरूलाई अँग्रेजी भाषामा अनुवाद गरिनुपर्ने र त्यसका निम्ति कृतिहरूको चयन, अनुवाद, सम्पादन, प्रकाशन र वितरण प्रकृयालाई कुशलताका साथ अगाडि बढाउनु पर्ने कुरा औंल्याउँनु भयो । विशेष गरी काव्य कृतिहरको दुरुस्त अनुवाद हुन नसक्ने भएपनि लेखकको स्पिरिट’ या भावना बुझेर कलात्मक शैलीमा अनुवाद र सम्पादन हुनुपर्ने कुरामा वहाँले जोड दिनुभयो ।

सरुभक्तले नेपाली साहित्यका कृतिहरूलाई अँग्रेजी र हिन्दी भाषामा समेत अनुवाद गरिनुपर्ने आवश्यकता रहेको बताउँदै आफ्ना कृतिहरूले पनि कुशल अनुवादक पाउन नसकेको अनुभव व्यक्त गर्नुभयो र नेपाली साहित्यको उत्पत्ति स्थलका आधारमा नेपाली, भारतीय नेपाली र डायस्पोरिक नेपाली साहित्यका आयामहरूमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा वरिष्ठ लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले अन्तराष्ट्रिय जगतमा नेपाली साहित्यको पहुँच पुर्याउन सर्वप्रथम यसका कृतिहरूलाई हिन्दी तथा भारतीय आञ्चलिक भाषाहरूमा र त्यसपछि क्रमश: चिनीयाँ, बङ्गलादेशी र अँग्रेजी भाषामा अनुवाद गर्दै जानुपर्ने बताउँदै राई, लिम्बू र मैथिली भाषाहरूमा समेत अनुवाद गरी नेपाली साहित्यलाई ग्रामीण जनमानसमा पुर्याउनु पर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाका विशेष प्रतिनीधि एवं कवि तथा गीतकार ज्ञानेन्द्र गदालले नेपाली साहित्यको प्रकाशन र वितरणमा रहेका समस्याहरू औल्याउँदै समाधानका उपायहरूमाथि प्रकाश पार्नुभयो ।

नेपाली राष्ट्रिय गानका स्रष्टा एवं कवि व्या्कुल माइलाले स्तरीय रचनाहरू जन्मन सके तिनीहरूको अनुवाद हुने वातावरण सिर्जना हुने बताउँदै गीतहरूमा रचना, संगीत र गायनको संयोजनका बारेमा आफ्ना भनाइहरू राख्नुभयो ।

कवि एवं लेखिका सीता पाण्डेले देश छाडेर गएपछि अकविहरू पनि राष्ट्रिय भावनाले ओतप्रोत भएर कवि हुने बताउँदै डायस्पोरिक साहित्यको विशष्टि पक्षहरू र नेपाली साहित्यलाई अँग्रेजी भाषामा अनुवाद गर्नुपर्ने आवश्यकता एवं यसका चुनौती र समाधानका उपायहरू माथि प्रकाश पार्नुभयो ।

कार्यक्रमका कवि एवं सम्पादक विमल भौकाजीले नेपाली सम्पादकहरू सक्षम रहेका तर लेखक र सम्पादकहरूका बीच आवश्यक समन्वय हुन नसकेको कुरा बताउँदै समुचित सम्पादन विना अब कुनै पनि कृतिहरू प्रकाशन हुनु हुँदैन भन्नुभयो ।

कार्यक्रममा बरिष्ठ समालोचक लीला लुइँटेल, कवि श्रीबाबु कार्की उदास, सञ्चारकर्मी एवं लेखिका गीता मैनाली र माधव निर्दोषले आ–आफ्ना धारणाहरू सहित कार्यक्रमको निचोडका निम्ति महत्वपूर्ण सुझावहरू राख्नुभयो । त्यसपछि स्रष्टाहरूको तर्फबाट पद्म पुस्तकालयका निम्ति पुस्तकालयकी अध्यक्ष सुधा श्रेष्ठलाई पुस्तकहरू हस्तान्तरण गरियो र कार्यक्रम सञ्चालक कवि राधेश्याम लेकालीले ‘बन्दीपुर घोषणा पत्र २०७०’ प्रस्तुत गर्नुभयो । अन्त्यमा सभापति भीष्म श्रेष्ठले ‘बन्दीपुर स्रष्टा यात्रा’का लागि धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो ।
बन्दीपुरलाई तुवाँलोले क्रमश: छाडेर दिन खुल्दै थियो | सरुभक्त दाइ र म भने सबै स्रष्टाहरुबाट बिदा भएर डा. खगेन्द्र लुइँटेल दम्पत्तिका साथमा डुम्रेतिर हुइँकियौं | बिदाइमा कवि लेकालीका न्याना र आत्मीय हातहरु हल्लिरहेथे |

Leave a Reply

Your email address will not be published. Required fields are marked *