Skip to content

जिन्दगी यो जिन्दगी


हर्के हर्कमा खर्कै खर्कमा
चिप्लेटिका ती ढुंगाहरूमा
चौतारीका बिसौनीहरूमा
उकाली र ओराली भो
खै के के भो के के भो यो जिन्दगी

खोल्साहरूमा खुम्चिएका झोलाहरूमा
गराहरूमा आलिहरूमा
फरुवा कुटे कोदालो भो
हलो र फाली अनि
जुवा जोतारो भो
असरल्ल भ्याई नभ्याई भो
खै के हो के हो यो जिन्दगी

लाला बालाहरूसँग
पैंचो साटेर शुलभता बाँडदै
हात मुख जोड्ने खेल खेल्दा
संघर्षको भेल ठेल्दा ठेल्दै
भेल भित्र आफुलाई हेल्दा हेल्दै
खोइ सारो हो कि गारो हो
के भयो के भयो यो जिन्दगी

तुना बुनाहरू यो देहको
लाजले मात्र मुश्किलले
फाटेका चौबन्दीहरूमा
आधा आकाश ओढेर
घुर ताप्ने यो जिन्दगी
के भयो के भयो
खोइ के हो के हो यो जिन्दगी

ऐन्चो पैंचो त्यो साहु महाजनमा
ढाद कुप्र्याउदा कुप्र्याउदै
दश औंलीहरू सधैं जोडेर
शिर निहुरिने यो जिन्दगी
खोइ कस्तो कस्तो यो जिन्दगी
खोइ के हो के हो यो जिन्दगी

अब त के भनौ —
शीतको खेती भयो
प्रीतको रेती भयो
अनायसै बादल बिहीन
वर्षिएको वर्षा भयो
चटयांगको धर्सा भयो
जिन्दगी यो जिन्दगी
खोइ के हो के हो यो जिन्दगी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *