Skip to content


“अँध्यारो रातमा हेडलाईट बालेर राजमार्गऊपर तीव्र गतिमा गाडी त सबैले कुदाउँछन साथी”, उसले भन्यो,”म भिन्दै किसिमको मान्छे हूँ, मलाई हेडलाईट चाहिंदैन । म जुनकिरीकै प्रकाश मात्र भएपनि ६० मील प्रति घन्टाको रफ्तारले गाडी हाँक्न सक्दछु…. ।”
ऊ भनिरहेथ्यो, म सुनिरहेथें; ऊ सुनिरहेथ्यो, म भनिरहेथें। उसको नाम बबूलनाथ हो । मेरो पुरानो मित्र, भनूँ भनें दुख- सुखको मित्र हो ऊ । ऊ बोल्दछ- जब सन्ध्या हुन्छ; बोलिरहन्छ रात नबितुन्जेल । अर्धपागल जस्तो, कता-कता नेपाली देवदासको झझल्को उसभित्र देख्न सकिन्छ ।
***
त्यसदिन म उससँगै थिएँ, त्यसतो दिनमा म सधैं उससङ्ग नै हुन्छु । बुडेस्कालको लठ्ठी टेकेर-हामीलाई सायोनारा भन्ने तर्खरमा, चैत्रमाह थियो । सिमलाका भुँवाहरू यत्र-तत्र उडिरहेका थिए; सानो-तिनो हूरी समेत थेग्न नसक्ने ती भुँवाहरूको यस लोकमा कुनै मूल्य छैन, मान्यता छैन । बेनाम, गन्तव्यविहीन यात्रामा कतिन्जेलनै ती भुँवाहरू रमाउन सक्लान र! सन्ध्याको आगमन भैसकेको हुँदा सडकहरू त्यति व्यस्त थिएनन । एक्का-दुक्का गाडीहरू समयको निश्चित अन्तराल पछि टें-टें गर्दै आइरहेका थिए ।
“नयाँ नौलो के छ त ?”, मैंले उसलाई प्रश्न गरें ।
“घण्टा छ ।”, उसले भन्यो ।
“कहाँबाट ल्याइस ?”
“पशुपतिबाट चोरेर । ”
“हा-हा! हा-हा!”, हामी दुवै हाँस्यौं ।
***
हामी मौन भयौं । हाम्रा पदहरू भनें मौन थिएनन् ! मौन…!! अलिकति मिलेन !!! हाम्रा पदहरू स्थिर थिएनन्, बढिरहेका थिए । थापाथलीबाट हिड्दा-हिड्दा हामी कलंकी पुगेछौ । हाम्रो मित्रता अनूठो किसिमको छ । मौन रहेरनै दुई जनाले एक घण्टा चान्चुन हिड्नु आफैमा एक किसिमको अनूठोपन हो;हामी यस्तै छौ । ऊ मेरो पुरानो मित्र हो, दुख-सुखको मित्र; मपनि उसको पुरानो मित्र हूँ, दुख-सुखको मित्र । उसको हिँडाइनै मेरा लागि उसका वाक्य हुन्, मेरो हिंडाइनै उसका लागि मेरा वाक्य हुन । हामी मौन रहेर नै आ-आफ्नो व्यथा पोख्दछौ । उसले मेरो व्यथा बुज्दछ, म उसको व्यथा बुज्दछु…. ।
***
उदरले आन्दोलन गरिरहेछ । उदर आन्दोलनसामु ठुला- ठुला शोषकहरूसमेतले आफ्ना घुँडा टेकेका छन्, हिट्लरले समेत घुँडा टेकेका छन । …. ता हामी साधारण मान्छेहरूले उदरको आन्दोलनलाई कसरी दमन गर्न सक्छौ र ? अहँ! त्यति हूति हामीभित्र छैन । समय – सन्ध्याको सात बजेर चान्चुन मिनेट; ….अँ बरु आठ बज्न चान्चुन मिनेट बाँकी थियोभन्दा उपयुक्त हुन्थ्यो । हामी कलंकी चोकमा उभिएर राजधानीबाट बाहिरिन लागेगा यात्रुवाहक गाडीहरूलाई एकटक हेरिरहेका थियौं । किन ? यस प्रश्नको स्पष्ट उत्तर म दिन सक्तीन । सायद, राजधानीको मोह त्यागेर बाहिरिन लागेका मानिसहरूको मुहारमा झल्केको खुशी बुझ्ने अभिलाषा हामीभित्र थियो कि!
***
उदरको माग पूर्ण गर्न भनीं हामी नजिकैको होटलमा छिर्दछौं । दुईवटा रोटी, एक कचौरा दाल, दुई-चार टुक्रा सलाद …. पर्याप्त छ । त्यसै पनि संसारमा कति मानिसहरू भोको मरिरहेछन…। चाहिनेभन्दा बढी खाएर उदर बढ्ला, अरु ता के नै प्राप्ति गर्न सकिएला र? भोजनको सही व्यवस्पाथन हुन सकेन भनें संसारमा छिटै ढुङ्गे युग फर्किन्छ जस्तो मलाई लाग्दछ।
खाईवरी हामी बाहिरिन्छौं । मधुशाला छिर्ने हाम्रो बानी छैन, हामी सडकलाई नै मधुशाला बनाउँदछौ । यो हाम्रो बानी राम्रो होस् वा नहोस्, हामीलाई त्यस कुराको पीर छैन । बबूलले झोलाबाट दुई बोत्तल मदिरा निकाल्दछ । यौटा बोत्तल मलाई दिन्छ, यौटा आफूले लिन्छ । हाम्रो रमिता शुरु हुन्छ- म मादल बजाउँछु, ऊ मादलको तालमा नाच्दछ, बोत्तल बोकेर- “मन्दिरमा पिएँ, मसानमा पिएँ, एकान्तमा कैले काहीँ एक्लो रुँदै पिएँ…..”
***
“अभिलाषा तँ चिन्दछस उसलाई ?”, बबूल बुदबुदाउँछ ।
“चिन्दछु”, म भन्दछु ।
“मैंले उसलाई यहीं भेटेथें । यही समय थियो, आजकै दिन थियो । थाहा छ तँलाई ?”
“थाहा छ ।”, म भन्दछु ।
“मेरा सबै रात अब मातहरू भए…”, बबूललाई मात लाग्छ ।
“आफैंलाई राख्ने यहाँ कुनै ठाउँ भएन….”, मलाई पनि मात लाग्छ ।
“सधैं यो सडकमा म के के रोज्दै हिड्छु, आफन्तको माझमा के के खोज्दै हिड्छु…..”, हामी दुवै एक-जुट भै गाउँछौं,”भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु….” ।
मानिसहरू हाम्रो रमिता हेरिरहेछन । यहाँ कलाकार छन्, साहित्यकार छन्, विविध थरीका ‘कार’ छन तर सायद रमिताकार हामी सिवाय अरु कोही छैनन ।
***
‘अभिलाषा’- बबूलकी एकमात्र अभिलाषा! ऊ पूर्ण हुन सक्तैन अभिलाषा बिना । रित्तो-रित्तो छ उसको मन, उसका असीमित अभिलाषाहरू सँकुचित हुँदै केवल ‘अभिलाषा’लाई पाउने अभिलाषामा सीमित भएका थिए; त्यो पनि उसको नसीबमा रहेन छ, भाग्यलाई ऊ दोष दिन चाहन्न । म उसलाई सम्झाउन चाहन्छु- मानिसका समस्त अभिलाषाहरू यहाँ पूर्ण हुँदैनन्; तैंले अभिलाषालाई बिर्सिनु पर्छ, बबूल ।
“तँ कैलेसम्म उसको सम्झनामा पिरोलिन्छस बबूल ? नियतिमा जे लेखेको थियो, त्यो त जसरी भएपनि हुनु नै थियो । उसलाई बिर्सिदे बबूल, बिर्सिदे….”, म भन्दछु ।
उसले मदिराको चुस्की लिँदै भन्छ,”म बहुलाएको छुँइन उसको प्रेममा । म केवल उसको उपस्थितिलाई आभास गर्न चाहन्छु…केवल आभास! ऊ समाजका लागि मृत भएकी होला, तेरो लागि मृत भएकी होला तर मेरा लागि ऊ अँझै पनि जीवित छ; म उससँग बोल्दछु, ऊ मुस्कान छर्दै म वरपर रुमल्लिएकी हुन्छे । तँ भन्छस बिर्सिदे!” व्यङ्यात्मक हाँसो हाँस्दै उसले थप्छ,”बिर्सिदे…! कति सरल छ यो शब्द तर यथार्थमा त्यतिनै जटिल छ । ”
***

अमावसको रात, चहुओर अन्धकार! हामी हिड्दा-हिड्दै चोभार आइपुगेछौं । समय: रात्रीको दस बजिरहेथ्यो । बबूल दायाँ हेर्छ, बायाँ हेर्छ ।
“आजकै दिन थियो”, बबूल भन्दछ,”मैंले अभिलाषालाई भेटेको र त्यसको तीन वर्ष पछि मैंले आजकै दिन उसलाई गुमाएको पनि थिएँ । तँलाई थाहा छ यो कुरा ?”
“थाहा छ ।”, म भन्दछु ।
बबूल पुन: दायाँ हेर्छ, बायाँ हेर्छ ।
“आजकै दिन थियो”, बबूल भन्दछ,”मैंले अभिलाषालाई भेटेको र त्यसको तीन वर्ष पछि मैंले आजकै दिन उसलाई गुमाएको पनि थिएँ । तँलाई थाहा छ यो कुरा ?”
“थाहा छ ।”, म भन्दछु ।
***
सडक छेऊ ऊ बर्बर आँसु झारेर रुन्छ, सानो बालकसरी, अभिलाषाको सम्झनामा । म उसलाई अङ्गाल्दछु । ऊ आकाशतर्फ हेर्दछ, आमावसकै रात भएपनि दुई-चार ताराहरू ऊपर टिमटिमाइरहेका थिए । बबूल ताराहरू गन्दछ, ऊ ती ताराहरूमाझ एक मुहार खोज्दछ, अभिलाषाको मुहार ! हो! अभिलाषाको मुहार, अभिलाषा मुस्काइरहेकी छे…. । उसले भनींरहेकी छे,”अबेर भयो! अब सुत्नु पर्छ ।”
बबूल स्वप्न देख्छ, सडकमैं ऊ निदाउँछ । म उसको रमिता हेर्छु, बस हेरिरहन्छु र आफ्ना नयनबाट झर्न लागेका दुई-चार थोपा अश्रुजलहरूलाई रोक्ने असम्भव प्रयास गर्दछु…….. ।
***

Leave a Reply

Your email address will not be published. Required fields are marked *