Skip to content

सपनाहरूको धुले बाटो


म हिंड्छु प्राय:
सपनाहरूको धुले बाटो


फूलपातहरूमा झुण्डिन्छु,
खेतमा दौडन्छु,
खोलामा पौडन्छु

अक्सर म भोलि पर्सिका
दु:खहरूले दुख्दिन

जति जति समय ढल्दै जान्छ –
उति उति म अतीतको
सलेदो बनेर सल्कन्छु

साँझपख
बाख्राहरूलाई खोरमा थुनेपछि
म पनि मेरी आमाको मजेत्रो भित्र थुनिन्छु

हो, थुनिनुभित्रको सुरक्षा र स्वतन्त्रताको रहस्य
बाख्राहरूलाई र मलाई थाहा छ


मेरा सपनाका उमेरहरूले
क्रमश:
किशोरवयमा परिणत हुन्छु
र चराहरूको गुँड खोज्न हिंड्छु

मैले जानेका
महान् आर्किटेक्टहरू हुन् –
दमाइ चरो र कोटेरो

जब म मेरी आमाको
अनन्तगर्भमा निदाउँछु,
मेरा सपनाहरूमा
मेरी ठिटी आमा
सृष्टिको अव्युत्पन्न प्राप्ति ठानेर
मलाई सुम्सुम्याउनुहुन्छ

संसारको लागि म जाबो
अर्धसत्य र अमूक प्राणी
तर आमाको लागि म
अन्तिम सत्य हूँ

त्यसैले
म समयातित र झूठो सपना
देख्न चाहन्न

ती भयानक सपनाहरूमा
मेरी आमाको महाप्रस्थान
अनि
एउटा होनहार समयको अवसान हुनेछ

म ती
निर्मोही समयफूलहरूको
बाटो हिंड़दिन

म हिंड्छु प्राय:
मेरै सपनाहरूको धुले बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *