Skip to content


आकाश नै साक्षी बस्याछन्, जून ताराले हेरिराख्याछन्
वर्षा लाग्यो उँभो हिमाल मेघ आइरहेथ्यो
काफल पाक्यो चरी गाउँदै रनबन डुल्दैथ्यो
वनै गुराँसले ढाकेथ्यो
चालै नदिई लौ घट्यो है
मैनापोखरी घटना घट्यो

पूर्व दुई नम्बर, दोलखाली गाउँ
मैनापोखरी खरी खानी छेउ
एकसठ्ठी साल वैसाख सत्ताइस
बिहानी साइत चाल निको थेन
पूर्वै उजेली भयो, लौ गाडी गुड्यो
बरै यो कलीको खेल, सुरु भैहाल्यो
हे दैव

सर्वेन्द्र काफ्ले, अंग्रेजी शिक्षक
भर्खरको घरजम, सुत्केरी जहान
काफ्लेनी बजै, सुत्केरी आलै
दस जोडा दुई, परिक्षा देर
सासू र लोग्ने, साथमा छोरी
जिरीको सडक, गाउँ फिर्दैथे
कठै बीसै दिनकी छोरी, आँखै नखुलेको
कठै आँखै नखुलेको
हे दैव

खचाखच यात्रु, नागबेली बाटो, शर्मको लाली
चुसाई दूध, सुत्केरी नजर, लोलाई हेर्दा
कम्मरमा तोसक, सैनिक जवान, काँधमा राइफल, एक हुल देख्दा
सशङ्कित हुँदै लोग्नेलाई च्याप्दा
यस्सो झ्यालबाट हेर्छिन् त
ढालेका रुख, जलेका गाडी, मध्यान्ह छकाल, घुम्तीमा पर्दा
गुडेको बस, एक्कासि रोक्दा
सर्वसाधारण बाहिर निस्कने छिटो, बाहिर सुरक्षा जाँच हुँदैछ
लाईन लाएर बस्ने
गाउँले बराले खै! बुझे कि बुझेनन्
कालो र नीलो सैनिक जवानले
माउवादी भन्ने लखमा काटी
तीन फाएर के गरेथे
कोलाहल मच्यो
बम पड्क्यो
गोली बर्स्यो
लडाइँ पर्यो
लौ के भयो भयो?

लड्ने लडे, भाग्ने भागे, आमा र जहान, छोरी च्याप्दै
झ्याल तोडेर, निस्कँदै के थे
हामीलाई छाडी नजाऊ भन्ने, सैनिकको आवाजले
सोवेन्द्र के झस्केथे?

सिसैका गोली छातीमा धस्यो, काखको छोरी भैंमा झर्यो
काफ्लेनी बजै मूर्छा परिन्, आमाको सामु छोरो ढल्यो
बीसै दिनकी छोरी टुहुरी भइन्
कठै टुहुरी भइन्

चुरा फुट्यो, हिमाल लुक्यो, देउरालीमा चरी रोयो
रगतको आहाल जम्यो, शीरको टोपी, भूईंमा झर्दा
गुराँसमा, छिटो पर्यो, आँसु भेलले, कोसी बढ्यो

गोलीको खोका, ठाउँ ठाउँमा प्वाल, पेटमा भ्वाँङ, लत्रेको घाँटी
गुहार दिने, कोही छैनन् साथी, बुहारी कठै छोराको लास
रगतको आहाल, आमा खोज्दै, रोइराको नातिनी, कठै बरा
टुहुरीलाई काखमा लिई
मूर्छा परिन् बजै कृष्णमाया
कठै सोवेन्द्रकी आमै
कुन कानूनले सैनिकलाई हाम्रो बसमा चढ्नु भन्थ्यो?
कुन नियतिले माओवादीलाई गोली हान्न दियो?
धिक्कार छ, धिक्कार छ तिमीलाई, धिक्कार छ मलाई
धिक्कार छ सबलाई, धिक्कार छ युगलाई
धिक्कार धिक्कार
रगत रातै मुलुक एउटै
आफूबिछच लड्नेलाई
खै बुझिनसक्नु छ

जनताकै लागि लड्छु भन्नेले
देशकै लागि मर्छु भन्नेले
यो कस्तो लडाइँ लडेको?
यो कस्तो लडाइँ लडेको?

शब्द, संगीत – नेपथ्य
स्वर – अमृत गुरुङ (नेपथ्य)

1 thought on “घटना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *