मान्छे उडाउने
हुरीको याम छ अहिले
भुमरीमा
मान्छेसित मान्छेत्व उडिरहेछ
माटो उडिरहेछ –
र माटोसित
माटोको सुगन्ध उडिरहेछ
हुरीमा मडारिंदा मडारिंदै
कल्कीका फूलहरूबाट कविता
खसिरहेछ
कविता नै सही..
खसेपछि त्यो बिल्कुल
अकविता भएको छ
कविताको स्पर्श टुटेपछि
फूलहरू पनि फूल जस्ता छैनन्
झरीसितै
कविताको छाता फर्काइरहेछ
चैते हुरीले
फर्केपछि त्यो
छाता पनि
छाता जस्तो देखिंदैन
त्यो मेरो करङको
एक्स रे जस्तै
भोको देखिन्छ
ओए समय !
यो हुरीको
अवसान कहिले हुन्छ ?
कविताको काफल
कहिले पाक्छ हँ ?
