यो शिर्षक मा खण्डकाव्य बनाउने विचार गरेको छु शुरुवाती हरफहरु यस्ता छन्… सल्लाह सुझाब को अपेक्षा सहित…
बस्छु दुर प्रवासमा म त अचेल्, छाडेर मातृभूमी
घुम्दै छिन् यी धरा सधैं बरु यतै, नेपाल आए हूनी
देख्छु जन्मथलो सधैं सपनीमा, कैल्यै अघाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।१।।
सागर तर्फ सधैं बगेर रहने, जस्तै नदी जिन्दगी
मृत्युका मुख तर्फ तेहि रितले, बढ्दै गरेको गती
बोकेको जति जे छ भारि शिरमा, ऐले बिसाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।२।।
हावा चल्दछ सर्सरी अति मिठो, बाँड्दै सदा सँगीत
चौतारी वट वृक्ष मुग्ध गरदै, आनन्दले मोहित
द्यौरालीहरुमा बसेर म मिठो, गित् गुन्गुनाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।३।।
थर्कन्थे पहराहरु प्रतिध्वनी, ति झ्याउरे लै बरी
रोदिघर्हरुले चसक्क मुटु नै, खै बिर्सनु के गरी ?
टोलो भाछु अरे अचेल म अलिक्, कामै समाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।४।।
पर्दैन अब खोज्नु गाउँघरमा, उडेर आउ यतै
सोधौंला जब मिल्छ भेट नभमा, एकान्त बस्दै कतै
पाएँ सुन्न मिठो खबर् पनि यदि, प्रिति म लाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।५।।
इन्द्रावति नखोज है ‘मणी’ त्यहाँ, भेटिन्छ सागर महाँ
होस्टेको खहरे कराइ नरहे जानु, छ तिम्रो जहाँ
माटो जे जति हुन्छ उब्जनी दिनु, बालि म लाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।६।।
सल्ला साल सुसेली हालि नरहे, म आउने छैन हे
जे जस्तो मनमा छ छाप सबले, याद् गर्नु पर्दैन हे
यौटै ठाउँ छ भेटघाट गरने, मेलो म पाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।७।।