मेरो गाउँ पखेरीमा कवि तिमी बाँचिरहन्छौ तथा
आफ्नो नाउँ बचाई किर्ति बहुतै राखि गयौ सर्वदा
जन्मिई दुर वस्ति गाउँ बीचमा बोकेर भाषा स्वयं
देखायौ जगलाई संस्कृति सबै नेपाल हो सुन्दरम्
छोरा पण्डितका भएर पनि ति दुखिहरुका कथा
प्यारा बन्न गयौ र आफु बनियौ घाँसी गुरुका तथा
नेपाली सब मातृभाषिहरुको सच्चा गुरु पो बन्यौ
भाषा उन्नतीको प्रदर्शक भयौ सत्मार्ग बाटो खन्यौ
आस्थाका तिमी हौ सबै सकलका साहित्यका साधक
गाउँ ठाउँ समाजका विकृतिका बन्दै रह्यौ बाधक
शिक्षा प्राप्त गरेर मात्र जगको कल्याण हुन्थ्यो भने
घाँसिलाई गुरु बनाई धनको धिक्कार् किन गर्दर्थे
गाउँका अगुवा विचारी र अरु डिठ्ठाहरु जो थिए
पर्दा काम अगाडि निष्क्रिय भई भोली पछि भन्दिए
यस्ता ठालुहरु सचेत गरनु त्यो ज्ञान उन्मा थियो
यस्तै सेवक भावना र कडिले खम्बा दरो उभ्भियो
वाल्मीकी कृत ग्रन्थ राम महिमा गाउँ सबै गुञ्जिए
नेपाली जनले अमिट मनमा तस्विर राख्दा भए
छोरी लाई अनि बुहारीहरुमा के ज्ञान बाँडौं भनि
लेख्दै मार्ग सवाई काव्य रसमा सम्झाउँदैथे उनि
खाँचो आज पनि छ सोहि जनको जो साधना गर्दछ
जोगाईकन संस्कृति अनि कला साहित्यले भर्दछ
सम्झन्छौं सब हामि आदिकविमा सम्मान गर्दै सदा
तारा हुन् युगसम्म चम्किरहने आकाशमा सर्वदा ।।
First published : 2014-05-31 17:51:50 +0900

कविताको माधुरी भने केही
कविताको माधुरी भने केही कमजोर छ तर छन्दमा लेख्ने उत्तम कोशिश रहेछ ।
धेरै धन्यवाद होम सर
धेरै धन्यवाद होम सर प्रतिक्रियाको लागि…. छन्दमा कविता लेख्ने प्राथमिक विद्यार्थी हुँ म ….. कमजोरीहरु इंगित गरिदिनुभए अझ बेश हुन्थ्यो….
कवितात्मकताले भरिएको कविता
कवितात्मकताले भरिएको कविता लेखेर पोस्ट गर्नुहोस् न त । अनि म तपाइँलाई सुझाव दिनेछु । यो त कथा र तथ्य तथ्याङ्क मात्र भयो । तथ्यहरु प्रशंसा र पूजाका कुरा ता कविताको चाेखो पनमा कमै हुन्छन् । विचार गर्नुहोस् । मलाई स्नेहवश आदर गर्नुभो । म धन्य भएँ ।