“धेरै धेरै पहिला दक्षिणको एउटा पुरानो बजार – एउटा इनार सहितको सानो कम्पाउण्ड – उक्त कम्पाउण्डमा यस्तै आठ या नौ सामान्य परिवार बस्ने गर्दथे। पुरानो शैलीको उस्तै उस्तै घरहरू, धेरै वर्षदेखि घरको बाहिरी बनावट पनि उस्तै उस्तै, सिवाय भर्खरै घरमा भित्रिएका नयाँ उपकरणहरू बाहेक सबै उस्तै उस्तै।
ती आठ या नौ परिवार मध्ये दुइजना एक्ला एक्लै बस्थेः एक अधबैँशे कुमार झेङ रूओकुइ र अधबैँशे अबिबाहिता प्यान जियर।
झेङ प्यानको घरसँगै जोडिएको घरमा बस्ने गर्थ्यो।
“शुभप्रभात,” उ सँधै अभिबादन गर्थ्यो।
“जाँदै हुनुहुन्छ?” उनी सँधै प्रत्युत्तर दिन्थिन, र आफ्नै गतिमा एकछिन नअडीकन हिँडने गर्थिन।
छिमेकिहरूले कति पटक उनिहरूको जम्काभेट देखे, तर यहि अभिवादनका केही शब्दबाहेक कसैले केही बोलेको सुनेनन्। रसहीन यी शब्दहरूको साटासाटले उनीहरू निराश थिए।
प्यान चालीस कटेकी, सलक्क मिलेको जिउडाल भएकी, बाटुलो अनुहार, गोरो वर्ण, साधारण कपडामा सुहाँउदिलो किसिमले लगाउने गर्दथी। उनी अझै पनि आकर्षक भन्न लायक थिईन। उनी पश्चिमी मार्गमा फूल पसलेकोमा काम गर्दथी। छिमेकीहरू अचम्म मान्दथे कि यस्ती आकर्षक रूपकी हुँदाहुँदै पनि उ एक्लै किन बसेकी होला। उनीहरूलाई थाहा थियो उनी कसैलाई प्रेम गर्दथीन तर उनीहरूको विवाह भएको थिएन।
झेङ उक्त कम्पाउण्डमा पाँच वर्ष अगाडि प्यान आएर बस्न थालेपछि तुरून्तै आएको थियो। ऊ एक सिनेमण्डलीमा चित्रकारको रूपमा काम गर्ने गर्दथ्यो, भनिन्थ्यो ऊ एउटा प्रतिभाशाली भन्दा पनि लगनशील र इमान्दार चित्रकार थियो। ऊ यस्तै पैतालिस, छयालिस वर्षको भए पनि आफ्नो उमेर भन्दा बुढो देखिन्थ्यो। उसको सुख्खा, जिङ्ग्रिङ्ग परेको कपालले सायदै काँइयो देखेको थियो। ऊ अलिकति कुप्रो पनि थियो र उसको ढाड उठेको प्रष्ट देखिन्थ्यो। पातलो अनुहार, पातलै र साँघुरो काँध, साना हात पाखुरा। उसका ठूला-ठूला एकजोडी आँखाहरूमा मात्र उसको चमक र सपनाहरूको प्रतिबिम्ब देख्न सकिन्थ्यो।
सँधै ऊ घर फर्कँदा ताजा फूलहरूको एक गुच्छा – गुलाब, जङ्गली स्याउ, किमोनान्थस र त्यस्तै अरू फूलहरू। हरेक मौसममा ऊ ती फूलहरू ल्याउथ्यो र एउटा निलो अर्धपारदर्शी भाँडोमा राख्ने गर्थ्यो।
ऊ छिमेकीहरूसँग भेटघाट पनि त्यति गर्न रूचाउँथेन। घर आउनासाथ ऊ घर भित्रै हुन्थ्यो। कहिलेकाहिँ ऊ कपडा, भाँडा र त्यही अर्धपारदर्शी फूलदानी सफा गर्न बाहिर आउँथ्यो। अनि सफा पानीले फूलदानी भरेर सावधानीपुर्वक भित्र लैजान्थ्यो।
उसको बेडरूम र प्यानको बेडरूमको बीचमा एक बलियो पर्खाल थियो। उसको बेडसँगै एउटा पुरानो बाँसको पुस्तकदानी करीब करीब एक औसत मानिसको उचाई बराबर अग्लो पर्खालसँगै सटाएर राखिएको थियो। र त्यहि पुस्तकदानीको माथि त्यो फूलदानीको स्थायी स्थान थियो।
यी सब बाहेक कोठामा केही पेन्टिङ गरिएका चित्रहरू यताउता टाँगिएका थिए, केही चिनियाँ, केही विदेशी, केही अरूले गरेका पेन्टिङ र केही ऊ आफैँले गरेका चित्रहरू।
कोठामा राखिएका फर्निचर र धुलोको पत्र हेरेर सजिलै यो लख काट्न सकिन्थ्यो कि यो घरमा एउटी आईमाईको खाँचो खट्किएको थियो, घरको न्यानोपनको आभास, मात्र उनीबाट पाउन सकिन्थ्यो।
तथापि त्यो फूलदानी सँधै दागरहित र सफा हुन्थ्यो। भित्रको पानि सँधै स्वच्छ र सफा, अनि ती फूलहरू सँधै फक्रिएका, ताजा र सुन्दर।
छिमेकीहरूले यो आशा पालेका थिए कि एकदिन उसले ल्याएका ताजा फूलहरू उसको छिमेकी प्यान जियरको घरमा सजिनेछ, तर यो चमत्कार कहिल्यै भएन। छिमेकीहरूको मनमा बिस्तारै झेङ प्रति सहानुभुति जाग्न थाल्यो।
एकदिन एका बिहानै सिमसिम पानी पर्न थाल्यो।
झेङले सँधै झैँ छाता बोकेर प्यानलाई अभिवादन गऱ्यो – “शुभप्रभात।”
प्यानले पनि सँधै झैँ छाता बोकेर भनि – “जाँदै हुनुहुन्छ?”
त्यो साँझ पानी रोकियो उनी कामबाट फर्केर आइन्, तर ऊ फर्केन।
सुन्नमा आयो कि झेङ आफ्नो चित्रशालामा चित्र बनाउँदा बनाउँदै हृदयघातले ढल्यो। अस्पताल लैजाँदा बाटैमा उसको मृत्यु भयो।
त्यो सामान्य कम्पाउण्डमा कोही रोएको आवाज सुनियो।
प्यान रोइन, तर उनका आँखा राता थिए।
फूलका गुच्छाहरू, मालाहरू ल्याइए। ती मध्ये सबैभन्दा ठूलो, र धेरै ताजा फूलहरू भएको तर समवेदना पत्र नभएको माला उनले उसको सम्झनामा ल्याएकी थिइन।
त्यो सामान्य कम्पाउण्डमा एउटा सामान्य मानिस, जो प्रेमको अनुभवबाट ठगीएको बुढो कुमारको अचानक अनुपस्थिति, सबैले भित्रबाट महसुस गरे दुःख प्रकट गरे।
केही दिन पछि प्यान पनि त्यहाँबाट हिँडी, त्यस्तै अचानक र अनपेक्षित।
छिमेकीहरू झेङको सामानहरू समेटदै गर्दा अचम्ममा परे – त्यो निलो फूलदानी यस्तो देखिन्थ्यो कि कसैले त्यसलाई भर्खरै सफा गरेको होस; त्यसमा राखिएको सेतो सुनाखरी जातको फुल अझै ताजा थियो।
सबैका आँखा आश्चर्य चकित भएर खुले जब उनीहरूलो त्यो पुस्तकदानी हटाए।
एउटा ढोका, राम्ररी सजावटसहित बनाइएको रातो ढोका र पित्तलको ह्याण्डल!
उनीहरूको मुटु हल्लियो – “ए, उसोभए, यस्तो पो चक्कर थियो यी दुइको विचमा!”
सबै छिमेकीहरू विष्मयको भाव सहित मुर्मुराए। केही समय अगाडिको त्यो बुढो कुमारप्रतिको सहानुभुति र सम्मान अकस्मात हरायो र त्यसको स्थान अवर्णनीय र अनुच्चार्य रीस र उपेक्षाले लियो।
त्यसपछि कसैले त्यो ढोका खोल्नको लागि हात बढायो तर पित्तलको त्यो ह्याण्डल त भित्ताजस्तै सम्म थियो, उनीहरूले नियाले त्यो ढोका, त्यसको फ्रेम सबै भित्ताजस्तै सम्म थिए।
त्यो भित्तामा ढोकाको एउटा चित्र थियो जुन वास्तविक ढोका जस्तै देखिन्थ्यो।
चिनियाँ लेखक शाओ बाओजियनको लघुकथा Door Forever को अङ्ग्रेजी मूलबाट अनूदित
अनुवादकर्ताः एकदेव अधिकारी
२०७१ जेष्ठ २० गते मंगलबार
