कोहि भन्छन् जग धरतीमा देवता बस्दछन् रे
कोहि भन्छन् सगर बीचमा आफु लुक्दै ति छन् रे
कोहि भन्छन् जिवहरुमहाँ अल्झदै गर्दछन् ती
कोहि भन्छन् पृथिवीतलमा बल्झदै झर्दछन् ती
ढुङ्गा माटो प्रकृति सब नै देवता भन्छ कोहि
सारा आत्माधरी जिवहरु देवता मान्छ कोहि
देख्छन् कोहि गरीबजनमा देवताको निवास
लेख्छन् कोहि सकल जीवको आत्ममा हुन्छ बास
हिन्दु भन्छन् सबतिर सधैं ईश मिल्छन् हमेशा
देख्ने गर्नु मनबीच पसि आफुभित्रै सुरेश
आस्था राखे पथ पथ शिला देवता तुल्य हुन्छ
आत्मा भित्रै कण कण बनी संशय दुर हुन्छ
मेरा आफ्ना प्रभुजन कति गर्दछन् प्यार हेर
छातिभित्रै बसिकन अहो सम्झंदै बेर बेर
माया गर्दै सबकन सधैं सृष्टिका सन्ततीको
बस्ने टाढा घर कुन कहाँ एउटै चर्च उस्को
नाउँ बेग्लै दिइकन यहाँ देव अल्लाह् भनिन्छन्
भक्ति उस्तै गरिकन दिनै भक्त मस्जिद् भरिन्छन्
चाहे जाउँ मन मन लिई चैत्य गुम्बा जहाँ नै
मिल्छन् उस्तै दुखिजनहरु ति स्वयं देवता झैं
नाउँ अर्कै अजीव जीवको धर्ममा भिन्नता के
यौटै शक्ति यदि छ रचने कर्ममा भिन्नता के
यौटै हुन्छ भुतल भरीमा सत्यता धर्म भन्ने
मात्रै यौटा भ्रम बुझ सखे दृष्टिमा भिन्न ठान्ने

अँ इ्दमणिजी तपाइँका कवितामा
अँ इ्दमणिजी तपाइँका कवितामा होम सरको नजर परेको छ । किन तपाइँका कवितामा मेरो नजर पर्दैन जस्तो लाग्छ कि कसो हाे । धन्दा मान्नु पर्दैन । म कविता ता छानी छानी पढ्छु । खाेजी खाेजी पढ्छु । यसबाट मलाइ पनि कविता लेख्ने इच्छा जागेर अाउँछ ।
अँ तपाइँको छन्दमा कविता लेख्न रुचाउनुहुँदाे रहेछ । अझ मन्दाक्रान्ता वा श्रग्धरा छन्द ता अति नै स्वादिला हु्ने गर्छन् । अब तपाइँको कमी र कमजाेरीका बारेमा भने म केही नभन्ने पक्षमा छु ।
नाउँ बेग्लै दिइकन यहाँ देव अल्लाह् भनिन्छन्
यो मिलेन
हमेशा शब्द किन पार्नुभो हिन्दी भएन र ।
मस्जिद् काे खुट्टा काटेर भानुभक्त भइएन र ।
ह्रस्व र दीर्घकाे कुरा ता के गरिरहुँ म पनि उपाय नै नदेखी ह्रस्वलाई दीर्घ र दीर्घलाइ ह्रस्व वार्दछु । अहिले धेरै कुरा भए । बिदा ।मेरो कविता पढ्नु भो त ।
धन्यवाद सर..
धन्यवाद सर मिठो प्रतिक्रियाको लागि… शब्द सबै राख्दै जाँदा मस्जिद को खुट्टा काटिएको हो सर… अर्को शब्द खोज्ने प्रयास नगर्नाले बिग्रिएको हो कि.. एक पटक जे आयो त्यहि पोस्ट गर्ने बानीले बिगार्यो… अनि ह्रस्व र दीर्घकाे त ख्यालै पो गरिन मैले.. त्यति ज्ञान पनि छैन यसमा मलाई….
अनि हजुरको कविता त किन पढ्दैनथें.. मिठो लाग्यो. प्रतिक्रिया नदिएको मात्र हो…
धन्यवाद ।
धन्यवाद ।