सानो छँदा
म
समयको कविता
लेख्दैनथें ।
समय मेरै
कविता लेख्दथ्यो ।
म
घामका झुल्काहरूमा–
सुरेली खेलेर
आकाश उक्लन्थें ।
छ्याङ्ङ खुलेको
हिमाल हेरेर
रमाइरहन्थें ।
म खेतहरूमा
नाङ्गै भुतुङ्गै
दौडिरहन्थें
अनि
रुम्टी खोलाको
रहमा पौडिरहन्थें ।
म बग्थें रहरका–
खोल्सीहरूमा
अनि
म चिप्लन्थें–
रहरकै सल्लेरीहरूमा ।
पोखिन्थें म जताततै
मैले हिँडेर बनेका
बाटाहरूमा ।
म
मेरो निर्वाण यात्राका
अनुक्रमहरूमा
अगणित अपदार्थहरूले बुनेर
ईश्वर बनाउँथें
अनि
म पुरै रित्तिएर
पूर्णताहरूको खोजी गर्थें ।
म
मेरो प्रेमको प्रार्थना
दमिनी साइँलीको अनुहारमा
पढिरहन्थें ।
समय
जिन्दगी जस्तै निर्मोही
भीरहरूमा फुलिरहन्थ्यो ।
हराएका सन्तानहरूको
सम्झनामा
स्तनबाट दूधको धारा
बगाइरहन्थे–आमाहरू ।
हरेक साँझ
मरेको मानिस
घर फर्के भैंm
म घर फर्कन्थें –
स्कूलबाट
र
साँझबत्ती बालेर
साँवा अक्षर
छुट्याइरहन्थें ।
भोकले मेरो आँतको देउता रिसाउँथ्यो
र
म भातसित
विद्रूप सौन्दर्यहरूले लत्पतिएको
समय निल्दथें ।
म मेरी आमाको
मजेत्रो ओढेर निदाउँथें ।
सपनाहरूको एैठनमय
प्रश्नहरूवीच
नजाने
म कुन
अरसायनिक प्रतिक्रियामा
अस्विकृतीको–
टाउको हल्लाउँथें
र
बाहुलाले सिंगान पुछेर
अलिकति
समय पुछ्दथें ।
अचेल म त्यै
समयातीत समयको
पानीचित्र सम्झिरहेछु ।
समयको विषुवत रेखामा
म असमाप्त रहरहरू पिएर
उभिइरहेछु ।
