यात्रा आरम्भ गरौँ ढिलो नगरौँ
यतिबेला शुभसाइत छ
पारि गाउँमा भाले बास्न थाल्यो
बिहानीपखको पारिलो घामको न्यानोले
हाम्रो जीउ तातिएको छ
शीतल हावाले
हाम्रो तनमनमा स्फूर्ति जगाएको छ,
साथी हो-
बेलैमा यात्रा थालौँ ।
वनपाखामा कोइली चरीले वसन्तको
गीत गाउन थालेको छ
अब विलम्व नगरौं
यात्रा
शुभारम्भ गरौँ ।
कसैको हाउगुजीबाट नतर्सौं
स्यालको हुइँयामा नलागौँ ।
वनको बाटो हिँड्नु छ-विलम्व नगरौं ।
हेर्नुस् त
उता पर… वनमा तरलता र हाँगाहरूले
हाम्रो स्वागत गरिरहेछ
पातहरूले हात हल्लाउँदै
हाम्रो यात्राको अभिवादन गरिरहेछ
झार, झाडी, झ्यास र पात पतिङ्गर पन्छाउँदै अघि बढौं
सिस्नोघारी छ पोल्न सक्छ
काँडाघारी छ, घोच्न सक्छ
पन्छाउँदै गोरेटो पहिल्याउँ
नदीनाला, खोला, खोल्साखोल्सी नाघ्दै
उकालो चढ्दै
ओरालो झर्दै राजमार्ग लाग्नुछ
लक्ष्यमा पुग्नुछ
मुलुकको भाग्यरेखा कोर्न
जनताको चाहना पूरा गर्न
बल्ल बल्ल जुटेका छौं
अब नफुटौं
एकसाथ एकताबद्ध भई अघि बढौँ
मित्रहरू हो,
अब यात्रा आरम्भ गरौं
घाम छँदै बेलैमा घामको उज्यालोमा
यात्रा आरम्भ गरौं
अबेर नगरौं अलमल नगरौं
शुभसाइत छ,
यात्रा आरम्भ गरौं विलम्व नगरौं ।
-धरान
