सगरमाथाको चुचुरोबाट
देश नियालेर हेर्दा
बग्रेल्ती जुलुशहरु
जिन्दावाद अनि मुर्दावाद
गगन भेदी स्वरहरुमा
देशै बोकेको हेर्न पाइयो
धृतराष्ट्रको महत्वाकांक्षाले
दुर्योधान बोकेर
दुशासन टेकेर
निशस्त्र अभिमन्यु घोपेको देखियो
त्यो पवित्र धर्तीमा
रगतको आहाल देखियो
घण्टाकर्णको बुख्याचा सिंगारेर
भत्किएका बाटाहरुमा
चटकेले मुटु झिकेर ढुंग्रामा हालेको
अचुक अचुक झेल देखियो
मेलम्ची पसिना चुहिएर
खाल्डा खुल्डी परेको त्यो सतहमा
पान्ग्राहरुले रछ्यान पेटीमा छर्किएर
त्यो सहरमा मुख आँखा छोपेको देखियो
टेक्ने गोडाहरुको घुइंचो बढेर
साङ्गुरिएको त्यो मूल सडक
सानु गल्ली झैँ त्यो देखियो
सुन बेच्नेले पोको पारेर
नून मिसाएर बेचेको
तराजुको बिटमा
कना तौलमा तौलिएर
इमान बेचेको पनि देखियो
रगत नपुछी सहर पस्ने
त्यो नर भक्षि तरबार सहित
ठुला ठुला मंचहरुमा
सुनपानी छर्केर सुद्ध बनाएको पनि भेटियो
जे जे देखियो त्यहि त्यहि लेखियो
हे भानु तिम्रो त्यो अलकापुरिमा
त्यो कान्तिपूरीमा नजर लगाई हेर्दा
नगरवधुहरुको बिशाल जुलुश हेरियो
मधुरस का मधुशालामा
सर्वाङ्ग नाच
नोटका बिटाहरुमा इमान साटेर
तक्मा भिरेको पनि देखियो
चित्र विचित्र के के देखियो देखियो
साधुहरु शुलिमा अनि चोर चौतारीमा
त्यो पापी पुराण सुनेर
हे भानु !
तिम्रो त्यो अलकापुरिम|
अन्न्यायका भकारिहरु
सुनका डल्लामा साटेर
नेताहरु किलो को भाउमा टाउका सहित
थानका थान बगरेले बेच्न राखेको पाइयो
यहाँ यस्तै छ के भानु त्यो स्वर्गमा
ए भानु !
यहा पैसा भए
इमान साट्न पाइन्छ
ज्यान साट्न पाइन्छ
पैसा नभए रोगी अस्पताल मै रेटीन्छ
गरिवको घाउमा नून चुक छर्केर
नेताको खोकिमा संसार देखिन्छ
यहा त यस्तै छ भानु
तिम्रो त्यो स्वर्गमा के के देखिन्छ
अठार पुराण सकेर
उन्नाइसौं पुराणको अन्तिम अध्याय
सरसर्ती वाचन भैरहेको देखियो
त्यो विशाल पन्नाले भरिएको
नया पुराण ग्रन्थ सबैले मन पराएको भेटियो
त्यो पाप पुराण त्यो महा पाप पुराण
आजकल घर घरमा पढेको भेटियो
छल कपट जाल झेल सबै नेता सबै जनता
सबै जनता सबै नेता
त्यो महापुराण को पन्नाहरु
नत कहिल्यै सिद्धिने हो
नत कहिल्यै बन्द हुने भो
सिधा जनता त्यो पुराणमा पिसिएको भेटियो
दरबारेहरु तरबारेहरु अनि ति चिप्लाहरु मोटाएको भेटियो
हे भानु त्यो अलकापुरी कान्तिपुरी नगरी
मदमस्त नगरी अभाव र
अन्न्यायाको ढाकर बोकेर
फोहोरको डंगुरमा कुम्भकर्ण सुतेर
बागमतीमा दुर्गन्ध पखालेर
सुकिलो जस्तै तर
भित्र भित्रै भ्याल भ्याल्ती
फर्सी पाकेर कुहिको देखियो
इति श्री उन्नाइसौं महात्म्य महा पुराण !!
========================
