नेपालीहरूका छोराछोरी उहिलेदेखि नै विदेशतिर जान मन गर्दै आएका हुन् र गएका पनि हुन् । कुनै बेला पहिलो विश्वयुद्ध र कुनै बेला दोस्रो विश्वयुद्धका लागि गए । उस बेलाको कुरा बेग्लै थियो जति मरे ती सबै सहिद हुन्थे आजभोलि भएको भए । तर उतिबेला को कता मर्यो कता पर्यो कसैलाई वास्ता नै भएन । केही जोधाहा र मुढे बलशालीहरूले खुकुरीले केही विरोधीहरूलाई गिंडेका कारण भिक्टोरिया क्रस पनि पाएका हुन् । उनीहरू आफ्ना लागि गएका थिएनन् । अर्काको लागि गएका थिए ।
यो विदेश जाने बानी उहिल्यैदेखि नेपालीमा परेको परेकै छ । अहिले ता झन् विदेश भनेपछि नेपालीहरू हुरुक्कै हुन्छन् । सौख ता मलाई पनि नचलेको होइन विदेश जाने तर किन हो किन एक मित्रको वचन अनुसार विदेश जाने मन नै भएन । अवसर ता परेकै थियो । बुहारीको थल्लिने योग पनि परेकै हो । विषेश गरी अमेरिका वा कुनै पनि मुलुकमा जानका लागि उति सजिलो छैन । नेपालीहरू कुनै कारणबाट त्यो मुलुकमा पसेर हराउने बानी भएका छन् । यसैले विदेशीहरू नेपालीलाई सजिलैसँग जान दिंदैनन् । तर केही केही काममा भने निकै सजिलो गरी जान पनि पाइन्छ । मन्त्रीलाई भाषण दन्दकाउन भन्दा पनि सजिलो उपाय एउटा छ । अरु अरु कुरामा विदेश जानुमा भन्दा सुत्केरी उतार्न जानु चाहिं सारै सजिलो गरी पाइँदो रहेछ । नेपालबाट अरु मुलुकमा जानका लागि यो काममा जति सजिलो पर्छ अरु कुनै काममा पनि हुन्न । जानका लागि भिसा सिसा केके कुरा चाहिने हो त्यो सुटुक्कै पाइन्छ । अरु महत्वपूर्ण कुनै काममा विदेश जान चाहेमा नानाभाँतीका बखडा लगाएर भिसा रोक्कासम्म पनि गरिन्छ । यो मैले भोगेर होइन देखेर पनि होइन खाली सुनेर जानेको हो । भुक्तभोगीहरू यसै भन्छन् । होला तानि भन्छु । मेरा छिमेकीकी ७५ वर्षकी आमालाई बेलायतमा जाने सबै विधि पुर्याउँदा लगभग ७५ हजार भन्दा पनि बढी खर्च भएको हो । तर बिचराको खर्चै मात्र भयो जान पाइनन् । हिस्स आमै हरिया दाँत भएकी छिन् ।
सजिलोसँग जाने पाउने योग पनि मलाई परेकै हो । तर किन हो किन मलाई यस काममा जान मनै भएन । चेतावनी पनि आएको हो । पछि हामी फर्केपछि ता यता आउन सजिलो हुँदैन । अहिल्यै चानस छ । बुबा आइहाल्नुहोस् । हो पछि के हो के हो, एक बेत पछि ता फेरि कतै चानसै हुन्न क्यारे । अनि कसरी जानु ।
हो, मैले पनि उता जानेबारेमा नसोचेको होइन, मेरी श्रीमतीले पनि करकर गरेर मलाई खुरुन्धार नै गरेकी हुन् । मेरा केही साथीभाइहरू पनि उता गएर सुत्केरी उतारेर फर्किएका उनले देखिसकेकी पनि छिन् । उनीहरूले उताको बढाइँ गरेको सुनेर उनका मनभरि फुरौला पनि नपाकेको होइनन् । तर मै भइदिएँ अडियल घोडा । अनि उनको के लागोस् ! मेरो अडियलपनले हाम्रो विदेश गमन भएन । छोराले नानी पायो । ठुलो खर्च परेको कुरा उसले मलाई बतायो । हामी गएको भए खर्च बच्ने कुरा पनि उताबाट बुहारीले सुनाई । हामी गइदिएको भए हाम्रो आतेजाते, बसाइ, खुवाइ, घुमाइ आदि सबैमा जे जति खर्च हुन्थ्यो त्यो भन्दा बढी उहाँ सुत्केरी उतार्नमा खर्च भएकोमा बुहारीले सानो गुनासो गरिनन् । जा है, चानस गएछ । अब आउन पाइन्न क्यारे बुहारी भैगो । हामी नै अभागी रहेछौं, सुत्केरी उत्रिइहाल्यौ क्यारे, भने र मैले तत्कालका लागि कुरा मथ्थर पारें ।
घरमा ता कुरा मथ्थर भो तर बाहिरफेर कुरा मथ्थर कहाँ हुनु । अस्ति ता एक जनाले मलाई सातै खान खोजे– “हैन, के भाको तपाईं ? अबका छोराछोरी एक बेत भन्दा बढी ब्याउने होइनन् क्यारे । बोलाएको बेलामा खुरुक्क जानु पथ्र्यो नि । क्या मान्छे रछौ तपाइँ पनि । सुत्केरीको हेरचाह पनि हुने । अमेरिका पनि घुमिने । कस्तो चानस परेको रछ । थुक्क…!”
म चुपै लागेर उनका कुरा सुनिरहें ।
अझै उनले थपे– “पर अस्पतालनेरका प्रधान दम्पती, अनि उतैका अधिकारीबाहरू, तल्लाघरे पोखरेल बा, उता याखा गाउँका याङ्दुवाकी आमा, खनाल बाको परिवार, शर्माजीहरूको परिवार आदि सबै गएकै छन् त । तपाईंलाई चैं केको देश र राजभक्तिको काउछो भिर्नु परेको नि…! पैसा थिएन भने तत्काललाई म हालिदिन्थें पछि ता छोराले उताबाट भरपाइ गरिहाल्थ्यो । कस्ता राम्रा राम्रा मोबाइल पाइन्थ्यो । उताको ता चकलेट पनि अमृत हो । तपाईंले ठुलो चानस उम्कायौ । कस्तो चानस गुम्यो, मलाई यस्तो परेको भए ता थाप्लो ठटाएर जाने थिएँ ।”
उनका कुरा सुनेर मलाई पनि अलिकति ता चित्त दुख्यो । ए, साँच्चै पो गलत काम पो गरेंछु कि त भन्ने पनि पर्यो । तर फेरि मेरो उही तर्क अघि सारें र चित्त बुझाएँ । छोराबुहारीले आमाबाबुलाई त्यत्रो माया नै गरेका हुन् भने सुत्केरी नै हुने बेलामा किन बोलाउनू ? आज उता गएको १० वर्ष पछि मात्र किन सम्झना आयो ? मयााकै लागि उनीहरूले चाहेको भए अघिपछि पनि ता बोलाउँदा हुन् । के हामी उनीहरूका बाबु आमा होइनौ कि कसो ? परिवारमा समस्याहरू खनिँदा, मर्दापर्दा वा घटना दुर्घटना आदि पर्दा समस्याको समाधान परिवारभित्रबाट गरिनुपर्छ । यो मैले नकार्न मिल्ने कुरै भएन । अघि पछि वास्तै नगरेर जब सुत्केरी उतार्ने ठुलो खर्च बचत गर्नका लागि छोराले वा बुहारीले लोभलालच देखाएर बोलाउँछन् भने त्यसमा मलाई चित्त बुझेन । अहिले पनि बुझेको छैन । सम्भवतः भोलि पनि बुझ्ने छैन । यसै कारण मित्रहरु यसै कारण म विदेश गइनँ । सुत्केरी उतार्नकै लागि फेरि पनि मलाई बाेलाइयो भने फेरि पनि विदेश जान्न ।

लेखनशैलीमा प्रतिकृया दिन
लेखनशैलीमा प्रतिकृया दिन पर्नेजस्तो त केही छैन । तर वहाँहरूलेले अहिले तपाईंको भावना बुझ्नुभएको छ कि छैन; त्यो मुख्य कुरा हो । आत्मसम्मानलाई तिलान्जली नदिने मनलाई सम्मान छ 🙂